सजाय बढाउने कि सचेत गराउने ?

Law Hub Nepal कार्तिक ४, २०७७
  • प्रशान्त भट्टराई ।

विद्यालयमा विद्यार्थीहरुको मुख्य काम भनेको ज्ञान आर्जन गर्ने हो र त्यस ज्ञानलाई उपयुक्त ढंगले आफ्नो दैनिक कार्यमा उतार्ने हो ।

गलत र सहि छुट्याउने र मार्गदर्शन दिने काम शिक्षकले दिने हो । यदि त्यो बिद्यार्थी हरेक चोटी असफल रहेमा उसलाई शिक्षकले सम्झाएर बुझाएर सोहि कुरालाई अर्को चोटी सफल हिसाबले पूरा गर्न मार्गदर्शन दिन्छन् । त्यस्तै समाजमा अघि बढ्न प्रोत्साहन र हौसला अग्रज र अभिभावकबाट प्राप्त हुन्छ ।

समाजलाई कुन मार्ग तर्फ लाने भन्ने मानिसको चेतना र व्यवहारमा नै निर्भर हुन्छ । समाजमा राम्रा र नराम्रा दुवै किसिमका व्यक्तित्वहरु हुन्छन्, त्यसैले समाजमा विभिन्न घटनाहरु घट्छन् । यस्ता घटनाहरु कहिले र कति बेला घट्छ भन्ने कुरामा कोही जानकार हुंदैन ।

केहि घटना सम्बन्धि पूर्व जानकारी हुँदा हुँदै पनि कुनै त्यस परिस्थिति घटनालाई रोक्नलाई हामी असमर्थ हुन्छौँ । राम्रो काम गर्नेहरु धेरै होलान्, तर केहि मानिसको नकारात्मक सोचले गर्दा समाजमा धेरै असर पर्न जान्छ ।

कोरोना महामारीको बेला मानिसहरुको दैनिक जनजीवन अस्त व्यस्त भईरहेको बेला हाम्रो समाजमा जघन्य अपराध भएको घटना सुन्नु परिरहेको हुंदा देश कहाँ कुन परिस्थितिमा पुग्ने हो भन्ने कुराले मन चिन्तित हुन्छ । दिनदिनै मानिसको सोच पशुतुल्य हुंदै गईरहेको छ । मानवले सभ्य हुन दिनदिनै बिर्सिंदै गईरहेका भान हुन्छ ।

परिवार र समाज निर्माणमा पुरुष जातिको भूमिका हुन्छ तर नारीको अस्तित्वलाई दबाउने काम समाजले दिनदिनै वृद्धि भईरहेको छ । नारीको उत्तिकै भूमिका हुन्छ । समाचार, पत्रपत्रिका, सामाजिक संजाल जताततै बलात्कार र जबर्जस्ति करणीको समाचार देख्नु र सुन्नु पर्दा यस समाजका मानिस र पशुको केहि अन्तर नदेखिएको भान हुन्छ । बरु पशुलाई मानिसले काबुमा राख्न सक्छन्, तर सामाजिक प्राणी भएर पनि एक अर्काको सम्मान गर्न नसक्ने मानिस कतै मानिस पशु तुल्यनै त छैनन् ?

सृष्टिमा मानवलाई चेतनशील प्राणी मानिएको छ । मानव जीवनको सृष्टि सबैको हेरचाह गर्न हो । जसले अरुको सम्मान गर्न जान्दैनन्, त्यो मनिसको केहि औचित्य हुंदैन । एक्काइसौं शताब्दीमा समाज परिवर्तनमा महिलाहरुको देन हेर्ने हो भने पुरुष भन्दा कम छैन, तर हाम्रो पुरुषप्रधान समाजमा महिलाले सम्मान पाउन सकेका छैनन् ।

हरेक दिन बलात्कार र जबर्जस्ति करणीको समाचारहरु आउँछन् । के हाम्रो कानुन कम्जोर भएको होला त ? सजाय बढायो भने यस्ता घटनाहरु कम होलान् र ? मृत्युदण्डको सजाय हुनुपर्छ भनेर मानिसहरुले भनिरहेका छन् । तर नेपालले मृत्युदण्डको सजाय २०४७ सालको संविधानबाट हटाइसकेको र संयुक्त राष्ट्रसंघसंगको प्रतिबद्धताको विपरित जानुपर्ने हुन्छ । मृत्युदण्ड सजाय मानव अधिकार बिरुद्ध हुन जान्छ ।

सबै मानिसले बाँच्न पाउने अधिकार पाएका छन् । मृत्युदण्डले मानिसको मानसिकता परिवर्तन गर्न सक्दैन । मानिसको मानसिकतालाई परिवर्तन गर्न त समाजको परम्परा र चलनलाई परिवर्तन गर्नु जरुरी छ ।

अपराधीलाई मृत्युदण्ड दिएर सजाय बढाउनु भन्दा सजायलाई अलि कडा बनाएर अनुसन्धानलाई गहिरो तरिकाबाट अगाडी बढाउने, न्याय प्रणाली परिवर्तन गर्ने र पीडितको बयान र पीडितको परिवारलाई अदालतसम्म पुग्न सुरक्षा दिन सके पिडितले न्याय अवश्य पाउँछन् ।

राष्ट्र प्रमुख महिला हुँदा पनि १३ बर्षकी निर्मलाले न्याय पाउन सकेकी छैनन् । १३ बर्षको कलिलो उमेरमा यस दुष्ट समाजमा एक बालिकाको हत्या हुदाँ हाम्रो कानुन प्रशासनले यसबारे केहि निर्णय लिन सकेको छैन । २ वर्ष पुरा बितिसक्दा पनि अनुसन्धान जहाँको त्यहीँ छ । अनुसन्धान टोली परिवर्तन भए, प्रशासन परिवर्तन भए, तर हामी न्यायको प्रतिक्षामा छौं ।

सजाय बढाउने वा सचेत गराउने भन्ने बिषयलाई पनि हामीले मनन गर्नुपर्छ । सजाय बढाउँदैमा घटना रोकिन्छ भन्ने हुँदैन । यस बिषयमा सचेत गराउन सक्यौं भने पनि घटनाहरु कम हुन सक्छन् ।

यौन शिक्षा एउटा महत्वपूर्ण बिषय हो, जुन हामी सबैले जान्नुपर्छ । यौन शिक्षाले हामीलाई यौन सम्बन्धि धेरै कुराहरुको ज्ञान दिन्छ, जसका कारण यस्ता अमानवीय घटनाहरु कम हुन सक्ने सम्भावना हुन्छ । केहि विद्यालयमा यस बिषयमा खुलेर पढाई हुन्छ, तर कतिपय विद्यालयमा स्वास्थ्य शिक्षालाई राम्रोसंग अध्यापन गराउन पनि असहज मानिन्छ । घरमा पनि यस्ता कुरालाई अभिभावकले आफ्ना छोराछोरीको निगरानी राख्न सके यस्ता कुराहरु चाँडै बुझ्न पाउँछन् र यस्ता घटनाहरु विस्तारै समाजबाट हराउन सक्छ ।

तर, आज सम्म पनि धेरैले न्याय पाएका छैनन् । मुलुकी अपराध संहिता ऐन, २०७४ को भाग २ (फौंजदारी कसुरहरु) परिच्छेद १८ (करणी सम्बन्धी कसूर) को २१९ (३) मा महिलाको उमेर हेरी सजाय तोकिएको छ । यसमा पिडितको उमेर भन्दा पनि अपराध गर्ने व्यक्ति अनुसार सजाय तोक्नुपर्छ जस्तो मलाई लाग्छ ।

सामूहिक बलात्कार गर्दा पीडितको उमेर हेरिँदैन । जति उमेरको भए पनि महिलालाई एक्लो बनाएर बलात्कार गरेपछि उनीहरुको मानसिक अवस्था कम्जोर हुन्छ । उमेर अनुसारको सजाय भन्दापनि सबै उमेरको महिलामाथि हुने बलात्कार र करणी जबर्जस्तिमा उत्तिकै सजाय तोकिनु पर्छ ।

सजायलाई बढाउनु भन्दा पनि अपराधीलाई कसरी सुधार्न सकिन्छ भन्ने तर्फ ध्यान दिन जरुरी छ र अपराधलाई कम गर्न कसरी समाधान निकाल्न सकिन्छ भनेर सोच्नु अहिलेको अपरिहार्य आवश्यकता भएको छ ।

हाम्रो समाजमा परिवारको इज्जत र छोरीको भविष्यमा असर पर्छ भनि यस्ता घटनाहरुको उजुरी गर्न सबै डराउँछन् र अपराधीको धम्कीले गर्दा कसैले पनि यो सम्बन्धि बोल्दैनन् । पहुँचवाला व्यक्तिले सजायबाट छुटकारा पाउन भनसुनबाट प्रमाण नै नष्ट समेत गर्ने गर्छन् ।

कति ठाउँमा भित्रभित्रै कुरा मिलाएर पैसाको लेनदेन गरेर कुरा समाप्त गर्छन् । तर के यस्तो गर्नाले हाम्रो समाजमा नारी सुरक्षित हुन्छन र ?

घरमा अभिभावकले छोरीलाई अर्काको घर जान्छन् भनेर नैतिक शिक्षाको पाठ पढाउँछन्, तर छोरालाई स्वतन्त्र छोड्दिन्छन् । यस कुरालाई पनि सोच विचार गरेर अभिभावकहरुले छोराछोरी दुबैलाई बराबरी हिसाबले घरमा राख्ने हो भने समाजमा महिला पुरुषको भेदभाव कम हुन्थ्यो होला र यस्ता घटनामा पनि सुधार आउँथ्यो होला ।

(भट्टराई काठमाडाैं स्कुल अफ ल मा बीएएलएलबी प्रथम वर्षमा अध्ययनरत छन् ।)

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार