समृद्ध विगत : परनिर्भर वर्तमान

Law Hub Nepal वैशाख ७, २०७८
  • सन्दिप गिरी ।

१. आजभन्दा लगभग २०० वर्ष पहिले मानिसहरुलाई ३००० वर्षभन्दा केही समय अगाडिको इतिहासको मात्र ज्ञात थियो, त्योभन्दा पहिले के भयो भन्ने कुरा दन्त्य कथाहरु तथा अड्कलबाजीहरुको विषय थिए ।

सभ्य संसारको धेरै ठूलो भागमा यो विश्वास गरिन्थ्यो कि संसारको रचना ईसाभन्दा ४००४ वर्ष पहिले अचानक भयो, विगतको सत्य-तथ्य घटनाहरु घटनाक्रमहरु तथा वास्तविकताहरुको आधारमाथि वेद, बाइबल, कुरान, धर्मशास्त्र, दर्शन, राजनीतिक दृष्टिकाेण, विज्ञान आदि शैक्षिक ग्रन्थहरुको प्रस्तुति निकै कलात्मक तवरले, असंदिग्धरुपले एंव अत्यधिक शाब्दिक ब्याख्याले आ-आफ्नो कित्ता बलियो बनाउनका निम्ति आफ्नै अपेक्षाकृत र मनाेमानी ढंगले ब्याख्या गरेको कुराप्रति विद्वानहरुमा मतभेद रहेको पाइन्छ ।

अर्थात् पुरा संसार यो विवादमा छ कि, दुनियाँ जसमा हामी बस्छौं, जसलाई जानिएको र बुझिएको छ, अत्यन्त दीर्घकालदेखि ग्रन्थ, दर्शन र विद्याको पहुँचले विचारको सत्तामार्फत राज्यव्यवस्था, सामाजिक प्रणाली, मानवीय आचार, व्यवहार, चिन्तनशैली, जीवनशैली तथा जीवनव्यवहार लगायत असंख्य जीवन र जगतसँग जोडिएका अवयवहरुमा समय-समय अनुसार फरकफरक परिवेश देखिन्छ ।

२. कुनै समय भारतीय उपमहाद्वीपमा वेदकालीन र उपनिषद्कालीन ऋषिहरु शुक्राचार्य, वशिष्ठ, यज्ञवलक्य, अष्टावक्र अनि उपनिषद्कालीन ऋषिमुनिहरु सबैको आफ्नो शिक्षा विस्तार नीति अर्थात “स्कुल अफ थट्स” थियो ।

वेदमा देवता, ऋषि र मन्त्र गरी तीन विषय महत्वपूर्ण छन् । देवताका रुपमा हामी लोकव्यवहारमा पुजा गर्ने देविदेवता पनि कतै छन् भने कतै प्रकृति र प्राकृतिक पदार्थ पनि  उत्तिकै रहेका छन् । वेदमा ऋषिका स्थानमा हामी शास्त्रमा नाम सुनेका आजका मानिसका गोत्र प्रवर्तक ऋषिहरु पनि छन् र प्रसङ्गअनुसार तत्काल देखापरेका अन्य नामहरु पनि छन् ।

३. वेदका लक्ष्य र वेदका अङ्ग, वेदका देवता र वेदका ऋषि, वेदका उदेश्य र वेदले देखाएका कर्म यी कुराहरूबीचको टकरावलाई कतिपय ठाउँमा वेदले सामाजिक सांस्कृतिक, राजनीतिक, धार्मिक र नैतिक मान्यताहरुको समुज्जवल चित्र उपस्थित गर्छ, त कतिपय ठाउँमा निकै स्वेच्छाचारी ढंगले सत्ता आरम्भ गरेको पाइन्छ ।

समग्रमा, वेदको लक्ष्य व्यक्तिको सर्वाङ्गीण विकास गर्नु हो वा जीवन जिउने शैलीलाई दु:ख कारकबाट बचाउनका निम्ति प्रदान  गरिएको विद्या हो, जुन विद्याले अविद्याको ज्ञानलाई नाश गर्दछ्न् र व्यक्तिलाई पतनको खाल्डोमा पर्नबाट जोगाउँछ्न् र पञ्चक्लेशबाट पीडित हुन दिंदैन ।
समयको साथसाथै वैदिक साहित्यको जटिलता पनि बढ्दै गएको र यसलाई अर्थ दिने नयाँ विषय उठाउनमा अतिवादी अवधारणाले गर्दा पनि वेदलाई द्वन्द्वात्मक र मतभेदी बनाइएको कुराहरू पनि प्रष्ट हुन्छ ।

४.    शिक्षा व्याकरण कल्पो निरुक्तं ज्योतिष तथा ।
       छ्न्द ; षडङगानीमानी वेदाना कीर्तितानिही ।

अर्थात्, शिक्षा, व्याकरण,कल्प, निरुक्त, ज्योतिष एवम् छ्न्द यी वेदका छ अङ्ग मानिन्छ ।

वेद शिक्षाको सन्दर्भमा उदात्त, अनुदात्त र स्वर , कालक्रम, स्थान र प्रयत्नअनुसार उच्चारण गरी अक्षर पढ्ने ज्ञान पाइन्छ, त्यसलाई शिक्षा भनिन्छ । शिक्षाको सम्बन्ध शास्त्रसँग छ। ऋषिहरुले वेदका उच्चारणमाथि सर्वाधिक ध्यान दिएका छन् । उनीहरुले ब्याख्या गरेअनुसार जुन साहित्यद्वारा स्वर मात्रा र उच्चारणमाथि विचार गरिन्छ, त्यसलाई शिक्षा भनिन्छ भने विद्वानहरुको धारणअनुसार ‘स्वर या वर्णको विषमताले शब्दहरु दुषित बन्छन् । फलस्वरूप कामना सिद्ध हुने आशा नष्ट हुन्छ ।

वेदमा शिक्षा ग्रन्थहरुको सङ्ख्या धेरै छन् । जसले जुन शाखाबाट वेदपाठ सिक्यो,उ त्यही शाखाको वंशपरम्परालाई मान्यता दिंदै आयो।

५. त्यस्तै ‘कल्पसुत्र’ हरुद्वारा कर्मकाण्ड तथा धर्मशास्त्रसँग सम्बन्धित गहन परिचय स्थापित गरेको पनि देखिन्छ अर्थात् वेदमा भएको कर्मको व्यवस्थित कल्पना गर्ने शास्त्र ‘कल्प’हो ।

कल्पको माध्यमले ब्राह्मण भागको बाँकी अंशबाट यज्ञका निमित्त स्रोतसुत्र हुने भनिएको पनि पाइन्छ । स्रोतसुत्रका १४ सङ्ख्यालाई गरिएको ब्याख्यामार्फत भारतवर्षको प्राचीन यज्ञपद्धतिको राम्रो परिचय मिल्छ तर कतिपय ठाउँमा यसै कल्पसुत्रहरुद्वारा ब्राह्मणहरुले आफ्नो जीवन जिउने कमाउने “चलाखीवाद” सिद्ध विचारलाई स्थापित गरेको देखिन्छ, भलै वेदमा यी कुराहरू लेख्यरुपमा प्रष्ट किन नहोस् तर मानव समाजमा हुने धर्मकर्मप्रतिको आस्था विस्वाश माथि निकै मसिना तवरले स्वर्ग र नर्कको बिच कष्टकर र मोक्षरुपी ब्याख्याले डरत्रास बढाएर सोच्न बाध्य बनाएर, ढुङ्गालाई पैंसा फलफूल र  दान, गौ भोजन, ब्राह्मण भोजन आदि मार्फत मोक्ष पाउने कुरालाई जाेड गर्दछ्न् ।

६. स्रोतसुत्रपछी गृहयसुत्र, धर्मसुत्र र शुल्वसुत्र गरी यी ४ सुत्रमा बाँधेर राम्रो अर्थमा लाभान्वित, अनेकार्थिक अर्थमार्फत युगान्तकारी ढंगले ब्राह्मणहरु आफ्नो अधिपत्य या क्षेत्रअधिकारलाई सुनिश्चित गरेको पाइन्छ ।

जस्तै; गृहयसुत्रको माध्यमबाट जन्मदेखि मृत्युसम्म गरिने समस्त संस्कारको वर्णन गर्नु,  पञ्चमहायज्ञ, पाकयज्ञ, श्रद्धा आदि मुक्तिको भाव देखाई भावनामाथि र समाजिक सांस्कृतिक रितिरिबाजमाथि ब्राह्मण अधिपत्य हाबी भएको पनि देख्न पाइन्छ । त्यस्तै धर्मसुत्रको माध्यमबाट सामाजिक जीवन सञ्चालनका लागि आफ्नो फाइदा अनुकुल नियमहरुको विवेचना गरेको पनि पाइन्छ, धर्म विवेचना, वर्णाश्रम व्यवस्था, राजाप्रजाको कर्तव्य, विवाहको प्रकार, स्त्रीहरुको स्थान कर्तव्य स्थान, निर्षिद भोजन, के खाने, के नखाने, के खाँदा राम्रो हुने, के खाँदा नराम्रो हुने, शुद्दी, प्रायशिचत विषयवस्तुको उठाउनसँगै जीवन दिशालाई दर्शन गराएको पाइन्छ । त्यस्तै सुनपानी छर्ने, पाप पखाल्नलाई गंगा स्नान गर्ने, ईश्वरलाई कोसेली, भेटी,बली चढाउने आदि कुराहरूबाट पनि ब्राह्मणहरुको चालाखीवाद विचार सिद्ध भएको देखिन्छ ।

७. वेदका चार सुत्र मध्ये ‘शुल्वसुत्र ‘ पनि अत्यन्त महत्त्वपूर्ण सुत्र मानिन्छ । शुल्वको शाब्दिक अर्थ क्रियात्मक छ। नाप्ने, तौल गर्ने, स्थान चयन गर्ने आदि निर्माण सम्बन्धी विभिन्न विधिको उल्लेख छ । यो ग्रन्थ ज्यामितिको प्राचीनतम् ग्रन्थको रुपमा मान्ने गरिन्छ ।
आजको २१औं शाताब्दिको उत्तरार्धमा पुगेको यस युग जसलाई हामी ज्ञान -विज्ञान प्रविधिमैत्री भइसकेको युग मान्छौं, जुन युगमा मानिस चन्द्रमासम्म पुग्न सफल रहेको छ या मंगल ग्रहमा घर बनाउने योजना अघि सारेको सुन्न पाइन्छ, जहाँ हवाईजहाज, रकेट आदि कुराको पहुँच छ । प्राचीन वेदकाल र उपनिषद्कालका ऋषिमुनिहरुले पनि विचारसिद्ध प्रमाण दिएको पाइन्छ । जस्तै; भारद्वाज ऋषिद्वारा ज्यामितीय सुत्रको आविस्कार गरिएको कुरा, बिनाइन्धन आकाशमा उड्ने “हंसविमान”को आविस्कार भएको कुरा आदि रामायणकाल अर्थात् त्रेतायुगमा रावणले भारद्वाज ऋषिबाट उपहार स्वरूप पाएको “हंसविमान” उडेको कुरा पनि प्रमाण छ।

८. वेद, वेदका अङ्ग, उप-अङ्ग, वेदान्त, वेदमा न्यायदर्शन, वैशेषिकदर्शन , साङख्यदर्शन, योगदर्शन, वैदिक वाङमय, तन्त्रशास्त्र , यन्त्रविज्ञान, यी कुराहरु निकै प्रसिद्ध छन् ।

वेदमा वेदान्तको स्थान र वेदान्तलाई देख्ने दृष्टिकोण वेदका अन्तिम ध्येय र कार्यक्षेत्रको शिक्षा दिन्छ । वेदमा वेदान्तको अनुसार एक अद्वितीय ब्रह्म नै मायाले संसारमा नानारुपमा उत्पन्न भएका छ्न् अरु केही सत्य होइनन् भन्ने नै वेदान्तको मत हो  । यसको मुल श्रेय नै ब्रह्मलाई जान्ने जिज्ञासालाई शान्त गरिएको छ।

त्यस्तै, वेदमा “न्यायदर्शन” लाई न्यायविद्या, तर्कशास्त्र तथा अन्विक्षिक पनि भनिन्छ । भाव-अभाव पदार्थको प्रत्यक्ष आदि प्रमाणले विचारपुर्ण तर्क गरिन्छ । यस दर्शनमा मुख्यत; शुद्ध विचारक विषयमा वर्णन गरेको पाइन्छ र प्रमाणहरुद्वारा कुनै विषयको परिक्षा गर्नु नै न्याय मानिन्छ । यसमा प्रमाणसम्बन्धी मात्र नभइ भौतिक जगतसम्बन्धी, आत्मा तथा मोक्षसम्बन्धी र ईश्वर सम्बन्धी पनि चर्चा गरेको कुराहरू पनि प्रष्ट हुन्छ ।

त्यस्तै, वैशेषिक दर्शनलाई पनि वेदमा जीवन-जगत र मोक्षको बाटो भनेर अनुमान गरिएको पाइन्छ, “खेतबाट खोजेको अन्नकणको सहाराले जीवनयापन भएको र भविष्यसम्म किसान र कृषि नै अन्तिम विकल्प रहने भनिएको पाइन्छ ।”

वेदको उप-अङ्गमा भएको छ वटा दर्शनमध्ये “साङख्यदर्शन ” पनि उत्तिकै महत्त्वपूर्ण मत र अभिमतको विषय रहेकोे छ। साङख्यदर्शनमा प्रमुख दुई तत्त्वहरुलाई केन्द्रमा राखेर बहस बनेको देखिन्छ । पुरुष र प्रकृति । आ-आफ्नो अस्तित्वका लागि दुबै परस्पर निरपेक्ष छन् । एक पुरुष आठ प्रकृति, सोह्र विकार तत्वहरु यी सबै साङख्यदर्शनकै विशेषताको अध्यन रहेको शास्त्रलाई जनाउँछ । साङख्यदर्शनले समस्त जगतलाई निर्जीवप्रधान या प्रकृतिको विकास मान्छ ।

त्यस्तै “योगदर्शन”ले साङ्ख्यको प्रमाण र तत्त्वलाई मान्छ । एकाग्र ध्यान योगदर्शनको मुख्य र योगको अभ्यास मानिन्छ । शरीर, इन्द्रिय, मनका समस्त बन्धनबाट रहित भएर शुद्ध आत्मासँग साक्षात्कार गर्न चाहनेहरुको लागि योग एक महान साधन हो । योगका आठ अङ्ग छ्न् । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधी यी विधिलाई आत्मसात् गर्ने र निरन्तर अभ्यास गर्ने नै शक्तिशाली बन्ने वेदमा भनिएको छ । समग्रमा; ध्यान र नैतिकतापुर्ण कर्मको संयोगले  नै जुनसुकै क्षेत्रमा सफल हुने र बलियो बन्ने कुरा प्रष्ट भनिएको छ ।

९. त्यस्तै, वेदमा “वैदिक वाङमय” को विभिन्न शाखाहरुको महत्त्व लगायत अन्य कलाहरुको पनि परिचय गरेको छ । इतिहास, पुराण, स्मृति, विद्या र कला, अर्थशास्त्र, कामशास्त्र, शिल्पशास्त्र आदि जान्नै पर्ने विषयवस्तुको उठान गरेको पाइन्छ ।

वेदका आधारमा प्रतिपादित वाङ्मयहरु नै वैदिक वाङ्मय हुन। संसारमा वैदिक संस्कृति मानेर जीवन निर्वाह गरेका मानिस कहाँकहाँ होलान्, कति होलान्, को कहिले कहाँ थिए, अहिले को कता सरे, कुनकुन व्यवहार कोसँग कसको व्यवहार भिन्न छ भन्ने कुराको खोज अनुसन्धान गरेर तथ्यांकमा प्रष्ट पार्ने पाटो भिन्नै छ । वेदलाई कसैले भगवानको मुखको वाणी भन्छन, कसैले अनादित भन्छन्, कसैले संसारका सबभन्दा जेठो दर्शन शास्त्र भन्छन्, कतिले पुराण हो र वास्तवमा यो के हो भन्ने कुरा पनि खोजेर टुंगो लगाउन विद्वानहरु जुटेकै होलान् तर पनि संसारको वैदिक साहित्य पुरानो पक्कै हो । पुरानो हो भन्ने कुरालाई अस्वीकार गर्न नसकिने धेरै कुरा हाम्रैसामु छ ।

१०. भारतीय उपमहाद्दिपको वेदकालिन र उपनिषद्कालिन ऋषिमुनिहरुको शिक्षा विस्तार नीति र क्रमशः धेरैपछि देखापरेका धेरै दार्शनिकहरु जस्तै; एथेन्समा प्लेटो, जरथ्रुष्ट, एपिकुरु आदि र चिनमा कन्फ्युसियस, लाओत्से आदि सबैको आ-आफ्नो शिक्षा विस्तार जीवनपद्धति अर्थात् “स्कुल अफ थट्स” थियो । पछी गौतम बुद्धको शिष्यहरुले पनि नयाँ स्कुल अफ थट्सको स्थापना गरे त्यसपछि मार्क्सको “स्कुल अफ थट्स” ले सबै पुराना बैचारिक स्कुलहरुको जग हल्लाइदियो र ईश्वरवादको सम्पुर्ण पाखण्डहरुलाई उछित्तो काट्यो, गरिब वर्गहरुको छुट्टै स्कुल स्थापना गरे  होला पनि तर
वेदकालिन समयमा ज्ञान-विज्ञान प्रविधि पुर्णरुपले विश्वब्यापी मैत्री भइसकेको थिएन । ऋषिमुनिहरु मार्फत मानिसहरु बाँच्ने जीवनशैलिमा सुधार ल्याउन हेतु, ऋषिमुनिहरुको ठूलो योगदान रहेको कुरा पनि उत्तिकै सत्य छ जति सत्य सत्य छ । ऋषिमुनिहरुको अनुसार “मानिस बदलियो भन्ने समाज आफैं बदलिन्छ भने उदेश्यसाथ मानव सेवामा निरन्तरता रहेको कुरा पनि पढ्न, बुझ्न पाइन्छ’ जबकि मार्क्सको प्रतिपादित सिद्धान्तहरु अनुसार “समाज बदलियो भने मानिस आफै बदलिन्छ भने” अवधारणा प्रचुरमात्रामा जान्न पाइन्छ।
तर समग्रमा भन्नुपर्दा “वेद र उपनिषद्कालिन ऋषिमुनिहरु, गौतम बुद्ध एवं अनेकौं देखापरेका दार्शनिकहरु सम्पुर्णको उदेश्य “मानिस बाँच्ने कलाहरुमा सहजता फुलाउने नै रह्यो र तत्कालीन समाजिक परिपाटी भन्दा उच्च र नैतिक अनुपम समाज निर्माण नै रह्यो । त्यो त हाम्रो मानसिकताको दोष भन्नुपर्छ ।

धर्ममा केही खास जाति विशेष मातहत देखेर हामी विशुद्ध तरिकाले बाँच्नुको सट्टा धर्म ग्रन्थलाई नै बहिष्कार गर्नेतर्फ लाग्यौं । रुखमा फलेको हजारौं आँप मध्ये कुहिएको आँप टिपेर फाल्नुको सट्टा रुख नै काट्ने आट गर्यौं ।

फेरि भन्नुपर्दा पनि त्यो हाम्रो मानसिकताको दोष नै भन्नुपर्छ कि हामी वेदको ज्ञान मार्फत, नियम र राम्रो युक्तिबाट धन कमाउन अर्थशास्त्रलाई व्यवहारमा लागू गर्नसकेनौं, सुन्दर दरबार, घर, प्रतिमा, देवमन्दिर, उद्यान आदि निर्माण, संस्कार गर्ने शिल्पशास्त्रलाई अंगाल्न सकेनौं अनेक प्रकारका नीतिनियम साथ रथ हाँक्ने, हात्तीघोडा चढ्ने, माटो, काठ, ढुङ्गा वा धातु आदिका भाडावर्तन बनाउन जानेनौं, चामल, अन्नकण, बोटबिरुवाबाट रंग बनाइ चित्र कोर्न, तलाउ, पोखरी,भवन, जमिन सम्याउने घडी बाजा आदि अनेक थरीका यन्त्र बनाउन जानेनौं । कमसल, मध्यम आदि रंगको मिश्रणबाट कपडा रङगाउन, जल, वायु र आगोको संयोग र निरोध गरेर काम गर्न जानेनौं । फलाम, सिसा आदिबाट हातहतियार या भांडाकुडा बनाउन जानेनौं । स्वर्णादी धातुलाई अनेक प्रकारबाट सजाउन र कृत्रिम सुन रत्नहरु बनाउन जानेनौं । आखिर, आज हामी यी कुराहरूको दैनिक प्रयोग गरिनै रहेका छौं तर हामी आफूले उत्पादन गर्न जान्नुको सट्टा अरुले उत्पादन गरिदिए बापत प्रयोग गरिरहेका छौं । वास्तवमा हामी के जानेका छौं त, कस्तो वर्गसंघर्ष र कस्तो वर्गीय समाजको कल्पना गरेका छौं त ? जहाँ सम्म मलाई लाग्छ, हामी केवल पैंसा कमाउनमात्र जानेका छौं र  पैंसाको धाकमा आफू भौतिकवादी र उपभोक्तावादी बनेका छौं । कला र साहित्यका क्षेत्रमासमेत हारेर परनिर्भरता आर्जेका छौं ।

११. नेपालको सन्दर्भमा वि.सं. १८७१ मा जन्मिएका आदिकवि भानुभक्त आचार्य, उनले गणेश चौथीमा २१ वटा फुलहरुलाई गणेश पुजाहेतु प्रयोग गरेका ती सम्पुर्ण फुलहरुलाई गहन अध्यन-अनुसन्धान गर्दा औषधिमय बनस्पति ठहरेको कुरा हामी नेपालीहरुको लागि भविस्यसम्म काम लाग्ने संचित सम्पत्ति नै छन् कि ? सानो रुघाखोकी लागे पनि डाक्टर धाउनेलाई घाँसपात नै लाग्ला । तर उनले एक श्लोक मार्फत देखाएका यी औषधिमय बनस्पति हाम्रो लागि अत्यन्तै महत्व राख्छन् । जस्तैः मासभृङगी, बेल, दुबो, बैर र धतुरो, तुलसिको पात, बेहिका पात, समिका, अक, औसेली, गुमबापाती आदि गरि जम्मा २१ छन् ।

त्यस्तै, लप्सी, तितौरा, च्याम्पटी, पारिजात (हरसिङगार) शिरिष, पिपल, वर, तरुल, गाँजा,भाङ, गुराँस, रक्तचन्दन, जटामसी, लजावती, रेगनि, जलकुम्भी, वनमारा, सुनगाभा, औलो, बेसि, हिमाली जायन्ट लिलि फुल, सिमलको फुल, बेसार, दालचीनी, क्यान्सरको लागि ढयाङगो सल्लो, अर्किसको बोट, चान्दिगाभा, पाँच औले, मेथी, निम, अलैंची, उन्यु, खजुर आदि अनेकौं औषधिमय बनस्पतिको उचित प्रयोग गर्न जान्यौं भने हामीलाई जुनसुकै र जस्तोसुकै रोगलाई निको पार्न आजको आधुनिक डाक्टरकहाँ धाइराख्नु पर्दैन र हाम्रो समाजबाट परनिर्भरता पनि कम हुँदै जान्छ कि भन्ने मेरो विचार रहेको छ ।

(गिरी पृथ्वीनारायण क्याम्पस पोखरामा कानूनमा स्नातक (बीएएलएलबी) तहमा अध्ययनरत छन् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार