शिक्षा प्रणालीमा सुधार : आजको आवश्यकता

Law Hub Nepal चैत्र ३, २०७६
  • सागर गौतम 

कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुकाे अहिले परीक्षा चलिरहेकाे छ भने एसईई दिने विद्यार्थीहरु परीक्षाकाे अन्तिम तयारीमा छन् । बर्षभरि गरेकाे मेहनतलाइ परिक्षण गर्ने कडीकाे रुपमा रहेकाे बार्षिक परीक्षाकाे समयमा जेलमा कैदीलाई कोचेको जस्तो लामो समयसम्म बिद्यालयमै कोचिनुपर्ने असहज परिस्थितिले विद्यार्थी ठूलो सकस भोग्न बाध्य छन्।

परीक्षाको तयारीको नाममा (विद्यार्थी)बालबालिकाको उमेरजन्य रुचि चाहना र आवश्यकताकाे सम्बोधन हुन सकेको छैन। परीक्षाको तयारीको नाममा सार्वजनिक बिदाको दिनमासमेत विद्यालयमा बोलाएर विद्यार्थीलाई निराशिलो तरिकाले घोकाउने प्रवृत्तिले बाल मनोबिज्ञानमा पढाइप्रति नै निराशा जाग्ने सम्भावना बढ्ने देखिन्छ।

थेग्नै नसक्ने पढाइको बोझ र परीक्षाकाे नाममा विद्यालय र घरपरिवारबाट आउने तनाबको कारण कतिपयमा पढाइप्रति नै नकारात्मक भावना बढ्न पुग्ने र डिप्रेसनको सिकार बनेका उदाहरणहरु थुप्रै भेट्न सकिन्छ। विद्यार्थीहरुलाई पढाइको नाममा दिइने मानसिक एवम् शारीरिक यातनाले पार्ने दीर्घकालीन असरको बारेमा सार्थक बहस हुन नसक्नु ठुलो चिन्ताको विषय बनेको छ।

वर्तमान समयमा कक्षा १-१२ लाई माध्यमिक शिक्षा मान्नुको साथै नेपालको संविधान २०७२ को भाग ३ को धारा ३१ मा शिक्षा सम्बन्धि हकको बारेमा व्यवस्था गरिएको छ। विद्यार्थीको मुल्यांकन परीक्षामा ल्याएको अङ्‍कको माध्यमबाट गरिने परिपाटिले गर्दा निजि तथा सरकारी विद्यालयको अङ्‍क भार वृद्धि गर्ने उद्देश्यले विद्यार्थीलाई मानसिक तथा शारीरिक तनाब दिइरहेको देखिन्छ।

विद्यार्थीको सफलता केवल ग्रेडसिटको प्राप्ताङ्कमा होइन विद्यार्थीको सीप, सिर्जना र व्यवहारिक उपलब्धिमा हेरिनु पर्छ भन्ने व्यवहारिक पक्षलाई पनि नजरअन्दाज गरिएको अवस्था छ। यसको लागि विद्यार्थीको रुचि, चाहना र आवश्यकतालाइ प्राथमिकता दिनु आवश्यक हुन्छ।

घरमा पनि अभिभावकहरुले हरेक समय आफ्ना बालबालिकाले परीक्षाको तयारी स्वरूप पढिरहुन् र परीक्षामा उच्च प्राप्ताङ्क ल्याउन् भनेर अनावश्यक दवाव दिईरहेका हुन्छन्। यस्तो दवावले विद्यार्थीको सिर्जनशिलता नै मरेर जाने सम्भावना रहन्छ।

प्रत्येक बर्ष लिइने बार्षिक परीक्षा, कक्षा ८ को स्थानीय तहले संचालन गर्ने परीक्षा र कक्षा १० को एस.इ.इ मा विद्यार्थीको मुल्यांकन प्राप्त गरेको अन्कले गरिने भएकाले विद्यार्थीको मनोभावलाई नकारात्मक परिवर्तन गरेको छ। शिक्षा सुधार्ने नाममा परीक्षालाईमात्र महत्त्व दिइने तर पठनपाठन र मुल्यांकनमा व्यवहारिक पाटोलाइ नसमेट्ने परिपाटीले विद्यार्थीहरु आक्रान्त भएका छन्।

जिन्दगी आफैमा एक परीक्षा हो। यस्ता धेरै परीक्षा आउछन् अनि जान्छन। कुनै तहको परीक्षा त जीवनको एक सानो खुड्किला मात्र हाे भन्ने वास्तविकता विद्यार्थीलाई जानकारी गराउँदै खोजमुलक, सिर्जनशिल, समस्या समाधान एवम् व्यवहारिक प्रश्नहरु निर्माण गरेर परीक्षा सञ्चालन गर्ने वातावरणको सिर्जना गर्नु आजको आवश्यकता देखिन्छ।

आजका बालबालिका भोलिका राष्ट्रका कर्णधार हुन भन्ने मान्यतालाई महत्त्व दिँदै बर्तमान शिक्षा प्रणालीमा परेका नकारात्मक पक्षलाई परिवर्तन गर्नु जरुरी छ।

गाैतम कालिका मानवज्ञान स्कुल बुटवलमा कक्षा ११(कानुन)मा अध्यनरत छन्।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार