फरार सिद्धबाबालाई थुनामा पठाउने अदालतको आदेश

Law Hub Nepal माघ १०, २०७६

माघ १०, काठमाडौं । अनुयायीमाथि बलात्कार गरेको मुद्दा खेपिरहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले बिहीबार उनलाई थुनामा पठाउने आदेश गरेको हो ।

यसअघि जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको थियो । उच्च अदालतले उक्त आदेश बदर गर्दै उनलाई पूर्पक्षका लागि थुनामा पठाउन भनेको थियो ।

तर उच्च अदालतको आदेश आउनु केही घन्टाअघि नै गिरी भने भारत पसिसकेका थिए ।

मुद्दाको सुनुवाइ बिहीबार दिउँसो १ बजे उनी ग १ च ८१५७ नम्बरको पजेरो चढेर जोगबनीबाट पारि गएका हुन् ।

बडिगार्ड प्रहरी हवल्दार मुकेश साहलाई ‘केही काम छ तपाईं यहीँ बस्दै गर्नुहोला’ भनेर नेपालपट्टि ओर्लाएर कृष्णदास भारत गएको मोरङ प्रहरीले जनाएको छ । केही दिनयता उनी उपचारका लागि भन्दै भारत जाने/आउने गरिरहेका थिए ।

केही समर्थक र अनुयायीसाथ उनी आफ्नो आश्रमबाट बिहीबार बिहान उच्च अदालत जाने भन्दै हिँडेका थिए । अदालत नगई उनी सोझै जोगबनी पुगेको प्रहरी स्रोतले जनाएको छ ।

आफूले खटाएका हवल्दारलाई फर्काएर भारत गएका गिरीलाई अहिले प्रहरीले फरार सूचीमा राखेको छ ।

स्रोतका अनुसार मुद्दा आफ्नो पक्षमा भए नेपाल फर्किने नभए भारततिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने योजनाअनुसार उनी भारत गएका हुन् ।

कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।

जिल्ला अदालत सुनसरीले उनलाई पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार