संवैधानिक इजलासद्वारा रिट खारेज, प्रेरणाको दाइजो नेपाल ट्रस्टकै कायम

Law Hub Nepal माघ २४, २०७६

काठमाडौं । संवैधानिक इजलासले रिट खारेज गरिदिएपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहकाे दाइजो नेपाल ट्रस्टकै कायम हुने भएकाे छ ।

प्रेरणाले आफ्नो दावी गरेको काठमाडौंको छाउनीस्थित १५ रोपनी १ आना क्षेत्रफलको घरजग्गा नेपाल ट्रष्टको नाममा ल्याउन सर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको रिट खारेज गरेसँगै छाउनीस्थित स्वर्गीय राजा वीरेन्द्रको नामको सो घरजग्गा ट्रष्टमा ल्याउन बाटो खुलेको हो ।

इजलासले शुक्रबार आज प्रेरणाको दावी नपुग्ने भन्दै सरकारका नाममा कारण देखाउ आदेश समेत जारी नगरी छाउनीको जग्गामा उनको दावी खारेज गरेको हो ।

प्रेरणाले अन्तरिम संविधान २०६३ आउनुअघि २०५८ सालमै आफूले सो सम्पत्ति दाइजोमा पाएको भन्दै संविधानसँग ऐन बाझिएको दावी सहित रिट दायर गरेकी थिइन् ।

नेपाल ट्रष्टको कार्यालयले गत मंसिर २६ गते सार्वजनिक सूचना जारी गरेर प्रेरणालाई सो घरजग्गा छाड्न भनेको थियो । त्यसका विरुद्ध उनी सर्वोच्च पुगेकी थिइन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, अनिल सिन्हा र प्रकाशमानसिंह राउत रहेका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार