परनिर्भरतासँगै आधुनिकीकरणको यात्रामा नेपाल

Law Hub Nepal असार १०, २०७७
  • सन्दिप गिरी ।

साउथ एसियाकै सबभन्दा पुरानो राज्य भनेर नेपाललाई चिनिन्छ । हिन्दु पुराणहरुको अनुसार सत्ययुगमा सत्यवती, त्रेता युगमा तपोबन, द्वापर युगमा मुक्तिसोपान, र कलियुगमा नेपाललाई नेपाल भनेर चिन्न थालिएको कुरा इतिहास र ग्रन्थहरुमा चर्चा गरेको पाइन्छ ।

नेपालको भौगोलिक विविधता र विशेषता अनुसार शिरोधार्य गरेका भाषा, संस्कृति र सुन्दरताले गर्दा विश्वमा नेपाल चिनाउने काफी, पर्याप्त र अकाट्य आधार छन् । नेपालीहरु वीर र स्वाभिमानी रहेको वा नेपाल गुलाम नभएको कुरा हामी सम्पुर्ण नेपालीहरुको लागि नेपाल चिनाउने अर्को थप र पर्याप्त आधार भन्दा पनि धेरै माथिको, गौरवमय पहिचान छ।

तर नेपाल हिमालै-हिमालको देश वा जलस्रोतको दोस्रो ठुलो देश, भौगोलिक सुन्दरता, बनजङगल, कृषियोग्य मैदान, तराईका उब्जाउ भुभाग, विद्युतको पर्याप्त उत्पादन, पर्यटन पहुँच आदि बलिया र सुन्दर आधारले सु-सजित भए तापनि “निर्माण र विकास” को आधारमा वर्षौंदेखि आत्मनिर्भर हुनुको सट्टा परनिर्भर हुँदैआएको र परनिर्भर नै रहेकोप्रति मेरो गुनासो छ ।

ई.सं. १९५० मा राणाहरुबिरुद्ध थालिएको राष्ट्रिय क्रान्ति भन्दा अगाडी विश्व ध्रुवीकरणको आधारमा नेपाल धेरै पाखा परेको अर्थात विश्वको मानचित्रमा धेरै कम चर्चामा रहेका मुलुकहरु मध्ये एक थियो ।

हुनत १९५० मा थालिएको राष्ट्रिय क्रान्ति भन्दा धेरै पहिलादेखि नै गौतम बुद्ध, अरनिको, भृकुटी, अंशुवर्मा, माता सीता, जनक लगायतका राष्ट्रिय बिभुतिहरुले विभिन्न कालखण्डमा नेपाललाई चिनाएकै पाइन्छ, तर त्यो समयलाई न त भौतिक विकासको उपज मान्न सकिन्छ न आधुनिकीकरणको आधारमा गन्न सकिन्छ ।

मुख्यत ई.स. १९५०-५१ को प्रजातान्त्रिक क्रान्तिपछि नेपालले अन्तर्राष्ट्रिय जगतमा मित्रबद्ध हुँदै आएको देखिन्छ । नेपाल-भारत र नेपाल-चिनका साथै, पाकिस्तान, जर्मनी, अमेरिका, जापान लगायतका मुलुकहरुसँग पारस्परिक सम्बन्ध र भौतिक विकास एंवम कयौं सम्झौता, सन्धिमार्फत नेपालले आधुनिक युगमा पाइला टेकेको तथ्य पाइन्छ ।

प्राचीन किराँत कालिन छैठौं राजा ‘हुमती र अर्जुन’ बिचको भीषण महाभारत कालिन युद्ध वा माता सिता र रामको बैवाहिक सम्बन्ध एंवम अंशुवर्माले आफ्नी बहिनी भारतमा बिवाह गरिदिएको आदि ऐतिहासिक र तथ्यगत आधारलाई मध्यजर गर्दै ई.स. १९५० मा राजा त्रिभुवन र भारत सरकार बिच ब्यापारीक सम्बन्ध, सिमाविवाद लगायत दुई देश बिच एकअर्काको आत्मीय स्वाभिमानलाई कदर गर्नुपर्ने वा आन्तरिक मामिलामा कुनै प्रकारको हस्तक्षेप नगर्नुपर्ने आदि कुरालाई आत्मसात गरि नेपाल भारत बिच आधुनिक सम्बन्धको सुरुवात भयो भन्ने मान्यता छ ।

१५ अगस्त १९४७ मा भारत अंग्रेजबाट आजाद थियो । त्यसलगत्तै भारतीय स्वतन्त्रता संग्राममा भारत सरकारद्वारा नयाँ संरचनाको मस्यौदा तयार पारिएको थियो र त्यही तयार पारिएको नयाँ मस्यौदालाई बलियो टेवा पुर्याउनको लागि भारत सरकारलाई उद्योगधन्धा आदि संचालनका निम्ति विद्युत प्रसार आदि कुराको अभाव देख्न थालियो ।

भनिन्छ नि, “जब हामी संकटमा पर्छौं वा केही कुराको आवश्यकता अनुभूत गर्छौं अनि आफूले चिनेका साथी, आफन्तलाई सम्झन्छौ ।” हो ठिक भारतले पनि वि.पि. कोइरालाको नेतृत्वमा थालिएको राणा विरुद्धको प्रजातान्त्रिक क्रान्तिमा सहयोग गरेको आधारमा ई.सं.१९५५-५१ पछि भाइचारा वा अर्थिक सहयोग आदि सम्बन्ध मार्फत आफ्नो बर्चस्व बढाउन थाल्यो ।

ई.सं. १९५२ मा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु नेपाल भ्रमण आउनैसाथ नेपाल-भारत बिच खुल्ला सिमाना घोषणा गरियो । यसरी नेपाल-भारत खुल्ला सिमाना घोषणाले नेपाल र भारत बीच आन्तरिक सम्बन्ध अझैं झन् बलियो र मित्रबद्ध हुन गयो।

भन्ने गरिन्छ, “तुम अपने आँखोको आसु किसि दुसरेको मत पुछने देना वर्णा वह तुमहे सौदा करजाएगा” आखिरमा त्यस्तै किसिमको सम्झौता सन्धि इतिहासको पन्नामा यथावत छन् ।

ई.सं.१९५२ मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको नेपाल भ्रमण सके लगत्तै वि.सं. १९५६ मा ६० मिलियन डलरमा राजा महेन्द्र र भारत सरकार बीच दुई पक्षीय फाइदाको नाममा “त्रिशुलि हाइड्रो इलेक्टि्रक प्रोजेक्ट र कोशी गण्डकी प्रोजेक्ट” मा हस्ताक्षर गरियो ।

यसलगत्तै ई.सं. १९५६ मा २१ मिलियन डलर अनुदान स्वरूप पाँच वर्षे योजना लक्षित गरि भारतको राष्ट्रपति राजेन्द्रप्रसाद र नेपाल सरकार बीच बाटोघाटो, पुल आदि मार्ग निर्माणलाई मुख्य एजेन्डा आधार मान्दै एउटा फेरि पनि सम्झौता गरिएको थियो, जसको फलस्वरूप त्रिभुवन राजमार्ग बन्यो ।

यतिमात्र होइन ई.सं. १९५६ को सम्झौता पछि अर्को पटक ई.सं. १९५८ मा क्षेत्रीय आयात-निर्यात प्रमुख उदेश्य राख्दै फेरि पनि त्रि-पार्टी – नेपाल, भारत र अमेरिका बीच सम्झौता भएको थियो । जसको फलस्वरूप “सुनौलीदेखि पोखरा हुँदै भारतको उत्तर प्रदेश” र फत्तेपुर-कुनान, हनुमाननगर-कुनौली र दक्षिणीकाली-काठमाडौं” मार्गहरू बने । यी सबै निकासले नेपाल भारत जोडिएको इतिहास साक्षी छ ।

यी सन्धि सम्झौताहरुलाई झट्टै नजरअन्दाज गर्दा पक्कै पनि उपलब्धिमुलक जस्तो लाग्ला, तर यथार्थ यो छ कि हामी परनिर्भरता तिर धकेलिंदै गइरहेका थियौं र भारतले पहिलो चरणमै नेपालसँग “त्रिशुली हाइड्रो इलेक्टि्रसिटी प्रोजेक्ट ” र कोशी-गण्डकी प्रोजेक्ट हस्ताक्षर मार्फत नेपालबाट भारत तर्फ विद्युत लगेको थियो र नेपालबाट लगेको त्यही विद्युतबाट भारतमा उद्योगधन्धा संचालन गरि ठुलो मात्रमा उत्पादन गरेका मालसामानलाई पुर्ण रुपमा नेपाललाई भारतको बजारीकरण गर्नका लागि फेरि पनि रोड, पुल बनाएर ब्यापार विस्तार गरियो ।

तर भारतको नेपालप्रति बढ्दै गरेको बर्चस्वलाई चाइनाले ई.सं. १९५०-५१ देखि नै नजरअन्दाज गरिरहेको थियो । यसरी भारतको नेपालमाथि बढ्दै गरेको प्रजातान्त्रिक वर्चस्वलाई साम्यवाद निति बिस्तारमार्फत नेपालमा पाइला टेकेर भारतको प्रतिद्वन्दी कायम राख्न नेपाल सरकारसँग पुट लिन थालेको थियो ।

ई.सं. १९५६ मा नेपालका तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य र भारतका राष्ट्रपति राजेन्द्रप्रसादसँगको सम्झौता भएलगत्तै त्यही वर्ष चाइनासँग पहिलो सम्झौतामा नै चाइनाले नेपाललाई ४.२ मिलियन डलर क्यास र ८.४ मिलियन जतिको मालसामान अनुदान स्वरूप प्रदान गरिएको थियो ।

अप्रिल १९६० मा चाइनिज प्रिमियर छाउ-इन-लाई दोस्रो चोटि नेपाल भ्रमण (45 minute plane trip) आएको बेला पोखराको फेवातालमा “रत्न मन्दिर” निर्माणका लागि सम्झौता गरिएको थियो ।

यतिमात्र नभई ई.सं. १९६१ मा चाइना सरकारले ९.८ मिलियन डलरमा “कोदारी देखि काठमाडौं” सम्म रोड निर्माण कार्य थाल्नका लागि नेपाल सरकारलाई सहयोग गरेको थियो र पछी निर्माण कार्यमा बजेटको लागत धेरै लाग्ने हुनाले फेरि पनि ४८ करोड थपेर निर्माण कार्य सफल भएको कुरा इतिहासमा छ ।

पछि रोड, पुल आदि बाटोघाटो निर्माण कार्य सक्नासाथ ई.सं. १९६६ मा चाइनाले १५ करोडमा नेपाल सरकारसँग “सुनकोसी हाइडेल प्रोजेक्ट” हस्ताक्षर गराएर उक्त सुनकोसी नदिबाट दस हजार मेगावाट विद्युत चाइना लगेको थियो ।

यतिमात्र होइन कि, चाइनाले “कोदारी रोड” बनाउने क्रममा ६० टन भारी बोकेका ट्रक पनि सजिलै ओहोरदोहोर गर्नसक्ने “पुल” बनायो ताकि नेपालमा चाइनाले उत्पादन गरेका मालसामान ओसारपसार र बेचबिखन गर्न सहज होस् ।

यसरी भारतबाट जवाहरलाल नेहरु, राजेन्द्रप्रसाद, इन्दिरा गान्धी, राधाकृष्णमोहन, मोरार्जी देसाइ, डा.जाकिर हुसेन र चाइनाबाट छाउ-इन-लाई, माओत्सेतुङ वा चाइनिज राजदुत लगायतका छिमेकी नेतृत्वहरु पटक-पटक नेपाल भित्रिनु र सहयोग गर्नुको प्रमुख कारण नै नेपाललाई बजारीकरण गर्नु थियो ।

भारत चाइना मात्र नभई अमेरिका र जर्मनीको राष्ट्रपति Luebke, इजरायलको राष्ट्रपति जलमान सहजार, सेक्रेटरी जेनेरल यु टन्ट, महारानी एलिजावेथ गरेर पटकपटक नेपाललाई कहिले USSR का लागि त कहिले USA, वा NATO पक्ष पार्नका लागि प्रलोभन र अपिल आइरहेका थियो, तर इतिहासको ३० वर्ष लामो समयसम्म राजा महेन्द्रले नेपाललाई नेतृत्व गरेर आफ्ना निर्माणकाललाई सम्झौता र दुई पक्षीय फाइदा लिदाँदिदै देशलाई जोगाउन फसल भए ।

र, यसैगरी राजा महेन्द्रले छिमेकी राष्ट्रहरुको वर्चस्वलाई मासेर नेपालमा नेपाली राष्ट्रियताका अवयबहरु बिश्वभन्दा पृथक बनाउन सफल भए । भलै उनीप्रति कुनै खास वा निश्चित समुदायको गुनासो दुखेसो होला, तर इतिहासलाई केलाएर हेर्दा उनलेे गर्दा नेपालको आफ्नो राष्ट्रियता छ ।

यसरी नेपालको आधुनिकरण यात्रा लम्बिदै जाँदा राजतन्त्र र राजा नेपालमा भएसम्म छिमेकी मुलकहरुको राजनीतिक पुट पाउने वर्चस्व नेपालमा जम्न कठिन नै रहेको अनुमान गर्नसकिन्छ ।

सबैले बुझेकै कुरा हो “सशस्त्र जनयुद्धको बखतसम्म पनि नेपालमा पुर्ण रुपमा आधुनिकरण भएको थिएन, आजको यस्तो विकसित समयमा त माओवादी खेमाकै, मातृका, मोहन वैद्य, विप्लव जस्ता क्रान्तिकारीहरु धरातल टेक्न पाएका छैनन् ।

अब बिचार गर्ने कुरा के हो भन्दा “सशस्त्र जनयुद्ध” थालिएको समयमा यदि अहिलेको समय जसरी मोबाइल फोन, आदि टेक्नोलोजी विकसित हुन्थ्यो भने पक्कै पनि प्रचण्ड वा माओवादी नेतृत्व त्यही बेला प्रशासनद्वारा मारिन सक्थे ।

तर आजको आधुनिकरण युगमा हामी नेपाली यति धेरै नै सौखिन भइसकेका छौं कि, हामी चप्पलजुत्ता देखि लिएर, खाने बस्ने लगाउने कपडा धरी यहाँसम्म कि, आफ्नो देशका कुकुरहरु पनि बाटोमा हिडदा हिर्काएर, चाइनिज वा बेलायती कुकुर पालनमा आफुलाई ठूलो ब्रान्ड महसुस गरिरहेको अवस्था छ । हामी नेपालीले चाहिनेजतिका सम्पुर्ण आधारभूत आवश्यकतालाई परसंस्कृतिग्रहण गरिसकेका छौं ।

तर नेपाल सात दशक भन्दा धेरै समय पार गरेर वा एकात्मक शासन प्रणालीबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थासम्म आइपुग्दासम्म पनि नेपालको मानचित्रमा दुखेसो र गुनासोको तरलरुपि चिच्याहट कम भएको अवस्था देखिदैंन, बरु आफ्नो देशमा भएजतिको उद्योगधन्धालाई अझैं बन्द गरेर अरु मुलुकप्रति परनिर्भर हुँदै गएको अवस्था नै देखिन्छ ।

र, यो म दाबीको साथ भन्न सक्छु, जबसम्म आफ्नो देशले उत्पादन वा रोजगारीको वातावरण सिर्जना गर्दैन तबसम्म नेपालको मानचित्रमा दुखेसो नै रहन्छ ।

( गिरी पृथ्वीनारायण क्याम्पस पोखरामा बिएएलएलबि अध्ययनरत छन् । )

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार