फागुन १४ मा स्ववियु चुनाव हुने सम्भावना टर्दै

Law Hub Nepal माघ २३, २०७६

काठमाडौँ । आगामी फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको सम्भावना टर्दै गएको छ ।

विद्यार्थी संघ संगठनबीच सहमति जुट्न नसक्दा तोकिएको मितिमा निर्वाचन हुने सम्भावना सकिँदै गएको हो ।

नेपाली कांग्रेस र उसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले निर्वाचनलाई विश्वविद्यालयको पदाधिकारी नियुक्तिसँग जोडेका छन् ।

त्रिविमा रेक्टर र अन्य विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिपछि मात्रै स्ववियु निर्वाचनको प्रक्रिया अघि बढाउन कांग्रेसले माग गरेको छ ।
कांग्रेस निकट प्राध्यापक संघ र नेविसंघले त्रिविमा रेक्टर आफ्नो कोटाको व्यक्ति हुनुपर्ने अडान लिएका छन्  ।

नेविसंघले रेक्टर नियुक्तिपछि मात्रै निर्वाचन समिति गठन गरेर निर्वाचनको कार्यतालिकालगायत तयारीको काम अघि बढाउन भनेको छ ।

कांग्रेस नेताहरूले सत्तारूढ नेकपा र प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीसँग रेक्टरमा आफू निकटको व्यक्ति नियुक्ति गर्न दबाब दिँदै आएका छन् ।

नेविसंघले समय नदिँदा सहमति गरेर कार्यतालिका सार्वजनिक गर्न नसकेको त्रिविले बताउने गरेको छ  ।

माघ १५ गतेअघि नै निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सकेको भए फागुन १४ गते निर्वाचन हुन सक्थ्यो तर अब त्यो सम्भावना नरहेको त्रिविले बताउने गरेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार