कविता : अवरोधको प्रतिक्रिया

Law Hub Nepal असार ३०, २०७८
  • सन्दिप गिरी ।

फर्कन मन लागेछ, बाल्यकालमा
नपुग्ने हुन्छ करणीले, मनस्थितिले सही ।

प्रेम हुनलागेको छ अज्ञानतासँग
घरीघरी बाँच्न मन छैन अब झुठो सम्झौतासँग ।

निष्ठाका पल्लाहरुमा उतारचढाव गर्ने ब्यापारी देख्छु सर्वत्र;
हत्याहिंसा, बलात्कार, नानाथरीका अपराध लुकाउने बहुतधारीहरु देख्छु सर्वत्र ।

जहाँ बहुमतले अल्पमतलाई
पुँजीपतिले सर्वहारालाई
ब्राह्मणले सुद्रलाई र अतिवादले मुलकलाई,

ठुलो माछाले सानो माछालाई खाएकोझैं अवस्था छ ।

घिन लाग्छ बुझ्न अब यो स्थिति
फेरि पनि बाँच्न मन लाग्दैछ त्यो स्थिति
जहाँ म जन्मिएको त थिएँ तर मेरा विचार आमाकी कोखमै हुन्थे ।

भलै मेरो अज्ञानी चेतनामाथी आमाको विचारको प्रभुत्व सत्ता हुन्थ्यो तर निस्वार्थ र भरपुर माया पाउने गर्थे उनको राज्यमा ।

मलाई प्रवासी गरिदेउ दुवाले पुग्छ भने फर्काइ देउ बाल्यकालमा

अब बस्नु छैन बुझ्ने गरि यो राज्यमा
जहाँ टाउको बेचेर टोपी र खुट्टा बेचेर धोती लगाउने चलन छ ।

जहाँ वारी कि पारी को खेल हुन्छ
नक्कली राष्ट्रवाद मौलाउँछ, जहाँ युरोप केन्द्रित राजनीतिको गर्दी घमासान मेल हुन्छ ।

बस्न मन छैन यो राज्यमा
जहाँ विचार, उमेरको कदर गर्ने नैतिकता, पद, पैसा र बहुमतद्वारा शोषित छ ।

जहाँ बेइमान जनता, ठग नेताकार्यकर्ता र भ्रष्ट कर्मचारीहरुको बिगबिगी छ।

सत्य हजारौंको भिडमा एकलिएको छ जहाँ, बस्नु छैन अब मलाई बाल्यकालमा फर्काइ देउ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार