नयाँ शासन संचालनमा नयाँ सोचको आवश्यकता

Law Hub Nepal चैत्र २४, २०७६
  • सागर गौतम

पञ्चायती व्यवस्थाको शासनसँगै हामीले नयाँनयाँ खालको शासन प्रणाली अवलम्बन गर्दै आएका छौँ। प्रजातन्त्र, लोकतन्त्र हुँदै अहिले हामीले संसारकै सबैभन्दा उत्तम मानिएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सकेका छौँ।

राम्रो शासनसत्ता स्थापित गर्न सके पनि यो शासनसत्ताको मूल्य र मान्यतालाई जनताको घर दैलोमा पुयाउन भने हाम्रा शासक लगातार असफल हुँदै आइरहेका छन्।

संघीय शासन अनुसार मुलुकमा तीनतीन वटा सरकार स्थपना भई कार्य संचालन भइरहेको छ, तर जनताले सरकार भएको वास्तविक अनुभुति गर्न सकेका छैनन् ।

यो असफलताको मुख्य कारण शासन संचालन गर्ने शासकमा रहेको नैतिकता इमानदारिता र जिम्मेवारी बोधको अभाव नै हो ।यसका साथ साथै निजामती प्रशासनमा देखिएको अनुशासनहीनता अर्को प्रमुख कारण हो।

शासन सत्ता परिवर्तनसँगै सत्ता संचालन गर्ने प्रमुख हिस्साको रुपमा रहेको राजनीतिक र प्रशासनिक नेतृत्वको मानसिकतामा आउन नसकेको परिवर्तन सोच तथा शासकिय सुधारको प्रतिबद्धताको अभावका कारण पनि शासन संचालनमा गम्भीर खालको समस्या आएका छन् ।

शासक र प्रशासकको गलत खालका व्यवहारले जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र पनि असफल हुने त होइन भन्ने प्रश्न सिर्जना हुन थालेको छ। दुई तिहाईको स्थायी सरकार बन्दा पनि शासन सत्ता किन राम्रो भएको छैन ? यो प्रश्नको जबाफ खोजेर समाधानको उपाय पत्ता लगाउन नसकेसम्म देशको उन्नति हुन सक्दैन ।

त्यसैले अब हाम्रा शासकले आफ्ना बानी व्यवहार र चरित्र सुधारेर अघि बढ्नुपर्छ। प्रशासनलाई सिस्टमको आधारमा चलाउने र संघीय शासन प्रणालिको मुल्य र मान्यतालाई जनताको घरदैलोमा सहज रुपमा पुर्याउने कार्यमा सबै राजनितिक नेतृत्व इमानदारीपूर्वक अघि बढ्नैपर्छ।

यसका लागि राजनैतिक नेतृत्वले सार्वजनिक प्रशासनमा हाम्रो भन्दा पनि राम्रो मान्छे हेरेर सोही अनुसार महत्त्वपूर्ण निकायमा जिम्मेवारी दिएर खटाउन सक्नुपर्छ ।

स्थायी सरकारको रुपमा रहेको निजामति प्रशासनले पनि स्वार्थ र अवसरबादबाट माथि उठेर राजनीतिक नेतृत्वलाई सहि दिशामा हिँडाउन उच्च अनुशासनका साथ कार्य क्षेत्रमा खटिनुपर्छ, अन्यथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालि सफल हुन सक्दैन ।

नयाँ शासनको प्रयोग नयाँ सोच तथा नयाँ तरिकाले गर्नु पर्दछ, अन्यथा देशको विकास हुन्छ भन्ने कुरा कोरा कागजमामात्र सीमित हुन्छ ।

(गौतम कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलमा कानुन संकाय अन्तर्गत कक्षा ११ मा अध्ययनरत छन् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार