‘जान्नेसुन्नेहरुका कुरा’

Law Hub Nepal असाेज ३०, २०७७

डा. कृष्णकुमार तामाङ ।

सन्दर्भ मानव समाजको जीवनशैली सम्बद्ध राजनीतिक लगायत सामाजिक एवम् न्यायिक विश्व परिवेशको हो । हिजोआज प्रचलनमा रहेको फेशन सर्वत्र व्यापक रहेको सबैले देखे बुझेकै कुरो हो ।

जनश्रुति र किम्बदन्तिका कथा हालेर भन्दा पनि उत्तर आधुनिक (पोष्ट मोडर्न) बन्ने सुरमा पश्चिमाहरुले जसरी हामीले बुझेर गरे ठिकै अन्यथा अनर्थ लाग्ने कुराको समझ हुनु जरुरी हुन्छ ।

एक निश्चित उमेर पछी प्राणीमा विपरीत लिंगप्रति आकर्षण पैदा हुनु प्राकृतिक हो । पश्चिमी जगत विज्ञान र प्रविधिमा अगुवा भएसंगै तिनका कतिपय सामाजिक पद्धतिहरु समेत अग्रगामी छन् । यस्तै विविध कडीमध्ये किशोरहरुले कानमा टप (मुन्द्रि/रिङ) लाउनु पश्चिमी जगतको सचेत नागरिकताको द्योतक हो ।

पुरुषले आफुमा अन्तर्निहित महिलाको जैविक यौन गुण भएको र पुरुष प्रति आकर्षित हुने (रिसेप्टर) देखाउनका लागि चिनोको प्रयोग स्वरुप बाँया कानमा टप लाउँछन् । अर्काथरी दाहिने कानमा टप लाउने पुरुषहरुको आकर्षण महिलामा नभएर पुरुषप्रति (इफेक्टर) हुने गर्दछ ।

तेश्रोथरीले दुवै कानमा टप लाएर दुवै किसिमको प्रतिनिधित्व गर्दछ । यस्ता अस्वाभाविक जन्मजात गुण हुनुलाई सभ्य समाज लाज मान्दैन बरु निसंकोच स्विकार्छ । नेपालमा टपको फेशन फगत देखावटी वा वास्तविक प्रदर्शन के हो उत्सुकता बनेको छ ।

मैनबत्ती फुकेर निभाउदैं जन्मदिन मनाउने पूर्वीय संस्कृतिमा गरिन्न । अर्का तरिकाले गरिंदा दियो/मैनबत्ती बालेर उत्तरोत्तर प्रगति र सकारात्मक उज्यालो तर्फ जीवनको मार्गदर्शन निम्ति गरिएको मानिन्छ, तर व्यवहारमा पहिलो तरिकाको अभ्यास अधिक रहेकोले एसियाली मनोवृत्ति कस्तो रहेको दर्शाउँछ ।

वर्तमान परिप्रेक्ष्यमा चीन र इण्डियाबीच युद्ध हुन सक्ने सम्भावना प्रबल हुदैं गर्दा इण्डिया सन् १९६२ जस्तो छैन, आजसम्म ३८ वर्षको अवधिमा धेरै प्रगति गरेको दाबी इण्डियन संजालहरुमा पाइनुले अरु सब जड भएको अर्थयाउन खोजेको लाग्दछ ।

संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको प्रतिनिधिका हैषियतमा प्रधानमन्त्रीले मन्त्रिपरिषदको नेतृत्व गर्छन् । त्यसैले इण्डियन राष्ट्रपतिले सम्बोधनका क्रममा मेरो सरकार भन्न गलत हुन्न । त्यसैको सिको गरेर अरु राष्ट्रपति जसको संविधानमा उक्त प्रावधान छैन उसले पनि मेरो सरकार सम्बोधन गरे विगतमा नेपालमा भए जस्तो विवाद निर्विकल्प हुन्छ ।

सशस्त्र द्वन्द्वको रक्तपातमा १७ हजार नेपालीको ज्यान गुमाएर माओवादी दलले माओवादको सिद्धान्त सही नभएको ठहर गरी त्यस अफाप सिद्ध आदर्शलाई विसर्जन गर्नु भन्दा त्यसभित्र प्रविष्ट विसंगति हटाउन जरुरी देखेन । विडम्बना हेरौं त्यही वादको धरातलमा चीन समृद्धिको शिखर पुग्दैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमण विरुद्ध मास्क प्रयोग र लकडाउन गर्न आवश्यक ठानेनन् । आफै संक्रमित हुनु अघिसम्म प्रतिस्पर्धि चीनको तिरस्कार गर्नेले सर्वसाधारण जनता अन्यौलमा पार्दै अन्ततोगत्वा मास्क लाउन विवश भए । यस अघि लाखौं अमेरिकी जनता उनकै पछी लाएर स्वच्छन्द भएकै कारण संक्रमित हुँदैं परलोक गए ।

मृत्युदण्डको  न्यायिक व्यवस्था रहेका देशहरुमा बलात्कारको संख्या शुन्य भएको पाइदैंन । यसले बलात्कारका घटना न्यून गर्दछ तथापि अपेक्षाकृत नभएको पुष्टि हुन्छ । गहन विश्लेषणात्मक गवेषणाको तथ्याङ्कले निर्क्यौल गरे अनुसार बलात्कारका घटना दर्ता हुनै कठिन हुन्छ ।

अधिकांश बलात्कारी आफन्त नाता भित्रका हुनाले मृत्युदण्डको विधान कठोर मानी मुद्दा दर्ता हुदैंन । बलात्कृत पीडितले उजुरी गरे मृत्यदण्ड पाइने भयका कारण बलात्कारीले बलात्कृतको हत्या गरी दिनाले बलात्कृतको संख्या तथा बलात्कारी सार्वजनिक हुनै पाउदैनन् ।

मुद्दा चलेका कुल बलात्कार घटनाका शयकडा २५ मात्र अदालतमा प्रमाणित हुन सक्दछन् । त्यसमा पनि जिल्ला अदालतबाट भएका फैसला विरुद्ध उच्च अदालत, सर्वोच्च अदालत र राष्ट्रपति समक्ष पुनरावेदन र पुनरावलोकनका लागि मार्ग खुला रहनाले सजाय घटाएर/माफी पाउने सम्भावना उत्तिकै प्रशस्त रहन्छ ।

जिल्लाका जनप्रतिनिधिहरु आफ्ना पहिचान, क्षेत्र, सम्प्रदाय तथा जातियताका आधारमा जिल्लाका प्रहरी प्रमुखको सरुवाका लागि लालायित हुने गर्दछन् । आफ्ना निर्वाचन क्षेत्रमा दलगत तथा व्यक्तिगत प्रभाव, पकड र भोट बैंक स्थिति मजबुत बनाउन राजनीतिक चलखेल गर्न राम्रा काबिल अधिकृत भन्दा हाम्रा व्यक्ति लैजाने अभ्यासले प्रहरीको पेशागत व्यवसायिकतामा सम्झौता हुन जान्छ ।

प्रहरी संगठनको अपराध अनुसन्धान तालीम नगरेका अधिकृत जिल्ला दरबन्दी नगर्ने मापदण्ड फाजिल बन्दछन् । अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा गम्भीर हुन नसक्नुको प्रत्यक्ष उदाहरण कैलाली जिल्लामा घटित उर्मिला(नाम परिवर्तित) काण्ड जगजाहेर छ । त्यसैको अर्को दुःखद पाटो  पीडितको नाम, फोटो र परिचय सार्वजनिक गरिनाले अभिभावकलाई हुने थप पीडा रोक्ने तर्फ कानुन कार्यान्वयन र संचार जगतको पर्याप्त ध्यान पुगेको छैन ।

नेपालको संविधान(२०७२) प्रदत्त पीडितको गोपनीयताको हक धारा २८ को सम्मान नगरिनाले सामाजिक उत्पिडन र मानसिक यातना खेप्नु पर्ने अर्को पीडादायी नियति रहेको पाइन्छ । अतः अपराधको सजायमा कडाइ भन्दा कार्यान्वयन पक्षमा कडाइको अनिवार्यता रहेको मननयोग्य वास्तविकता छर्लङ्ग रहेको छ ।

राज्यले वर्षेनी विशेष योगदान गरे बापत प्रदान गर्ने विभूषण पदकको विषय प्रसंग आलोचित रही आएको तथ्य आफ्ना नातागोता तथा आसेपासेका पेवा हुने गरेकै कारण केही निस्वार्थी आत्मनिष्ठ कर्मयोगीहरुमध्ये मह कलाकार जोडी, कनकमणि दीक्षित, नीलकण्ठ उप्रेती र युवराज घिमिरेले अस्विकृत गरी दिएका दृष्टान्तहरु उल्लेख्य छन् ।

मानवीय सम्वेदनाहीन विवेकरहीत तवरबाट वितरित गलामा शोभायमान हुने वस्तुको गरिमा धुमिल पार्दै यथोचित हकदारको मान मर्दनले राजकिय मर्यादायुक्त गर्विलो अनुभूति गर्नुको साटो अलंकृतहरु लघुताभाषको शिकार भएका बिचरा देखिन्छन् । स्वेच्छाचारी प्रणालीमा आधारित राज्यको कदर गर्ने तरिका त्रुटिपूर्ण रहेको बोध सरकारलाई गणतन्त्रात्मक लोकतन्त्रमा नभए जनता के गरुन् ?

(डा.तामाङ विविध लेख, रचना र विश्लेषणात्मक कृतिहरु लेखनमा रुचि राख्नु हुन्छ । विशेषगरी व्यवस्थापन, प्राकृतिक प्रकोप, मानवीय कानुन, अपराध शास्त्र र सुशासन तथा सुरक्षाका विषयहरुमा कलम चलाउदै स्वतन्त्र देशान्तर विश्वविद्यालयहरुमा आमन्त्रित प्राध्यापन गर्नु हुन्छ ।

उहाँले विद्यावारिधि (जन प्रशासन), एमफिल (प्रहरी प्रशासन), स्नातकोत्तर (प्रकोप न्युनिकरण), स्नातकोत्तर (अपराध शास्त्र) र पोष्ट ग्राजुएशन(अन्तर्राष्ट्रिय मानवीय कानुन) डिग्रीहरु गर्नु भएको छ । प्रहरी र सशस्त्र प्रहरीमा रही विशिष्ट श्रेणीबाट अवकाश प्राप्त, संयुक्त राष्ट्र संघको मोजाम्विक, कोसोभो, र हाइटीको शान्ति मिसनहरुको अनुभव संगालेका तथा अमेरिका, युरोप, अफ्रिकामा अनेकन् व्यवसायिक एवम् द्वन्द्व व्यवस्थापन लगायतका प्रशिक्षण, गोष्ठीहरु आदिमा सहभागिता/संचालनको अनुभव संगाल्नुभएको छ ।)

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार