एसिड दुरुपयोग रोक्न दुई अध्यादेशको मस्यौदा तयार, एसिड छ्याप्‍नेलाई २० वर्ष कैदको व्यवस्था !

Law Hub Nepal भाद्र २९, २०७७

सरकारले तेजाब (एसिड) दुरुपयोगबाट हुने अपराध र यसको जथाभावी खरिदबिक्री नियन्त्रण गर्न कठोर व्यवस्था राखेर दुई छुट्टाछुट्टै अध्यादेशको मस्यौदा तयार पारेको छ ।

कानुन मन्त्रालयले गृहबाट समेत रायसुझाव लिएर मस्यौदालाई अन्तिम रूप दिन नेपाल कानुन आयोगमा पठाएको छ । हाल संसद् अधिवेशन नचलेकाले अध्यादेशमार्फत कानुन संशोधन गर्न खोजिएको हो ।

दुईमध्ये एउटा अध्यादेश एसिड आक्रमण, कैद जरिवाना र क्षतिपूर्तिसम्बन्धी छ भने अर्को अध्यादेश एसिड खरिदबिक्री, आयात, भण्डारण र प्रयोगबारे हो । स्रोतका अनुसार एसिड आक्रमणबाट कसैको ज्यान गए अहिले भएकै अधिकतम सजाय जन्मकैदलाई यथावत् राख्ने र अंगभंग/शरीर कुरूपलगायत गराए २० वर्षसम्म कैद हुने गरी मस्यौदा बनाइएको छ ।

यो अपराधमा संलग्नलाई सजाय छुट दिन नमिल्ने प्रावधान पनि मस्यौदामा छ । लागूऔषध, बलात्कार, मानव बेचबिखन, भ्रष्टाचारलगायत एक दर्जन कसुरलाई अहिले पनि ‘सजाय मिनाहा गर्न नमिल्ने’ सूचीमा राखिएको छ । मस्यौदा प्रारम्भिक चरणमै भएकाले विस्तृत रूपमा भन्न नसकिने कानुन मन्त्रालयका एक अधिकारीले बताए ।

हालको कानुनी व्यवस्थाअनुसार एसिड आक्रमणबाट अंगभंग भए अपराधीलाई अधिकतम ८ वर्ष सजाय हुन्छ । तर आक्रमणबाट पीडित बनेकाले जिन्दगीभर पीडामा रहनुपर्ने बाध्यता छ । त्यसैले सजाय व्यवस्थालाई थप कडाइ गर्न अध्यादेशमार्फत कानुन संशोधन गर्न लागिएको हो ।

कानुन आयोगले आइतबार मात्रै एसिड आक्रमणबाट पीडित बनेका व्यक्तिको हकअधिकार र सहयोगमा क्रियाशील अभियन्ता उज्ज्वलविक्रम थापासँग रायसुझाव लिएको छ । थापाले एसिड आक्रमणमा संलग्न अपराधीलाई जिन्दगीभर अनुभूति हुने किसिमको दण्ड/सजाय हुनुपर्ने भएकाले त्यहीअनुसार अध्यादेशको मस्यौदा तयार पार्न आफूले सुझाव दिएको बताए ।

‘अपराधी केही वर्ष जेल बसेर छुट्ने तर पीडितले जिन्दगीभर चोटको पीडा सहेर बस्नुपर्ने बाध्यता छ, यसलाई मलमपट्टी लगाउन पीडकलाई कडा सजायको भागीदार बनाइनुपर्छ । पीडितलाई उपचार/ उचित राहत व्यवस्था पनि गर्नुपर्छ,’ उनले भने । एसिड खरिदबिक्रीका कडा प्रावधान बनाउन पनि आफूले सुझाव दिएको बताए ।

एसिड बिक्री तथा यसको प्रयोग कसले गर्ने भन्नेमा मापदण्ड नहुँदा दुरुपयोग हुने गरेको छ । उद्योग/कारखानादेखि सुनचाँदी पसललगायतमा यसको खपत हुन्छ । सजिलै खरिद गर्न पाइन्छ । प्रहरीका अनुसार एसिड आक्रमणका अधिकांश घटनामा रिसइबी, प्रतिशोध, प्रेम सम्बन्धमा खटपट, घरकलह, अंशबन्डा विवाद, आवेगलगायतसँग जोडिएको पाइन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार सरोकारवाला, अभियन्ता र आक्रमणबाट पीडितलाई बोलाएर एसिड दुरुपयोगप्रति आफू गम्भीर बनेको भन्दै यसको दुरुपयोग र खरिदबिक्रीलगायतमा कडा नियमन गर्न कडा कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले एसिड आक्रमणबाट पीडित बनेकाको उपचार तथा हेरचाह तथा शिक्षादीक्षाको जिम्मा सरकारले नै लिने आश्वासन पनि दिएका थिए ।

त्यसअघि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई भेटेर तेजाब आक्रमण र यसबाट सिर्जित अपराध अनुसन्धान तथा नियन्त्रणसम्बन्धी कठोर कानुन बनाउन आवश्यक रहेको भन्दै लिखित सुझाव पेस गरेका थिए । प्रहरीले तयार पारेको विस्तृत विवरण गृहसचिव न्यौपानेले प्रधानमन्त्रीलाई पनि पेस गरेका थिए ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार