शिक्षा क्षेत्रमा राजनीतिले पारेको प्रभाव

Law Hub Nepal माघ २४, २०७७
  • सागर गौतम ।

शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । कुनै बिषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ । एउटा जीवनको जति महत्त्व छ, त्यति नै शिक्षाको पनि महत्त्व छ ।

शिक्षा हाँसिल गर्ने क्षेत्रमा वर्तमान नेपालको राजनीतिले नकारात्मक प्रभाव पारेको देखिन्छ । अहिले हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेपले अस्तव्यस्त छ । शिक्षाको विकास र विस्तार गर्ने क्रममा कतिपय अवस्थामा राजनीति बाधक बन्न पुगेको देखिन्छ । राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधिले स्वतन्त्र रुपमा सञ्चालन हुन पाएका छैनन् ।

शिक्षण संस्थामा विभिन्न राजनीतिकर्ताको भुल्भुलैयामा लागेर विद्यार्थी पनि आफ्नो शिक्षा हाँसिल गर्नुभन्दा पनि विभिन्न रुपका आन्दोलनमा सामिल हुने प्रवृत्ति बढ्दो छ ।

उच्च शिक्षा हाँसिल गर्ने विद्यार्थी विभिन्न लोभ लालचमा आन्दोलनमा जाने, विरोध गर्ने तोडफोड कुटपिट गर्ने जस्ता कार्यमा सहभागि हुन पछि सर्दैनन् । विद्यार्थीको यो हालत छ भने विद्यालयको के होला ? विद्यालयभित्र भएको यस्तो अवस्थाले भोलि दक्ष जनशक्ति निर्माण कसरी हुनसक्छ ? यसमा सबैको ध्यान केन्द्रित हुनु पर्ने हो ।

विभिन्न राजनीतिक प्रभावले विद्यालयलाई वर्तमान समयमा विद्यालयको नामले नभई यो यस पार्टीको विद्यालय यो यस पार्टीको भनी चिनाइन्छ । विद्यालयमा पढाइ भन्दा धेरै राजनीतिक काम हुन्छन् पार्टीको छलफल बढि भइरहेको देखिन्छ, जसले गर्दा पढ्न गएका विद्यार्थीको भविष्य नै रसातलमा पुगेको छ ।

शैक्षिक संस्थालाई एक पवित्र स्थल भनिन्छ, तर राजनीतिक प्रभावको कारणले अपवित्र तुल्यादिएको छ, राजनीतिक प्रभाव प्रायः सरकारी विद्यालयमा हुने गर्दछ । कुनै विद्यालयमा एउटा कर्मचारी एउटा पार्टीको र अर्को कर्मचारी अर्को पार्टीको भए चुनावको बेला पढाइ भन्दा ती एक अर्को को खुट्टा तान्न व्यस्त हुन्छन् ।

शिक्षण संस्था तोकिएको विधि र प्रक्रियाबाट चल्न पाउनु पर्छ ।शिक्षण संस्थामा अनुशासित विद्यार्थी, लगनशील शिक्षक र सचेत अभिभावकको खाँचो पर्छ । जानी जानी शिक्षामा राजनीति गरेर शैक्षिक वातावरण खल्वल्याउने बद्नियत भएका जो कोहिलाई अनुशासनको दायरामा ल्याउने तथा सार्वजनिक बहिष्कार समेत गर्नुपर्दछ ।

शिक्षामा राजनीति कि राजनीतिमा शिक्षा भन्ने विषय सबैले बुझ्न जरुरी छ । त्यसैले शिक्षा क्षेत्रमा राजनीतिक प्रभाव हटाई स्वतन्त्र रुपमा शिक्षण संस्था सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरे देशको विकास हुन सक्दछ ।

(गौतम कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलमा कक्षा १२ मा अध्ययनरत छन् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार