नोकझोंकमै आस्थालाई वारेन्ट काट्ने प्रहरी

Law Hub Nepal माघ ९, २०७६

शोभा शर्मा । प्रहरीले गायिका आस्था राउतविरूद्ध अभद्र व्यवहारको उजुरी दिएर सिडिओबाट ‘वारेन्ट’ (पक्राउ पुर्जी) लिएको घटना अहिले विवादित छ।

गएको बुधबार गायिका राउत कुनै कार्यक्रमका लागि सिक्किम जान त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर जाँदै थिइन्। उनी अहिले सिक्किममै छिन्।

पूर्वनिर्धारित कार्यक्रमका लागि त्यहाँ पुगेको सूचना बेवास्ता गर्दै प्रहरीले उनलाई ठूलै अपराध गरेर भागेका अपराधीजस्तो फरार सूचीमा राखेको छ। उनी भागेकी हैनन्। न त विमानस्थलमा भएको घटना उनीविरुद्ध वारेन्ट काट्नुपर्ने गरी गम्भीर प्रकृतिको थियो।

विमानस्थलमा भएको के थियो?

तपाईंहरूमध्ये धेरैले प्रहरीले सार्वजनिक गरेको विमानस्थलको त्यो घटनाको भिडिओ हेरिसक्नुभयो होला।

हातमा कफी बोकेर सुरक्षा जाँच गर्ने ठाउँमा पुगेकी आस्था महिला प्रहरीले ज्याकेट खोल्न लगाउँदा बाहिरैबाट चेक गर्न भन्छिन्। प्रहरीले उनको कफी समातेर छेउमा राखिदिन्छिन्। उनी फन्किँदै ज्याकेट खोलेर एक्सरे मेसिनमा हाल्छिन्। अनि उस्तै ‘तेवर’मा ज्याकेट मेसिनबाट झिक्छिन्।

त्यही बेला महिला प्रहरीले उनको पाखुरा समात्छिन्। ‘कफी लिएर जानू’ भन्छिन्। आस्था कफी लिन मान्दिनन्। नोकझोंकमा टेबुलमा थोरै कफी पोखिन्छ। उनीहरू कफीको कप एकअर्कालाई सारिदिन्छन्।

राउतले कफीको कप लान नमानेपछि प्रहरीले झोकमा कफी झोलामै खन्याइदिन खोज्छिन्। त्यसपछि आस्थाले चोर औंला देखाउँदै प्रहरीलाई केही भन्छिन् र जान्छिन्।

प्रहरीले सार्वजनिक गरेको भिडिओमा आवाज छैन। त्यसैले त्यहाँ प्रहरीले के भनिन्, राउतले के भनिन् यकिन छैन।

भिडिओ सार्वजनिक भएपछि गायिका राउतले त्यहाँ के भएको हो भनेर आफ्नो भनाइ सार्वजनिक गरेकी छन्। प्रहरीले आफूलाई तँ भनेर सम्बोधन गरेको र ‘ज्याकेट खोलेर आइज’ भनेको उनको दाबी छ।

भिडिओ हेर्दा प्रहरीले आस्थालाई पाखुरा समातेर तानेको देखिन्छ।

‘तेरो कफी लैजान्छस् कि ब्यागमा खन्याइदिउँ’ भनेर प्रहरीले भनेको आस्थाले दाबी गरेकी छन्। भिडिओमा पनि प्रहरी जवानले ब्यागमा कफी खन्याउन खोजेको प्रस्टै देखिन्छ।

उक्त घटनालगत्तै भद्रपुर एयरपोर्टमा ओर्लिएपछि गाडीमा बसेर आस्थाले एउटा भिडिओ बनाएकी छन्। त्यहाँ उनी प्रहरीलाई ‘डन्ठे’ भनेर गाली गर्छिन्। आफूलाई ‘तँ’ भनेकोमा आपत्ति जनाउँछिन्। तल्लो तहका प्रहरी ‘असभ्य’ भएको कुरा आफू पनि असभ्य भाषामै बताउँछिन्।

जब उनले त्यो भिडिओ सार्वजनिक गरिन्, उनको आलोचना त्यही बेलादेखि हुन थालेको थियो। प्रहरीलाई त्यसरी जथाभाबी गाली गरेको भन्दै धेरैले उनको आलोचना गरेका थिए।

आस्थाको उक्त भिडिओको जवाफमा प्रहरीले विमानस्थलको भिडिओ सार्वजनिक गर्‍यो।

त्यो भिडिओ हेर्दा आस्था र सुरक्षा जाँच गर्ने प्रहरी दुवैको गल्ती देखिन्छ।

सबै मानिस एउटै स्वभावका हुन्नन्। कोही शान्त हुन्छन्, कोहीले रवाफ देखाउँछन्। कोही छिटो झोंक्किन्छन्, कोही मुसुक्क हाँस्दै ‘अति’ पनि सहन्छन्।

झोंक्किएर मानिसले सामान्य गल्ती गरेको हुनसक्छ, तर त्यो दण्डनीय अपराध होइन। हुन सक्दैन।

प्रहरी भने झोंक्किन पनि हुन्न। ऊ आमनागरिकको करमा पालिएको राष्ट्र र नागरिकको सेवक हो। त्यसमाथि ऊ तालिमप्राप्त कर्मचारी हो। उसले रिसाएर आमनागरिकलाई गाली गर्न वा ‘तँ’ भनेर सम्बोधन गर्न पाउँदैन।

त्यो गल्ती विमानस्थलमा खटिएकी महिला प्रहरीले गरेकी छन्। त्योभन्दा ठूलो गल्ती प्रहरीले आस्थासँग प्रतिशोध साँध्न उनीविरुद्ध वारेन्ट जारी गरेर गरेको छ।

घटनाको पर्सिपल्ट त्रिभुवन विमानस्थलकी ती प्रहरीलाई आस्थाविरुद्ध अभद्र व्यवहार भएको भन्दै जाहेरी दरखास्त दिन लगाएर प्रहरी प्रशासनले आस्थाविरुद्ध वारेन्ट जारी गरेको छ।

यहाँनिरबाट प्रहरीको ‘अति’ सुरू हुन्छ।

विमानस्थलको सामान्य नोकझोंकलाई लिएर नागरिकविरूद्ध प्रहरी संगठन मुद्दामा ओर्लिनुको सन्देेश के हो?

प्रहरी वा प्रहरी संगठनविरुद्ध औंला उठायौ भने हामी त्यसको बदला लिन्छौं भन्ने सन्देश प्रहरीले आमनागरिकलाई दिन खोजेको देखिन्छ।

सुरक्षा जाँच गर्दा आस्था संयमित हुनुपर्थ्यो। त्यसमाथि विमानस्थलको जाँच अझै संवेदनशील हुन्छ। तर, आस्थाले भनेजस्तै ज्याकेट खोल्ने नियम त्रिभुवन विमानस्थलमा छ? उनले ‘मलाई हतार छ, यत्तिकै जाँच गरिदिनुस् न’ भनेपछि प्रहरीको दायित्व उनलाई ज्याकेट खोल्नैपर्छ भनेर राम्ररी सम्झाउने हो वा ज्याकेट खोलेर आइज भन्दै ‘तँ’ भनेर सम्बोधन गर्ने हो?

विमानस्थलमा ती प्रहरीले तँ भनेपछि आस्थाले उनलाई चोर औंला देखाउनु अस्वाभाविक हैन। नगारिकलाई प्रहरीले तँ भन्छ, हेप्छ भने नागरिकलाई चोर औंला ठड्याउने छुट हुन्छ।

आस्थाको व्यवहार राम्रो भएन भन्दैमा सुरक्षा जाँचका लागि उभिएकी ती प्रहरीले आफ्नो जिम्मेवारी बिर्सिन मिल्दैन। प्रहरीको जिम्मेवारी नागरिकमाथि शासन गर्ने होइन, नागरिकको सुरक्षा गर्ने हो। उनीहरूमाथि हैकम चलाउने हैन, सबैभन्दा पहिले सम्झाउने, बुझाउने हो।

जंगिदै आस्थालाई ‘तँ’ भन्नु प्रहरीले बाचा गरेको ‘मुस्कानसहितको सेवा’ को नमूना हो?

विमानस्थलमा एक जना प्रहरीले आस्थासँग दुर्व्यवहार गरेकी थिइन्। उनको विवेक नपुगेको हुन सक्छ। तर, अहिले त सिंगो प्रहरीले विवेक गुमाएको छ। उसले आस्थालाई १ वर्ष कैद हुन सक्ने अभद्र व्यवहारसम्बन्धी उजुरीमा पक्राउ आदेश लिएर बसेको छ।

प्रहरी मात्र हैन, प्रशासन पनि चुकेको छ। काठमाडौंका सिडिओ जनकराज दाहालले आस्थालाई पक्राउ गर्ने आदेश दिएका छन्।

प्रहरीले आफूलाई रिस उठेको व्यक्ति यसैगरी पक्राउ गर्न सक्छ, सिडिओले यसैगरी विवेक प्रयोग नगरी आदेश दिन्छन् भने आमनागरिक कसरी मेरो अधिकारको हनन् हुन्न भन्नेमा आश्वस्त हुन सक्छन्?

नागरिकको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हक हनन् हुन्छ भनेरै पक्राउ गर्न अदालत वा सिडिओको अनुमति चाहिने व्यवस्था हामीले कानुनमा लेखेका हौं। पक्राउ गर्न आदेश दिनुअघि न्यायाधीश वा सिडिओले पक्राउ गर्नैपर्ने अवस्था छ कि छैन भनेर जाहेरी राम्रोसँग हेर्नुपर्छ। आफ्नो विवेक प्रयोग गर्नुपर्छ।

यति सामान्य भनाभनको विषयमा नागरिकलाई पक्राउ गर्ने आदेश दिन कि त कानुनको मर्म थाहा नहुनुपर्यो, नत्र हाम्रो हातमा डन्डा छ, चाहेकोलाई लगाउन सक्छौं भन्ने सोचले निर्देशित हुनुपर्यो।

त्यसमाथि यो घटनामा आस्थाले प्रहरीलाई गाली गरेकोमा सार्वजनिक माफी मागिसकेकी छन्। उनको माफीसँगै यो घटना यहीँ टुंगिनुपर्थ्यो।

प्रहरीको अहिलेको मुख्य चुनौती कसरी आममानिसको विश्वास जित्ने भन्ने हो। गल्ती नगरी प्रहरीले निसानामा पार्दैैन, अपराध गर्नेलाई छाड्दैन भन्ने विस्वास स्थापित गराउने हो।

हामी सानैमा हुँदा, कसैलाई झिँजो लगायौँ भने ठूलाबढा भन्ने गर्थे- पुलिसलाई भन्दिन्छु। अनि हामी चुप लाग्थ्यौँ। पञ्चायतमा सत्ताविरूद्ध बोल्नसमेत हुन्नथ्यो, बोले जसलाई जतिसुकै बेला प्रहरी समात्न आउँथ्यो। त्यो कुरा अभिभावकले बच्चालाई प्रहरीको डर देखाएर त्यसरी सिकाउँथे।

आज प्रहरीप्रतिको विश्वास धिमा गतिले बढ्दैछ। कतिपय अभिभावक सानैदेखि बच्चाबच्चीलाई सिकाउन थालेका छन्— तिमीलाई कसैले केही गर्यो भने प्रहरीकहाँ जानू, असुरक्षित भयौ भने प्रहरीकहाँ जानू।

प्रहरी भने आफ्नो पञ्चायतकालीन छवि कायम राख्नमै तल्लीन देखिन्छ। उसको सबैभन्दा ठूलो चासो नै आमनागरिकको मन जित्ने हैन, उनीहरूको मनमा डर जगाउनेमा छ।

आस्थाविरुद्धको वारेन्ट त्यसैको दसी प्रमाण हो।

स्रोतः सेतोपाटी

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार