सरकारले एसिड आक्रमणविरुद्ध कडा दण्डको व्यवस्था गरिएको अध्यादेश ल्याउँदै 

Law Hub Nepal भाद्र १८, २०७७

काठमाडौँ । एसिड आक्रमणबाट पीडित भएकाहरुको अधिकार सुनिश्चित गर्न र आक्रमणकारीहरुलाई कडा दण्डको व्यवस्था गर्न सरकारले अध्यादेश जारी गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका पीडितहरुलाई यही भदौ २५ गते बालुवाटारमा भेला गराउने र त्यही भेलामा अध्यादेशमा समावेश गरिएका महत्वपूर्ण प्रावधानबारे औपचारिकरुपमा जानकारी दिने तयारी गरेका छन्।

एसिड आक्रमणबाट पीडित भएकाहरुको पक्षमा निरन्तर लड्दै आएका सामाजिक एवं मानवअधिकार अभियान्ता उज्जलबिक्रम थापाको अभियानको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीसँगको दुई दिन अघि भएको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश जारी गर्नेबारे संकेत दिएको थापाले देशसञ्चारसँग बताए।

एसिड बिक्रीबितरणमा कडाई गर्ने, त्यसको उल्लंघन भएमा बिक्री गर्ने र खरीद गर्ने दुबैलाई सजाय दिने, पहिचान पत्रको स्पष्ट व्यवस्था गर्ने लगायतका प्रावधान अध्यादेशमा राख्ने तयारी भएको छ।

महान्यायाधिवक्ता अग्नि खरेलको नेतृत्वमा अध्यादेश तयार भइरहेको बुझिएको छ। हाल संसदको अधिवेशन नभएको हुँदा सरकारले एसिड सम्बन्धी अध्यादेश जारी गर्न लागेको हो।

थापाको समूहले काठमाडौँका दुई प्रमुख अस्पताल त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा पूर्ण सुविधासहितको एसिड आक्रमणबाट पीडित भएकाहरुको उपचार कक्ष विकसित गर्न पनि प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका छन्। पछिल्ला केही वर्षहरुमा आक्रमणका घटना बढ्दै गएका छन्।

यस्ता आक्रमणमा सबैभन्दा बढी महिला पीडित भएका छन्। केही महिना अघि एक पुरुष पनि एसिड आक्रमणको सिकार बन्न पुगेका छन्। अभियान्ताले एसिड आक्रमणबाट घाइते भएकाहरुको आँखा, कान, नाक र घाँटी तथा हातखुट्टा जस्ता अंगहरुको उपचार निःशुल्क गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

र, त्यसप्रति सकारात्मक धारणा प्रधानमन्त्री ओलीबाट आएको बुझिएको छ। सरकारी स्रोतका अनुसार एसिड निश्चित रंगको बोतलमा मात्रै बिक्री वितरण गर्न पाइने र आधिकारिक निकाय या व्यक्तिबाट खरीद गर्न पाइने व्यवस्था अध्यादेशमा गरिएको छ।

प्रधानमन्त्री ओलीले केही दिन अघि मात्रै एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई बालुवाटारमै बोलाएर उनीसँग छलफल गरेका थिए। त्यतिबेला उनले एसिड आक्रमणमा संलग्न हुने जो कोहीलाई पनि कडा कानुनी कारवाहीको दायरामा ल्याउने तयारी सरकारले गरेको जानकारी समेत गराएका थिए।

खासगरी पछिल्लो समय परिवर्तन भएको जीवनशैली, विकसित हुँदै गएको खुल्ला समाज र मानिसको आफ्नो स्वतन्त्रता रक्षाका लागि कुनै पनि प्रस्ताव अस्वीकार गर्दा एसिड आक्रमणका घटना बढ्ने गरेको मानवशास्त्रीहरुको विश्लेषण छ। प्रेम प्रस्ताव अस्वीकार गर्दा र विवाह गर्न नमान्दा प्राय महिलामाथि एसिड आक्रमण गर्नेहरु बढेका छन्। देशसञ्चारले समाचार लेखेको छ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार