एकीकरण नै शान्ति र समृद्धिकाे मार्ग हाे 

Law Hub Nepal असाेज २४, २०७७
  • सुरेशकुमार पोखरेल ।

शान्ति र समृद्धि एकअर्काका “परिपुरक” र “अन्तरसम्बन्धित” छन् । जहाँ “समृद्धि” हुन्छ, त्यहाँ “शान्ति” हुन्छ । समृद्धिकाे अभावमा शान्तिकाे कल्पनासम्म गर्न सकिँदैन । शान्ति नभई “विकास” पनि सम्भव छैन । नेपाल लगायत पूर्वी एशियाका राष्ट्र र यहाँका जनताहरू शान्ति र समृद्धि प्राप्तिका लागि दशकाैं देखि भाैंतारिरहेका भएतापनि त्यसकाे एकमात्र मार्ग र गन्तव्य “एकीकरण” भएकाे र त्याे नै पहिलाे र अन्तिम शर्त भएकाले उल्लेखित राष्ट्रहरू एक-अर्कामा सिमाविहिन (Border less) हुनु आजकाे आवश्यकता हाे ।

“अशान्ति”काे कारण आर्थिक अथवा “गरिबी” हाे । लगभग ९० प्रतिशत अशान्तिकाे कारक गरिबी र दरिद्रता हाे । जबसम्म गरिबी र दरिद्रता रहन्छ, तबसम्म परिवार, समाज र देशमा अशान्ति, अस्थिरता रहिरहने छ । शान्तिका लागि गरिबी र दरिद्रता हटाउनु पहिलाे र अन्तिम शर्त हाे । त्यसका लागि दक्षिण र पूर्वी एशियाका राष्ट्र र जनताहरू उत्साहका साथ एकिकरणकाे पवित्र यात्रामा हाेमिनु आजकाे अन्तिम विकल्प हाे ।

जुनकुरा “एक्लै” प्राप्त गर्न कठिन हुन्छ, त्यहि कुरा “समूह”द्वारा सजिलै प्राप्तगर्न सकिन्छ र भनेजस्ताे-चाहेजस्ताे परिवर्तन र उपलब्धि हांसिल गर्न सकिन्छ । समुहद्वारा “शक्ति” निर्माण हुन्छ र प्राप्त भएकाे त्यहि शक्तिले ठुला-ठुला उपलब्धि हांसिल गर्न सकिन्छ । “शक्ति” एकिकृत भएर प्राप्त गर्न सकिन्छ, विभाजित भएर हाेईन ! अत: पवित्र भावनाले एकिकरणकाे अभियानमा गाेलबद्व हुनु आजकाे आवश्यकता हाे ।

सामूहिक हितका लागि एक भएर उठ्न जरूरी छ । यही सामूहिक भावना दक्षिण-पूर्वी एशियाका देश र जनतामा जागृत गर्न जरूरी छ, यी मुलुकहरू एकीकरण गर्दा नै बढी भन्दा बढी लाभ “प्राप्त” हुन्छ । राष्ट्रहरू एकीकृत गर्दा सबैकुरा गुम्छ ! भन्ने मान्यता राख्नु संकिर्ण साेचकाे उपज मात्र हाेईन बाधक पनि हाे । अत: समृद्धि प्राप्त गर्न याे क्षेत्रका देश र जनताहरूलाई एकिकरणकाे पथमा अवतरणगर्नु-गराउनु आजकाे निशर्त आवश्यकता हाे ।

स्यालकाे “बथान” देख्दा बाघ तर्सिन्छ, त्यहि स्याल “एक्लाे” छ भने बाघसँग पराजित हुन्छ । त्यसकारण एक्लै भएर हाेईन,”समुह” बनाएर आर्थिक, राजनीतिक लगायतकाे शक्ति हांसिल हुने भएकाले एकीकृत हुनु आजकाे आवश्यकता हाे । यसका लागि सबैभन्दा पहिला याे क्षेत्रका जनताले आफ्नाे राष्ट्रिय “स्वार्थ” र आफुभित्र रहेकाे “संकिर्ण” साेचलाई पहिचान र त्याग गरी टुक्रा-टुक्रामा विभाजित भएर रहेका नेपाल, बंलादेश, भुटान, म्यानमार, लाओस, थाईल्याण्ड, कम्बाेडिया, भियतनाम जस्ता देशहरू एकीकृत भएर जानुपर्ने परिस्थिति विकसित भईसकेकाे छ ।

(याे लेखककाे नितान्त व्यक्तिगत विचार हाे ।)

(अधिवक्ता पाेखरेल समाजशास्त्री तथा मानवशास्त्री हुन् ।)

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार