मधेसमा जन्मिनु गर्वको कुरा हो ।

Law Hub Nepal जेठ ३१, २०७७
  • अनिश कुमार तिवारी ।

नेपालका मधेसी जनताहरुको भाषा, अनुहार र संस्कृति भारतसँग मिलेकाले नै मधेसीहरू पहाडी जिल्लाहरूमा हेपिन्छन् ।

भाषाको प्रयोग बिचार बिनियमको लागि गरिन्छ । मानिसले आफ्ना मनमा लागेका कुरा अरुसमक्ष प्रकट गर्नका लागि भाषाको प्रयोग गर्दछन् । दुई ब्यक्तिहरू आपसमा कुरा गर्न पनि भाषाको प्रयोग गर्दछन् । र जब एउटा मान्छेको कुरा अर्को मान्छेले बुझ्छ, तब भाषाको महत्व समाप्त भएर जान्छ ।

नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक बिशेषता भएको देश हो, जहाँ फरकफरक भेषभूषा, जातजाति र धर्मसंस्कृतिका मानिसहरु बसोबास गर्दछन् । नेपाल भौगोलिक विविधताले भरिएको देश हो र त्यो विविधतामा पनि एकता पाइनु नेपालीहरूको महत्वपूर्ण बिशेषता हो ।

नेपाललाई भौगोलिक हिसाबले तीन भागमा विभाजन गरिएको छ; हिमाल, पहाड र तराई । तराईलाई मधेस पनि भनेर चिनिने गरिन्छ । तराईमा मधेसीहरूको बसोबास छ र उनीहरूको आफ्नै भेषभूषा, संस्कृति छ भने हिमाल र पहाडमा बस्नेहरूको भेषभूषा र सांस्कृतिमा लगभग लगभग एउटै छ । यसरी तराई, पहाड र हिमालमा बोलिने भाषा बिभिन्न भएपनि नेपाली भाषाले हरेक नेपालीलाई जोड्ने काम गरेको छ ।

तराईका मान्छेहरूको आफ्नै भाषा छ, जस्तै : मैथली, बज्जिका, भोजपुरी र हिन्दी । पहाडमा बस्नेहरूको नेपाली, मगर, गुरुङ, नेवारी हो, तर साझा सम्पर्क भाषाको रूपमा नेपाली भाषालाई नै प्रयोग गरिन्छ ।

नेपालमा बस्ने सबै मान्छेहरू खराब छैनन् र सबै मान्छेहरू राम्रो पनि छैनन् र यो खास गरेर मधेस र मधेसीहरू प्रति हेपाहा र घृणाको दृृष्टि राख्नेेेहरू संग सम्बन्धित छ र अरुले अन्यथा नलिदिनु होला ।

नेपालमा मधेसीहरूलाई हेर्ने दृष्टिकोण फरक छ । पहिले पहिले मधेसीहरूलाई घृणाका दृष्टिकोणले हेरिन्थ्यो, तर अहिले हदैसम्म कम भएको छ तर अन्त्य हुनसकेको छैन । जबसम्म मधेसीहरूलाई समान ब्यवहार गरिँदैन तबसम्म विभेदको अन्त्य हुदैन ।

नेपालमा जहिलेपनि सरकारद्वारा मधेसीहरूमाथि दमन र विभेद  गरिएको छ । तर यो कुरा पहाडी मूलका जनताहरूलाई बिश्वास लाग्दैन, किनकी उनीहरू वास्तविकता भन्दा धेरै टाढा छन् । तर पहाडका नेताहरुलाई राम्ररी थाहा छ – मधेसीमाथि अत्याचार हुँदै आएको छ, तर उनीहरूले यो कुरालाई लुकाउन खोज्छन् ।

ल नेताहरु खराब छन् मैले मानेंं, तर पहाडका केही मान्छेहरू पनि सही छैनन्, जो मधेेसीलाई हेप्ने र होच्यायाउने गर्दछन् । उनीहरूको रगतमा नै विभेदको गन्ध आउँछ, किनकी मधेसीहरूलाई भैया भनेर बोलाउँछन् र भैयाको मतलब सोध्दा भारतबाट आएका मान्छेहरूलाई हामीले भैया भनेर बोलाउँछौं भनेर भन्छन् र अब तपाईं नै भन्नुस के त्यो मधेसी भारतीय हो र ? होइन् नि ।

र, पछि नेपालको तराईका जिल्लाबाट हो भनेर भन्दा र नागरिकता देखाएपछि मात्र नेपाली भएको विश्वास गर्छन् र माफी माग्छन्, तर उनीहरूले भैया भन्नुभन्दा पहिला नै सोध्नुपर्थ्यो कि तपाईं कहाँबाट हो भनेर, तर उनीहरूमा सोच्ने दिमागको कमी नै छ जस्तो लाग्छ ।

के मधेसीहरूले नेेपाली हुँ भनेर भन्न सधै नागरिकता बोकेर हिड्नु पर्छ ? हो हाम्रो धर्मसंस्कृति भारतसँग मिल्दछ तर मिल्दैमा कोही भारतिय हुँदैन । यो कुरा चाहिँ बुझ्न आवश्यक छ । हामीले त कहिले भनेनौं कि तिमीहरुको अनुहार चाइनिज, जापानीसंंग मिलेकोले तिमीहरु पनि चाइनिज हौ, जापानी हौ भनेर ।

यहाँका पहाडी समुदायका भेषभूषा र संस्कृति भारतको सिक्किम र दार्जिलिङका भारतीयहरूसंंग मिलेकोले तिमीहरू पनि भारतीय हौ भनेर कहिले भनेनौंं, किनकी हामीलाई थाहा छ कि, विदेशीसँग अनुहार र संस्कृति मिल्दैमा कोही विदेशी हुँदैन । अनि हामीलाई थाहा छ कि, नेपालीलाई भारतिय भनेर आरोप लगाउँदा कति मन दुख्दछ । पहाडीहरूले पनि बुझ्नु पर्यो कि, भुगोलको अनुसार मान्छेहरूको अनुहार फरक हुन्छ ।

पहाडका धेरै विद्वानहरूले  तर्क दिन्छन् कि, मधेशीहरूलाई भेदभाव गरिएको छैन, तर उहाँहरूलाई के थाहा, उनीहरूले भेदभाव छैन भनेर त सजिलै भनिदिए तर भेदभाव छ/छैन त्यो त हामी जस्ता तराईका मान्छेहरू जो विभिन्न कारणले पहाडमा आएर बसेका छन् उनीहरूलाई थाहा छ वभेद कहाँ कहाँ छ, कसरी हुन्छ र कस्तो महसुस हुन्छ ।

बस चढ्दा विभेद, बजार घुम्दा वपभेद र आफ्नै मातृभाषामा कुरा गर्दा सुन्नेहरूले भारतिय हो भनेर भन्दा कति दुख लाग्छ त्यो पहाडी मूलका मानिसहरू कल्पना पनि गर्न सक्दैनन् ।

तराईमा पहाडका मान्छेहरू जाँदा कुनैपनि मधेसीले पहाडीहरूलाई चाइनिज भनेर गाली गर्दैनन् र इज्जत र सम्मान गर्छन् तर त्यही मधेसीहरूले पहाडमा जाँदा धोती र भैया भनेर हेपिन्छने । किन के मधेसीहरू नेपालको बासिन्दा होइन ? यदि होइनन् भने नागरिकता खारेज गरेर देश निकाला गरिदिए भैहाल्यो नि !

मधेसीहरू पनि यो देशको जनता हुन् र उनीहरूको अधिकार पहाडीहरू जति नै छ र उनीहरूको अधिकारको ईज्जत पहाडका जनताहरुले पनि गरिदिनु पर्यो नि ।

मधेसी र पहाडीमा फरक के छ थाहा छ ? मधेसीसंग नेपाली नागरिकलाई पहिचान गर्ने क्षमता हुन्छ, जुन अधिकांश पहाडीहरूमा हुँदैन । मधेसी जनताले पहाडबाट आएको जनता नेपाली नै हुन् भनेर चिन्न सक्छन् तर पहाडीहरूले चिन्न नसकेको हुन् कि, जानेर पनि अनजान बनेका हुन् ।

पहाडमा कुनै मधेसी मूलका मानिसहरु गयो भने त्यहाँका मान्छेहरूले भारतिय हो भनेर सोच्छन् । अच्चम लाग्छ, एउटा नेपालीले अर्को नेपालीलाई चिन्न नसकेको र उल्टै भारतिय हो भनेर ठान्छन् जुन सही होइन ।

यहाँ उनीहरूको हेर्न दृष्टिकोण धेरै नै कमजोर छ जस्तो लाग्छ, किनकी यदि सिक्किम दार्जिलिङबाट कुनै भारतिय आयो भने नेपाली भनेर आदरसहित बोल्छन् । आफ्नो देशको मधेसीहरूलाई आदर नगर्नेले विदेशीको आदर बडा आनन्दले गर्छन् यो चाहिँ हेरेर अच्चम लाग्छ ।

यहाँ के देखियो भने पहाडीहरूको सोचाइमा के छ कि, पहाडी मूलका जनताहरु मात्रै नेपाली हुन् चाहे त्यो नेपालको होस् या नहोस् । त्यसैले यस्ता सोच कहिले सम्म रहला ? धेरै मान्छेहरू र सरकारी निकायका कर्मचारीले मधेसीलाई गाली गर्छन् र दोष लगाउँछन कि मधेशमा बस्ने ५०/६० लाख जनसंख्या भारतिय हुन् जो नेपाली नागरिकता किनेर नेपाल आएका छन् जुन सरासर मधेसी जनतालाई बदनाम गराउन खोजिएको मात्र हो ।

नेपाल सरकारले नेपालमा बस्दै आएका तर नागरिकता नभएको नेपालीलाई नागरिकता बाँडेको हो । यदि कुनै भारतिले मौकाको फाइदा उठाएर नेपालको नागरिकता लिएपनि त्यो दोष नेपाल सरकारकै हो, कुनै मधेसीको होइन, नकी त्यो नागरिकता दिने सिडिओ कुनै मधेसी थिएन, पहाडी थियो ।

र, एउटा कुरा के भन्न चाहन्छु कि भारतियहरू नेपालको नागरिकता लिएर नेपालमा बस्न इच्छुक नै छैनन्, किनकी भारतमा सरकारले धेरै सुखसुविधा दिएको छ । त्यहाँका सबै साधारण जनताहरुले कोटा मार्फत १० रूपियाँ लिटर मट्टितेल, १० रूपैयाँ प्रतिकिलो चामल, १५ रूपैयाँ प्रतिकिलो दाल र अन्य बस्तुहरु पाउँछन्, जुन नेपालमा १० गुणा महंगो पाइन्छ ।

त्यहाँ एउटा साधारण शिक्षक र कर्मचारीहरूले नेपालमा उच्च पदाधिकारीहरू पाउने तलब भन्दा बढी नै तलब पाउँछन् ।त्यसैले भारतका मान्छेहरू नेपाली नागरिकता किनेर त्यहाँँ पाइरहेको अनेकौं सुखसुविधा छाडेर दुख भोग्न नेपाल बस्न चाहँदैनन् ।

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” अर्थात् जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ । जसरी हामीलाई हाम्रो आफ्नै देश प्यारो लाग्छ, उनीहरूलाई पनि आफ्नो देश उत्तिकै प्यारो लाग्छ होला ।

भन्छन्, मधेसीहरूलाई विभेद कहाँ भएको छ ? मधेसीहरूलाई विभेद ठाउँठाउँ र समयसमयमा भएको छ । चाहे त्यो मधेसीहरू पहाडको जिल्लामा जाँदा होस्, या बितेको समय कालमा जस्तैै मधेस आन्दोलन २०६२/६३ मा मधेसीहरूले आफ्नो हकअधिकारको लागि आन्दोलन गर्दा गोली हानी हत्या गरियो र त्यस बेला मधेसी जनताका माग र हकअधिकार सुनिश्चित गर्न निम्ति मधेसी दल र तत्कालीन गिरजाप्रसाद कोईराला नेतृत्वको सरकारबीच १२ बुँदे सम्झौता भयो तर त्यो समझौता कागजमै सिमित राखियो र संबिधान बनाउँदा संबिधानमा समाबेश गरिएन र सरकारले मधेशीसंग धोका गर्यो ।

यदि त्यो सम्झौतामा लेखिएको बुदाहरु नाजायज र देशको हितमा थिएन भने सरकारले किन सम्झौता गर्यो ? मधेसीहरूलाई धोका दिइयो । त्यसतै २०७२ सालमा दोस्रो ठूलो मधेश आन्दोलन हुँदा मधेसीहरू माथि बिभेद गरियो ।

कुनैपनि आन्दोलनलाई नियन्त्रणमा लिन एउटा निश्चित प्रक्रिया हुन्छ जस्तै पहिला पानीको फुहारा दिने, त्यसबाट मानेनन् भने लाठीचार्ज, त्यसबाट पनि भएन् भने रबरको गोली हान्ने र यो सबैकुरा बाट आन्दोलनकारी नमाने बुलेट ढाडभन्दा तल हान्ने तर मधेसमा आन्दोलन हुँदा कुनैपनि नियम सरकारले पालना गरेन ।

आन्दोलन हुँदा पहिला लाठीचार्ज र त्यसबाट नमाने सिधै टाउको छातीमा गोली हानिएको थियो र ढाडभन्दा तल गोलि लागेर घाइते हुनेहरुको संख्याभन्दा टाउको छातीमा गोली लागेर मर्नेहरूको संख्या बढी थियो । तर त्यसतै आन्दोलन काठमाडौंमा हुदा गर्मीमा पानीको फुहारा दिइन्छ किन? के यो सरकारले गरेको बिभेद होइन भने के हो ?

नेपालको सरकारी कार्यालय देखि लिएर निजी क्षेत्रहरुमा पनि मधेसीहरूको सहभागिता एकदमै कम छ । नेपालको उच्चपदमा मधेसी जनताहरुलाई राखिएको नै छैन । किन के मधेसका जनताहरु त्यसका लायक छैनन्? आखिर कहिले सम्म मधेसीहरूलाई दबाइएर राख्ने हो ? एक न एकदिन मधेसी जनताहरुले आफ्नो हकअधिकार लिएरै छाड्ने छन् ।

अहिले एउटा ठूलो बिबादको बिषय बनेको छ सासंद सरिता गिरीले सांसद भवनमा हिन्दी बोलेको कुरा र त्यो कुनै बिबादको कुरा नै होइन। धेरै पहाडका जनताहरुले नेपाली किन बोलिनन् भनेर फेसबुकमा स्टाटस लेखेर गाली गरिरहेका छन् जुन एकदमै नराम्रो हो ।

सासंद सरिता गिरीले बोलेको कुराले नेपाली जनताको भावनामा ठेस पुगेको हुनसक्छ र सरिता गिरीको भनाइअनुसार उनले लिम्पियाधुरासहितको नयाँ नक्सा बिना प्रमाणको आधारमा पारित गर्न खोजिएकोले लिम्पियाधुरासहितको नयाँ नक्सासहितको निशान छाप संसोधन बिधेयक पेश गरेकी छिन् , उनले गरेको यो काम राष्ट्रिय अखण्डतामा खल्ल पार्ने काम गरेकोले यो कामको बिरोध गर्नु ठिक हो तर हिन्दी किन बोलिन भनेर बिरोध गर्नु उचित छैन, किनकी नेपाल एउटा बहुभाषिक बहुसाँस्कृतिक देश हो जहाँ सयभन्दा बढी किसिमको भाषा छन् । तर सरकारले बिना प्रमाणको नक्सा पारित गर्न खोजेकोले खारेजीको प्रस्ताव सासंदमा पेश गरेकी थिइन तर आज सरकारले नाक्सा पारित गर्ने समया सबुत प्रमाण जुटाउन नौ जनाको समिति गठन गरेर साबित गरिदियो कि सरिता गिरीले भनेको कुरा सही नै थियो ।

सरिता गिरीले बोल्दा घरमा गएर ताला तोड्ने र प्रदर्शन गर्ने भेडाहरु मन्त्रीहरू गरेको भ्रष्टाचार र एमसीसी पास गर्नुपर्छ भनेर भन्ने मन्त्री र सासंदहरूको घर अगाडि किन गएर प्रदर्शन र गेटको ताला तोड्दैनन् । के सरिता गिरी मधेसी नेता भएरै यस्तो गरिएको हो ? यदि होइन र हिम्मत छ भने त्यसता मन्त्री र सासंदहरूको घर अगाडि गर्दा हुन्छ ।

पहाडका नेताहरुले भारतले नेपालको एक इन्च भूमि पनि मिचेको छैन भनेर भन्दा हाहा हीही गर्न बाहेक केही गर्न नसक्ने जनताहरु सरिता गिरीको घरमा गएर दादागिरी देेेखाउने प्रदर्शन गर्न बाहेक अरू केही गर्न सक्दैनन् । र यति मात्र नभई प्रदर्शनकारीहरूले ताला तोड्दा सरिता गिरीले प्रहरीलाई फोन गर्दा प्रहरीहरू पनि आएनन् । प्रहरी किन आएनन्? यदि त्यही कुनै पहाडी सासंद भएको भए प्रहरी नआउँदा त्यस्ता प्रहरीको जागिर जान्थ्यो ।

नेपालको राष्ट्रिय जनगणना तथ्याङ्क २०६८ अनुसार १२३ वटा मातृभाषाहरू बोलिन्छ ।

संबिधानको प्रस्तावनामा नै नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक, तथा भौगोलिक विविधतायुक्त बिशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रबर्धन गर्दै बर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक बिभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै यो संबिधान जारी गरिएको छ भनेर लेखिएको छ । जसबाट भाषाको आधारमा र क्षेत्रको आधारमा जुन विभेद भइरहेको छ, त्यो गलत छ ।

त्यस्तै नेपालको संविधानको धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषाको मान्यता पाएको छ । र जो-जो संसद भवनमा नेपाली बोल्नुपर्छ र हिन्दी बोल्न पाइंदैन भनेर गाली गर्दै बिरोध गर्दैछन् उनीहरूले हावाको तालमा बोल्न स्वभाविकै हो । प्रतिनिधिसभा नियमावलीमाको दफा २३८ को उपदफा १ मा प्रतिनिधिसभा र यसका समितिको कामकारबाही नेपाली भाषामा हुनेछ, तर सासंदले आफ्नो मातृभाषामा पनि बोल्न सक्छन् र त्यस्ता सासंदले आफ्ना मातृभाषामा बोलेको अवस्थामा त्यसलाई अभिलेख राख्ने ब्यवस्था मिलाउन सकिने छ भनेर ब्यवस्था गरेको छ ।

र, सरिता गिरीको मातृभाषा हिन्दी हो र यही नियमभित्र रहेर सासंद सरिता गिरीले हिन्दी बोलेकी हुन् । नेपालको राष्ट्रिय जनगणना अनुसार नेपालमा बोलिने मातृभाषा मध्ये हिन्दी पनि एक हो, त्यसैले हिन्दी सासंदभवनमा बोल्न पाइंदैन भनेर चिच्याउनु एकदम गलत हो ।

नेपालको राष्ट्रियगानलाई नै सम्झिदा पुग्छ बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल । त्यस्तै नेपालमा सासंद हुन नेपालीभाषा बोल्न आउनैपर्छ भनेर संबिधानको धारा ८७ मा सासंद हुन आवश्यक योग्यता अन्तर्गत कही कतै उल्लेख छैन । र संबिधानले धारा ३२ मा भाषा र संस्कृतिको अधिकार दिएको छ जसमा हरेक मान्छेले आफ्नो मातृभाषामा बोल्न पाउँछ भनेर उल्लेख छ ।

अब सरिता गिरीले या अरूले नेपाली बाहेक अरू भाषा बोल्न पाइने कि नपाइने? मैले सरिता गिरीको समर्थन गरेको होइन, तर सहीलाई सही भन्न मात्र खोजेको हो । सरिता गिरीले केही गलत बोलेकी होलिन् र अहिले पार्टीको कारबाहीमा परेकी पनि छिन् तर भाषासम्बन्धि कुरामा कतै कुनै बिबाद देख्दिन ।

अहिले नेपालको सरकारी कामकाजको भाषा नेपाली भाषा भएकोले गर्दा नै सबै मान्छे नेपाली बोल्न सिकिरहेका छन्, किनकि  रनेपाली बोल्न सिकेनन् भने जागिर पाउँदैनन् ।

तपाईं नै सोच्नु कि, यदि आजैदेखि नेपाली भाषालाई हटाएर भोजपुरी, मैथिली वा तामाङ्, मगर वा गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाइयो भने सबै नेपाली जनताहरूले भोजपुरी मैथिली तमाङ् मगर गुरुङ भाषा बोल्न सिक्छन् र यि भाषा बोल्नेहरुको संख्या बढेर आउँछ ।

भन्छन् कि, नेपाली भाषालाई कामकाजको भाषा बनाउनु पनि मधेसी, आदिवासी जनजाति र तमाङ् मगर गुरुङहरूलाई सरकारी जागिरमा पछि पार्न कै लागि थियो र नेपाली भाषा खस आर्यहरूको भाषा हो र उनीहरूले नेपाली बोल्न सिक्नुपर्दैन त्यसैले उनीहरू हरेक सरकारी निकायमा बढी मात्रामा जागिरे छन् । तर मधेसी र पहाडमा पिछडिएको वर्गहरूले नेपाली बोल्न सिक्नुपर्ने हुन्छ र अन्तरबार्तामा पुगेपछि राम्ररी र स्पष्ट बोल्न नसकेकोले जागिर पाउँदैनन् भनेर नियुक्ति गरिँदैन ।

के उनीहरूले अरूको भाषा सिकेर त्यति बोल्नु पनि कम हो र? यदि कम्पिटिसनको भाषा नै राख्नु छ भने नेपाली छोडेर अरू कुनै भाषा राखेर हेरम न कि कति खस आर्यहरू जागिर लायक हुन्छन् र कति मधेसी र पहाडमा पिछडिएको जातीहरु ।

हामीहरू जसरी नेपाली सिक्यौ त्यसरी नै अरू भाषा पनि सिक्छौँँ, तर खस आर्यहरूलाई गार्हो हुन्छ । त्यसैले नेपाली बोल्न आएन भन हेप्नु एकदमै गलत हो । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा नेपाली मातृभाषीहरूको जनसंख्या ४४.६३ रहेको छ जसबाट यो कुरा प्रष्ट हुन्छ कि नेपालमा नेपाली बोल्नेहरूको संख्याभन्दा नेपाली नबोल्नेहरूको संख्या ५५.३७ ले बढी छ ।

नेपालको जम्मा जनसंख्याको ५१.५ प्रतिशत मधेसीहरूको जनसंख्या छ र त्यो मधेसीहरूको मातृभाषा नेपाली होइन र यसबाट पनि सिधै प्रमाणित हुन्छ कि नेपाली बोल्ने हरूको भन्दा नेपाली नबोल्ने हरूको संख्या बढी छ । त्यसैले कुनै मधेसीलाई नेपाली बोल्न नआउँदैमा भारतिय सम्झिनु कतिको उचित छ आफै सोच्नु त । तर पनि भाषालाई लिएर मधेसीलाई हेप्ने प्रवृतिबाट कम भएको छैन ।

संविधानले जति अधिकार खस आर्यहरूलाई दिएको छ त्यति नै अधिकार मधेसी र आदिवासी जनजाति र तमाङ् मगर गुरुङहरूलाई पनि दिएको छ, तर पनि सरकारले यिनीहरुको अधिकार प्रति चासो दिएको छैन ।

नेपालको संविधानको कुरा गर्ने हो भने हरेक संबिधानको धारा ३१ को उपधारा ५ ले नेपालभित्र बस्ने नेपालीहरू आफ्नो मातृभाषामा शिक्षा प्राप्त गर्ने अधिकार छ र धारा ४७ मा प्रष्टरुपमा लेखिएको छ कि, मौलिक हकको संबिधान जारी भएको तीनबर्ष भित्र कार्यावयन हुनेछ, तर संबिधान जारी भएको ५ साल बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन र कही कतै हाम्रो मातृभाषामा पढाइ सुरूको भएको छैन ।

त्यस्तै धारा १८ मा समानताको हक अन्तर्गत कुनैपनि नेपाली नागरिकलाई धर्म संस्कृति जातजाति र क्षेत्रको आधारमा भेदभाव गरिने छैन तर पनि मधेसीहरूलाई गरिने बिभेद कम भएको छैन ।

त्यस्तै पहाडका दलितहरू पनि मधेसी जस्तै पिडीत छन् । अस्तीको रूकुम घट्नालाई हेरम् त्यो पनि जातीय बिभेद नै हो र घट्नाको दोषी को हो भनेर अहिलेसम्म पत्ता लागेको छैन । त्यो हादसा थियो कि हत्या यति पनि थाहा लगाउन सकेन प्रहरीले ।जसबाट लाग्छ कि मर्ने केटा तल्लो जातको भएकोले नै ढिलासुस्ती भइरहेको छ । अनि भन्छन् बिभेद छैन रे । के यो बिभेद होइन भने के हो ?

अहिलेको संविधानले प्रदेश सरकारलाई प्रदेशको कामकाजको भाषा छनौट गर्ने अधिकार दिएको छ र त्यही अधिकारको प्रयोग गरेर प्रदेश नं २ ले यहाँ सबैजनतालाई सजिलो हुने भाषालाई संबिधान भित्र रहेर प्रदेशको कामकाजको भाषा बनाउने कुरा गर्दा प्रदेश नं २ मा बस्ने जनताहरुजनताहरुलाई कुनै आपत्ति छैन तर केन्द्र सरकार र प्रदेश नं २ बाहेक हरेक प्रदेश सरकार लगायत त्यहाँका मान्छेहरूलाई बढी टाउको दुखाइ हुन्छ ।

प्रदेश नं २ का नेताहरु भारतको इसारामा चल्छन् भनेर पनि आरोप लगाएर त्यहाँका नेताहरु र जनताहरुलाई बदनाम समयसमयमा गराइन्छ । तर वास्तवमा भारतको इसारामा चल्ने नेताहरु पहाडका हुन कि मधेशका त्यो त रअ को प्रमुखले नै प्रष्ट भनिदिएका छन् । र राष्ट्रघाति एमसीसी चाहिन्छ भनेर सासंदमा बेन्च ठप्पठपाउने कुनै मधेसका नेता होइन र एमसीसी पास गर्नुपर्छ भनेर मधेसका कुनै नेताहरुले भनेका छैनन् तर पनि मधेसका नेताहरु बिदेशको ईसारामा चल्छन भनेर लगाएको आरोप एकदमै तर्कबिहीन कुरा हो ।

एमसीसी पास गर्नेहरु अमेरिकाका एजेन्ट हुन् भने त्यसभित्र पर्ने नेताहरु पहाडी समुदायका नै हुन् । त्यसैले मधेसीलाई बदनाम गराएर कुनै फाइदा हुदैन बरू एमसीसी पास गर्नुपर्छ भनेर भन्ने पहाडी नेताहरुलाई खबरदारी गराए राम्रो हुन्छ । र एउटा कुरा चाहिँ मधेशीहरूको राष्ट्रियता माथि शंका गर्ने बिमारी नै नेपालमा चलेको छ ।

मान्छेहरुले कुरा यस्तो गर्छन् कि लाग्छ नेपाल उनीहरूको पैतृक सम्पत्ति नै हो, तर नेपाल देश हाम्रो पनि हो र मधेसीहरूको राष्ट्रियतामाथि शंका नगरे नै राम्रो हुन्छ । आजसम्म भएको घातक सन्धि सम्झौता कोसी देखि काली सन्धि गर्ने कोही मधेसी थिएन । त्यसैले मधेसीहरू माथि शंका गर्नुभन्दा पहिले आफ्नो राष्ट्रियता हेर्दा प्रष्ट हुन्छ ।

मधेसीहरूले समयका कुनैपनि कालखण्डमा नेपालसंग घात गरेका रिकर्ड छैैैन । मधेसीहरूले देशलाई धोका दिनै सक्दैनन् बरू सरकारले आफ्नो नागरिकजस्तो ब्यवहार नगरे पनि गोली र लाठी खाएर नेपालमा नै बस्न चाहन्छन् यो भन्दा ठूलो देशभक्ति के हुन सक्छ जहाँ आफ्नै सरकारले बिदेशी सरह ब्यवहार गर्दछ तर हामी मधेसी खुसी खुसी सहेर नेपाल मै बस्न र मर्न चाहन्छौं ।

आन्दोलन हुँदा जब प्रहरीले गोली चलाउँथ्यो, तब मधेसीहरू आफ्नै भूमिमा खुसी खुसी मरे तर सिमापारी भारत गएर ज्यान बचाउन खोजेनन । मधेसीहरूलाई भारतिय भनेर हेप्नेहरू र मधेसीको राष्ट्रियता माथि शंका गर्नेहरू एकपटक सोचौं त मधेशीहरूलाई राष्ट्रियता आउँछ कि आउँदैन ।

यता १०० भन्दा बढी मान्छेहरू ०७२ सालको आन्दोलनमा मारिए र हजारौं घाइते भए र प्रहरीले घरभित्र पसेर लाठीचार्ज गर्दा पनि कुनै नेपाली मिडिया पत्रकारहरूले मधेसीहरूको अवस्थाको बारे टिभीमा केही देखाएनन् तर पनि मधेसी जनताले नेपाली मिडियालाई सम्मान र माया नै गर्छ ।

नेपाल सरकारले मानवअधिकार उल्लंघन धेरै भएको थियो तर पनि मानवअधिकार आयोगले केही गरेन तर पनि मानवअधिकारको बिरोध मधेसी जनताले गरेनन् र मधेसका जनताहरु र नेेेताहरू सधै आवश्यक परेको बेला नेपाल सरकारलाई सहयोग गर्दै आएका छौँ ।

२०७२ साल असोज ३ गतेे जारी भएको संंबिधान मधेसीहरूको माग नसमेटिए पनि देशलाई संविधानको आवश्यकता भएकोले मधेसीहरूले आफ्नो माग संबिधानमा सुनिश्चित नभए पनि सबिधान पारित गर्न हस्ताक्षर गरेकै हुन् किनकी मधेसीहरूलाई पनि देशको चिन्ता छ ।

अहिले राष्ट्रिय अखण्डता र स्वाधीनताको कुरामा नेपालको नयाँ नक्सासहितको निशान छाप संसोधनका लागि पनि समर्थन गरेकै हुन किनकी मधेसी मधेसीहरूलाई पनि देशको माया छ । र पहाडमा आपत आउँदा सहयोग पठाएर मद्दत पनि गरेेेकै छन् तर पनि मधेसीलाई धोती र भैया भनेर हेप्ने गरिन्छ तर पनि मधेसीहरूले कहिल्यै पहाडीहरूलाई घृणा गरेनन् ।

मधेसीहरूले कति सहने हो र कहिलेसम्म विभेद छैन भनेर विभेद गरिराख्ने हो ? देशको माया के हुन्छ त्यो त मधेसी जनताहरुलाई राम्ररी थाहा छ । जब भारतका एसएसबीहरूले रातारात जङ्गे पिल्लर सारेर नेपालको भूमि भारतमा मिलाउँछन्, तर नेपाल सरकारलाई कुनै मतलब नै हुँदैन र सिमा सुरक्षाका लागि खटाइएको शस्त्र प्रहरी बलले पनि केही गर्दैन तब मधेसीहरूले नै त्यो रातारातमा सारिएको पिल्लर दिनमै आफ्नो ज्यानको चिन्ता नगरी मातृभूमि नेपालको एक इन्च भूमि पनि छाड्दैनौ भन्ने सोचका साथ भारतीय एसएसबीको पिटाइ गाली खाएर पनि त्यो पिल्लर भत्काएर भारतिय एसएसबीले मिचेको भूमि नेपालमा फिर्ता ल्याउँछन् ।

मधेसीहरू बिना बर्दीका नेपाली सेना हुन्, जसले २४ सै घण्टा सिमाको रक्षा गर्छन् र सरकार र पहाडमा बस्ने केही जनताहरु मधेसी जनतालाई अत्मान गर्ने र हेपे पनि मधेसी जनताहरु त्यस्तो ब्यवहारलाई नजरअन्दाज गरी नेपाल र नेपाली जनताको हितको लागि उभिएको थिए र अहिले पनि उभेका छन् र भबिष्यमा पनि उभिरहने छन् ।

यसर्थ, मधेसीहरूलाई राष्ट्रियता आउँदैन भनेर भन्ने काम र मधेसीहरूको राष्ट्रियता माथि शंका गर्ने सोचको अन्त्य होस् । पहाडमा बस्ने यस्ता सोच राख्नेे र मधेसीहरूलाई हेेेेप्ने मानसिकता बदल्न आवश्यक छ । हामी पनि नेपालकै हो र हामीलाई पनि नेपालीलाई गरिने जस्तो ब्यवहार गरिदिनु पर्यो ।

हिमाल, पहाड, तराई
– कोही छैन पराई ।

यो नारा शब्दमा सिमित नराखेर व्यवहारमा पनि उतारौँ । र, नयाँ नेपाल बनाऔँ, जहाँ नेपाली-नेपालीहरूबीच कुनै भेदभाव नहोस् । जय नेपाल ।

तिवारी हाल पृथ्वीनारायण क्याम्पस पोखरामा बिएएलएलबि दोस्रो सेमेस्टरमा अध्ययनरत छन् ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न यहाँ क्लिक गरी हाम्रो पेेज लाइक गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार