राष्ट्रिय झन्डा जलाएको गीत सार्वजनिक गर्ने गायक सहित ६ जना पक्राउ

Law Hub Nepal भाद्र ३, २०७७

काठमाडौं । राष्ट्रिय झन्डा जलाएको गीतसहितको भिडियो सार्वजनिक प्रकरणमा संलग्‍न गायक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्‍युरो सीआईबीको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।

राष्ट्रिय झन्‍डा जलाएको गीतसहितको भिडियो मंगोल ग्याल्ज ली एन्ड एटीएमको शब्द तथा स्वर रहेको र्‍याप मंगोल होप अफिसियल नामक च्यानलमार्फत सार्वजनिक गरिएको थियो । गायकसँगै ६ जना पनि पक्राउ परेका छन् ।

बाहुन-क्षेत्री समुदायलाई गाली गरिएको र्‍यापको भिडियोमा राष्ट्रिय झन्‍डा जलाइएको छ । गीतमा आपत्तिजनक शब्दहरु प्रयोग गरिएको छन् । चार मिनेट २७ सेकेन्ड लामो भिडियोमा प्रधानमन्त्रीसहित नेताहरुको तस्बिर जलाइएको छ ।

विष्णु आधारभूत विद्यालय मकवानपुरमा खिचिएको भिडियो जातीय सद्‍भावविरुद्धका टेलिभिजन भाषणबाट सुरु गरिएको छ । बालबालिकादेखि युवासमेत भिडियोमा प्रयोग भएका छन् ।

र्‍यापको शीर्षक ‘देशद्रोही’ राखिएको छ । गीत युट्युबमा सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताले कारबाहीका लागि प्रहरीको ध्यानाकर्षण गराएका थिए ।

भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, माधवकुमार नेपाल, पूर्वराजा ज्ञानेन्द्र शाह लगायतको तस्बिर पनि जलाइएको छ। उक्त कार्य मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (४) विरुद्धको कसुर देखिएको छ। त्यसमा लेखिएको छ,

  ‘…जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायीक र यस्तै अरु कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै काम कारबाही गर्न वा गराउन वा त्यस्तो गर्ने उद्योग गर्न वा दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने षडयन्त्र गर्न वा विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुसम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन।’

यस्तो कार्य गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ।

त्यस्तै दोस्रो, भिडियोमा नेपालको झण्डा अर्को अपराध गरेको देखिन्छ। राष्ट्रिय झण्डा जलाउने कार्य ‘राष्ट्रिय तथा सार्वजनिक सम्पदा बिरुद्धका कसूर’ अन्तरगत राखेर मुलुकी अपराध संहिताले जेलसम्मको सजाय हुने व्यवस्था गरेको छ।संहितको दफा १५१ को उपदफा १ मा उल्लेख गरिएको छ,

‘नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन’ भन्ने कानुनी व्यवस्था गरेको छ।

यसरी नेपालको झण्डा जलाउनेलाई सोही ऐनले तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म सजाय हुने व्यवस्था गरेको छ।

दफा १५१ को उपदफा (२) लेखिएको छ, ‘उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार? पैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

यसरी उक्त भिडियो बनाउने र त्यसमा अभिनय गर्नेलाई दुवै कसुरमा कारबाही हुन सक्ने अवस्था छ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार