दाइजो परम्परा कि फेशन ?

Law Hub Nepal कार्तिक २, २०७७
  • राजा हुसेन, भावना वर्णवाल ।

नेपाली समाजमा विवाहलाई पुरुष र महिलाको सम्बन्ध मात्रै नभै दुई परिवारको सम्बन्धलाई मानिन्छ, तसर्थ ती परिवारहरु “सम्बन्धी” हुन् । अहिले नेपाली समाजमा हुने गरेको विवाहको एउटा मुख्य पाटो “दाइजो” हो ।

सामान्यत: “दाइजो” भनेको छोरीलाई विवाहको बेला आमाबुवाले दिने उपहार, सुन तथा अरु बस्तुहरु हुन्, तर यस उपहार स्वरूप दिने बस्तुहरुलाई समाजले निकै घृणित तथा नकारात्मक प्रथाको रुपमा स्थापना गरेको छ ।

नेपाली समाजमा वेद, शास्त्रलाई उच्च तथा उत्तम ठाउँ दिईएको छ । शास्त्रमा चार किसिमका विवाहको बारेमा उल्लेख गरिएको छ, ती हुन् : ब्रह्मा विवाह, देव विवाह, प्रजापती विवाह र राक्षशी वा पैशाची विवाह । त्यो विवाह जुन सम्पत्ती, पैसा स्विकार गरेपछि गरिन्छ, त्यस्तो विवाहलाई दानव विवाह वा असुर विवाहको वर्गमा राखिएको छ ।

हाम्रो संस्कृति, धर्म शास्त्रमा दाईजोको बिपक्ष र निन्दा गरेको छ । त्यस्तै ईस्लाम धर्ममा दहेज लिने र दिने बारे ईस्लामको धार्मिक पुस्तक कुरआन र हदिसमा कतै पनि केहि लेखेको प्रमाण छैन ।

तर, केहि मुस्लिमले ईस्लाममा दहेज लिन सकिन्छ र त्यसको प्रमाण स्वरूप हजरत अलि रजि. र नबि मुहम्मद स. को प्रिय तथा कान्छी छोरीको बिहेमा मुहम्मद स. द्धारा प्रदान गरिएका सामग्रीलाई बर्णन गर्ने गरेको पाईन्छ । तर यसलाई प्रमाण स्वरूप पेश गर्नेहरू अधुरो कुरा मात्र राख्ने गरेको पाईन्छ । यथार्थ के हो भने जब हजरत अलि रजि. ले मुहम्मद सल्ललाहु अलैहि वसल्लम समक्ष उहाँको कान्छी छोरी हजरत फातिमाको निकाह भयो त्यति खेर हजरत अलिले आफ्नो जिरा (युद्ध को बेला सुरक्षाको निम्ति लगाईने सुरक्षा कवच) बेचेर त्यसको सबै रकम हजरत फातिमालाई मेहरमा (केटाले केटि संग निकाह गरे वापत दिने गहना वा रूपैया) दिएका थिए । हजर फातिमाले मेहरमा पाएको रकमबाट नै मुहम्मद सल्ललाहु अलैहि वसल्लमले आफ्नो नवविवाहित छोरी र ज्वाँईको लागि चाहिने अति आवस्यक सामग्री जस्तै :

एउटा चारपाई (बेड)।
एउटा बिछौना।
एउटा चमड़ा को सिरानी जुन खजुरको छालले भरीएको थियो।
एउटा चक्की (जाता)।
दुई वटा मशकीज़ा (जसको सहायताले कुवा बाट पानी भरेर ल्याईन्थ्यो)

यी माथि उल्लिखित सामग्रीहरू किनेर दिएका थिए । यदि यस्लाई कसैले दहेज लिने प्रमाणको रूपमा पेस गरि रहेको छ भने अब बिहे भन्दा पहिला ज्वाँईले अर्थात् केटा पक्षले आफ्नो ससुरालाई आफ्नो चेकबुक, एटीएम कार्ड र त्यसको पास्वर्ड वा रकम उल्टै प्रदान गरोस् । र त्यस पछि यस बाट पैसा झिक्नु होस् र आफ्नो छोरीको लागि सम्पुर्ण सामग्री किनेर दिनुहोस् भन्ने हुन्छ ।

हामीले मान्ने संस्कृतिको शिष्टता यसको शुद्धता र पवित्रतामा छ । तर अहिले पनि नेपाल एक पुरुषप्रधान समाजको नेतृत्व गर्दै समाजमा बस्ने कथित समझदार, पढेलेखेका मानिसहरु समेत दाईजोलाई दुलहीको रेखदेख तथा पालनपोषण बापत दिएको खर्च भनी बुझ्दै छन् । र, यसलाई सामान्य व्यवस्थाको रुपमा अभ्यास गरिरहेका छन् । दाइजो यस्तो अपराध हो । जुन अपराध कानून निर्मातादेखि संरक्षक समेतले गरेको छ ।

यसैको प्रतिफल केटा पक्षबाट बढी दाईजोको लोभमा महिलाहरुलाई जीवनभर आफ्नो घरबाट दाईजो माग्न दबाब दिने गरिन्छ र माग पुरा नभएको खण्डमा ती महिलासँग हुने हिंसा र उत्पीडान जस्ता कुटपिट, जिउँदै आगोमा जलाउने, अङ्गभङ्ग गर्ने र अन्त्यमा हत्याको ढोकासम्म पुर्याइदिने उदाहरणहरु हाम्रो समाजले समय-समयमा हेर्ने र भोग्ने कुरा सर्वविदितै छ ।

संसार जति पनि आधुनिक भएतापनि मानिसहरुको संकीर्ण  सोचले गर्दा “दाइजो” प्रथालाई समाजमा प्रथाको रुपमा मान्ने र अगाडि बढाएको देखिन्छ । विवाहको नाममा भइरहेको सौदाबाजी आधुनिक समाज र आधुनिक भनाउँदा मानिसहरुले नियन्त्रण गर्न सकेका छैनन् ।

राष्ट्रिय महिला आयोगले आर्थिक बर्ष २०१८-२०१९ मा प्रकाशित गरेको तथ्यांंक अनुसार दाईजोको कारणले ४०० महिलाले शारिरिक हिंसा, ५८९ महिलाले मानसिक हिंसा, २२४ महिलाहरुले आर्थिक हिंसा र ४७ जनाले यौन हिंसाको शिकार हुनु परेको छ । ६१.३% महिलाहरुले त आफुसँग हुने अत्याचार, हिंसा तथा उत्पिडनको बारेमा थाहा हुनै दिंदैनन् वा कुरा समेत गर्दैनन् ।

हाम्रो समाजमा दाईजोको मुख्य कारणहरुमा गरीबी र अशिक्षालाई मानिन्छ तर विभिन्न कथित पढेलेखेका र कथित समाजका प्रतिष्ठित पेशामा रहेको ब्यक्तीहरु समेत दाईजो प्रथाको समर्थन गर्दै आफ्नो घरको महिलाहरुलाई दाईजोको लागि विभिन्न शारीरिक तथा मानसिक उत्पिडन दिंदै आएका उदाहरण र दाईजो उन्मुलन गर्ने बनेका कानूनको धज्जी उडाइरहेका छन् ।

दाइजो प्रथा नेपालमा कानूनत : अपराध हो । सारभूत कानुनले यसलाई अपराध घोषणा गरे पनि यसलाई नियन्त्रण गर्न सकिएको छैन । दाइजो प्रथाको मुद्दा अदालतमा विरलै गएको र मुद्दा दर्ता समेत नहुनुले यो अपराधको बढावा समाज भन्दा पनि राज्यले नै गरेको देखिन्छ ।

मुलुकी अपराध सहिंता २०७४ को दफा १७४ मा विवाहमा लेनदेन गर्न नहुने भनि व्यवस्था गरेको छ । उक्त व्यवस्थामा आफ्नो परम्परा देखि चलिआएको सामान्य उपहार,भेटी, दक्षिणा वा शरिरमा लगाएको एकसरो गहना बाहेक विवाह गर्ने दुल्हा वा दुलहीका तर्फबाट कुनै किसिमको चल अचल दाइजो वा कुनै सम्पत्ति माग गरि वा लेनदेन शर्त राखि विवाह गर्न वा गराउनु हुदैँन र उक्त कार्य गरे तीन बर्ष सम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिवाना गर्ने व्यवस्था गरिएकोछ ।

त्यस्तै  विवाह पश्चात दाइजो नदिएको कारणले दुलही वा नातेदारलाई हैरान वा अमानवीय वा अपमान जन्य व्यवहार गरे ५ बर्ष सम्म कैद वा ५० हजार रुपैयाँ सम्म जरिवाना वा दुवै गर्ने व्यवस्था गरिएको छ ।

दफा १७४ बमोजिम लेनदेन कानूनत: अपराध भएपनि नियन्त्रण नहुनु दुर्भाग्य हो । उक्त दफाकै आधारमा र परम्पराको नाममा र उपहारको नाममा जबर्जस्ती दाइजो लिएको कुरा खुल्लमखुल्ला यथार्थ रहेको छ ।

विवाह पश्चात पनि दाइजो नदिदा दुलही लाई यातना दिने, हैरान गर्ने, सताउने र दुलही पक्षका परिवारलाई अपमानजनक व्यवहार गर्ने र दाइजोको कारण जलाउने, विवाह पश्चात सम्बन्ध विच्छेद गर्ने जस्ता घटना प्राय दिनहु भएको हुन्छ ।

यस्ता घटना सम्बन्धित निकायमा  पुग्नु भन्दा पहिले गाउँ घरमा पञ्चहरुले मिलाएका हुन्छन् । जसकारण यस विषयमा बनाइएको कानुन कार्यान्वयनमा आएको छैन् । यस अपराधमा एक पक्षको संलग्नता नभइ दुवै पक्षको संलग्नता रहेको देखिन्छ ।

‘म आफ्नो छोरीलाई विवाहमा यति ठूलो रकम दिएको’ भनि शान देखाउछन् । त्यस्तै केटा पक्षले पनि देखासिखिले फलानाकोलाई यति रकम दिएको छ‌ ‌। म उ संग बढी लिने फेसन बनेकोछ ।

दाइजो लेनदेनमा केटा पक्षले मात्र नभई केटी पक्षले पनि तपाईं कति लिने हो भनि प्रस्ताव गरेको देखिन्छ । लेनदेनको क्रियाकलाप हुँदा उजुरी समेत भएको देखिएको छैन । अर्को कुरा कुनै पनि पक्षले संविधान र कानुन बमोजिम समानताको हकको अभ्यास गर्न दिएको हुँदैन ।

जस्तो : नेपालको संविधानको धारा १८ को अनुसार सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछ ।  उपदफा २ बमोजिम लिंगको समेत आधारमा भेदभाव नगरिने व्यवस्था गरिएको छ ‌।

मुलुकी देवानि सहिंता ऐन २०७४ को दफा २०५ बमोजिम पति, पत्नी, बाबु, आमा, छोरा, छोरी समान अंशियार हुने भनिएको छ । दफा २०६ मा प्रत्येक अंशियारको अंश समान हुने समेत भनिएको छ । तर व्यवहारमा छोरीले अंश लिएको वा दावी गरेको विरलै देखिएको छ। कारण जे पनि हुन सक्छ । जस्तो सम्पत्ति मागदाबी गर्दा पारिवारिक सम्बन्ध बिग्रिने वा अन्य।

त्यस्तै बाबु पक्षले पनि आफ्नो छोरीलाई समान अंश इच्छाले दिएको हुदैँन। त्यसैले केटा पक्षले दाइजो लिनुको एक कारण यसलाइ पनि मानिन्छ कि दुलही ल्याए पछि दुलहीले समान अंशको कुरा गर्छन् । तर समान अंशको कुरा बुवा संग नभई आफ्नो श्रीमान संग मात्र गर्छन् । त्यसकारण केटा पक्षले सोच्ने गर्दछ कि दुलही/बुहारीले सम्पत्ति त ल्याउઁदैन तर पछि समान अंश लिनेछ। त्यसकारण ठूलो दाइजो रकम माग गर्दछन् कि, पछि हिसाबकिताब मिलोस् ।

यदि बाबुले छोरीलाई वा छोरीले बाबुसंग कानून बमोजिम समान अंश माग गरेको हुँदा दाइजोको कुरा आउँदैनथ्यो होला । अन्त्यमा भन्नु पर्दा यस समस्याको दुई वटा उपाय हुन सक्छ । एउटा कानून कार्यान्वयनमा सक्रियता, जुन लेनदेन अपराध रहेको छ । अर्को कानून कार्यान्वयनमा सक्रियता, जुन समान अंशको विषय रहेको छ ।

(लेखकद्वय हुसेन र वर्णवाल ‘काठमाडौं स्कुल अफ ल’मा बीएएलएलबी पाँचौं वर्षमा अध्ययरत छन् ।)

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार