स्वच्छ कर प्रशासन : विकास र सुशासन

Law Hub Nepal चैत्र १, २०७६
  • अनमोल पन्थी

सामान्य अर्थमा कर भन्नाले कुनै पनि देशका नागरिकले विभिन्न शीर्षकमा राज्यलाई बुझाउनु पर्ने रकम भन्ने बुझिन्छ। नेपाली भाषामा सामान्यतया कर लाई तिरो भनेर पनि बुझ्ने गरिन्छ।

देशको विकासको मुख्य आधार नै नागरिक बाट उठाइएको कर भएकाले राज्यको आर्थिक प्रणाली सुदृढ पार्नका निम्ति पारदर्शी कर उठाउनु पर्दछ। कर उठाउँदा हुने सानो त्रुटीले पनि राज्यको आर्थिक कारोबारमा ठूलो धक्का पर्ने हुनाले राज्यले विशेष ध्यानपूर्वक कर संकलन गरी राज्य सञ्चालन गर्नु पर्दछ।

विभिन्न देशमा कर संकलन गर्ने आफ्नै नीति र मापदण्ड हुन्छन्, तर अहिलेको विश्व जगतमा कर नै कुनै पनि देशको बिकास निर्माण को मुख्य स्रोत हो। नागरिक तहबाट उठाइएको कर देशको विकास निर्माण, सरकारी कर्मचारीको तलब भत्ता, राष्ट्रिय स्तरका विभिन्न कार्यक्रम तथा सम्बन्धित देशको सरकारले गर्ने कुनै पनि कार्यको आर्थिक भारको मेरुदण्ड हो।

देशमा सुशासन, कर्मचारीको अनुशासन तथा आर्थिक कारोबारलाई स्वच्छ, निष्पक्ष र पारदर्शी पार्नका निम्ति स्वच्छ कर प्रशासनको सुव्यवस्था गरिनु पर्दछ। नागरिकले आफ्नो रगत, पसिना र दैनिक श्रमबाट मिहिनेत गरी कमाएको रकममा केही हिस्सा राज्यलाई करको रुपमा बुझाउने हुँदा जुनसुकै प्रशासनले कर उठाएको भएतापनि उक्त कर स्वच्छ र पारदर्शी हुनु पर्दछ।

नेपालको सन्दर्भमा इतिहास देखिनै कर उठाउने प्रचलन रहेको थियो। लिच्छवि काल देखि नै कर संकलन गर्ने चलन थियो। त्यति बेला देखि नै पशु कर,धार्मिक घर लगायतका शीर्षकमा कर उठाउने चलन थियाे।

नेपालमा संविधान निर्माण भएपछि करसम्बन्धी व्यवस्थालाई थप मजबुत बनाइयो। जसअनुसार प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ। यस बाट के प्रस्ट हुन्छ भन्ने नागरिकले आफूले तिरको कर स्वच्छ एबम् पारदर्शी रूपले खर्च भएको छ कि छैन भनेर कर संकलन गर्ने प्रशासनिक निकायबाट त्यसको जानकारी लिन सक्छन्।

नेपाली सामान्य बोलिचालीको भाषामा कर नतिर्ने र कर छल्ने दुवै देशका शत्रु हुन् भनिएको छ। कर तिर्नु प्रत्येक नागरिकको कर्तव्य हो।यसलाई मध्यनजर गर्दै नेपालको संविधानको भाग ३ को धारा ४८ मा नागरिकका कर्तव्य अन्तर्गत राज्यलाई अनिवार्य रूपमा कर तिर्नु पर्छ भनी उल्लेख गरिएको छ।

पछिल्लो समय नेपालमा करको पारदर्शिता र स्वच्छता मा प्रश्न उठ्ने गरेको यत्रतत्र सुन्न र देख्न पाइन्छ। एनसेल खरिद बिक्री प्रकरणमा नेपाल सरकारले उठाउनु पर्ने कर निकै विवादित बन्नुले पनि नागरिकमा कर स्वच्छ रूपले संकलन भएको छैन कि भन्ने आश‍ङ्का रहेको छ। नागरिकको दैनिकीमा भार नपर्ने गरी कर संकलन गरेमा बिकास र सुशासन स्वत कायम हुँदै जाने कुरामा दुई मत छैन।

पन्थी कालिका मानवज्ञान स्कुल बुटवलमा कक्षा ११(कानुन) मा अध्ययनरत छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार