नेपालमा यौन व्यवसायलाई यसकारण वैधानिकता दिनु पर्छ !

Law Hub Nepal असार १०, २०७७
  • बिष्णु रसाइली ।

सामान्यतया वेश्यावृत्ति भन्ने बित्तिकै हाम्रो दिमागमा कति नराम्रो शब्द , फोहोरी कार्य भनि आउँछ । तर वेश्यावृत्ति भनेको व्यवसाय वा भुक्तानीको सट्टा यौन गतिबिधिमा संलग्नताको अभ्यास हो ।

यसलाई कहिलेकाहीं यौन सेवाहरु, व्यावसायिक सेक्स वा बोलचालको रुपमा वेश्यावृत्ति भनि परिभाषा गरिन्छ । कमन ल प्रणाली लागु हुने देशहरुमा विश्वको सबैभन्दा पुरानो पेशाको रुपमा यो पेसालाई चिनिन्छ ।

यस क्षेत्रमा काम गर्ने व्यक्तिलाई वेश्या भनिन्छ । वेश्या भन्नाले ती ब्यक्तिहरु हुन्, जुन व्यावसायिक यौनकर्मीको रुपमा लागेका हुन्छन् । तसर्थ, यो एउटा ब्यबसाय हो भन्न मिल्छ ।

यसलाई सिधै अवैधानिक र अप्रासंगिक व्यवहार, वा कार्य हो, भन्नू आफैंमा गलत बुझाई हुन आउँछ । अनुसन्धानकर्ताहरु वेश्यावृत्ति लाई वैधानिकता दिनु पर्दछ, यो एउटा व्यवसाय हो, बास्तबममै बिश्वको सबैभन्दा पुरानो पेशा यौन पेशा हो भनी पुष्टि गर्दछन् । जुन अरुहरु यसलाई आज सम्म पनि नकारात्मक तर्क गर्दछन् । तसर्थ सबै अनुसन्धानकर्ताहरु यौन पेशालाई बैधानिकता दिनु पर्छ भन्नेमा सहमत छ्न् ।

वेश्यावृत्ति (यौन व्यवसाय) सम्बन्धि अबधारणा ई.पु. २१ औं शताब्दीदेखि नै पुर्बीय दर्शनबाट प्रचलनमा आएको पाईन्छ । सम्भवतः यो धार्मिक प्रथाको रुपमा थियो । यस समयमा ग्रिक, रोम, चीन र अन्य दर्जनौं देशहरुले पनि अभ्यास गर्दथे ।

जब हामी ई.स.मा प्रवेश गर्यौं, यसलाई बिस्तारै मान्यता र सकारात्मकतर्फ सोच्दै जान थालेका छौं । हामी परिवर्तित समाजको कल्पना गर्दै गर्दा यसलाई आधुनिक समाजको हिस्साको रुपमा बुझ्नु पर्छ ।

हो हामी प्रष्ट बुझ्न सक्दछौ कि, समाजको मान्यता र समयको माग आजको प्रमुख आवश्यता हो । यस मान्यतालाई आजको हाम्रो समाजले पनि सकारात्मक दृष्टिबाट नियाल्न अत्यन्तै आवश्यता छ ।

कानुनी वेश्यावृत्तिलाई समर्थन गर्दै धेरै मानिसहरु भन्दछन् कि, वेश्यावृत्ति वयस्कहरु बिच हुने सहमतियुक्त क्रियाकलाप हो, तसर्थ यसलाई सरकारले अभ्यास निषेध गर्नु हुँदैन ।

१९९९ मा स्विडेनले यौन सम्बन्धमा गैरकानुनी कार्यलाई निषेध गर्यो । तर त्यहाँ यौन व्यवसायलाई  होइन, यौन व्यवसाय गर्दा आउने सम्भावित अपराधहरुलाई निषेध गरेको पाईन्छ । तथापि यहाँबाट पनि यौन पेशा लाई बढावा दिएको पाईन्छ ।

यहि पेशा र पद्धति पछि आएर क्यानडा (२०१४), फ्रान्स (२०१६), र आइसल्याण्ड (२०१७) ले पनि यसै मोडेल अपनाएको पाईन्छ ।

यति मात्रै होइन कि नेपालमा सदियौं देखि चल्दै आएका ग्रन्थहरु अध्ययन गर्ने हो भने कैटिल्यको अर्थशास्त्रमा यौन पेशा को बारेमा खुलेर बर्णन गरिएको पाइन्छ । यस्तै अन्य प्रकाशन छापाखाना लगाएतका माध्यमबाट भने पछिल्लो समयमा पनि यौन व्यवस्थाबारे कुरा गरिएको पाईन्छ ।

नेपालको परिप्रेक्ष्यमामा भने अझैं विभिन्न प्रवृत्ति र परिबन्ध अनि अरुले के भन्लान् भन्ने सोचाइले गर्दा खुलेर कुरा गर्न भने सकिरहेको पाइँदैन ।

नेपालमा यौन व्यवसायलाई वैधानिकता किन दिने ? 

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले यौन पेशालाई मर्यादित काम भनेर परिभाषित गरेको छ । नेपालमा यौन व्यवसाय बारे खुलेर कुरा गरिँदैन र कानुन पनि मौन नै देखिन्छ ।

कतिपय बहस र मुद्दा हरुमा राय राख्दै गर्दा अधिवक्ता सुजन पन्त पनि यो पेशामा मान्छेले चाहेकै आधारमा उसको इच्छा अनुसार स्वतस्फूर्त रुपमा नै गर्न दिनु पर्छ, यो ब्यबसायलाई बैधानिकता दिन सकिन्छ भन्नू हुन्छ ।

अधिवक्ता पन्तका अनुसार अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओे) ले यौन पेशालाई मर्यादित पेशा भनेर परिभाषित गरको छ । नेपाल पनि आईएलओको सदस्य हो । यस हिसाबले पनि यौन पेशा वैधानिक पेशा हो भनेर भन्न मिल्छ । तर, नेपालमा यौनकर्मीको मुद्दा न राज्यको चासोको विषय बनेको छ, न यो विषयमा खुलेरै छलफल हुन्छ ।

यस्तै नेपालको मुलुकी फौजदारी संहिता को दफा -२१३ ले जबरर्जस्ती यौन कार्यमा लगाउनु गैरकानुनी भनी परिभाषा गरेको छ, अपहरण वा शारिरिक बन्धक लिएर गरेको कार्य मा मात्रै हुने सजायको बारेमा उल्लेख गरेको छ ।

कुनैपनि ब्यक्तिले स्वत स्फुर्त रुपमा गरिने यौन व्यबहार र ब्यबसाय अबैधानिक हो भनी स्पष्ट भने बोलेको पाईंदैन । तसर्थ यो पेशा अबैधानिक भनी बुझ्न मिल्दैन ।

उमेर पुगेका कुनै दुई सक्षम व्यक्तिहरुमा सहमत भएर गरेको कुनै कार्यमा राज्यले नियन्त्रण गर्न मिल्दैन, त्यसकारण यौन पेशालाई अबैध पेशा भन्न पनि मिल्दैन ।

यदि वैधानिकता दिई निश्चित ठाँउ तोकियो, व्यवसाय गर्न चाहने जुन सुकै उम्मेर पुगेका सक्षम व्यक्तिहरुले प्रमाणपत्र लिन चाहेको ब्यहोरा जनाई निश्चित नियम मा आधारित रहेर प्रदान गरियो भने धेरै प्रकारका हिंसा रोक्न सकिन्छ । लैङ्गिक विभेद जस्ता प्रसङ्ग पनि पक्कै कमै आउने छ्न् ।

मुलुकी फौजदारी संहिताले इच्छामा गरिएको कार्य वा सहमतिमा गरिएको कुनै पनि कार्य जुन मन्जुरी लिई गरेको छ भने त्यो अवैधानिक नहुने भनी दफा : १५ मा स्पष्ट ब्यबस्था गरेको छ ।
यस दफा मा ज्यान लिने अंगभङ्ग गर्ने नियतले वा यस्तो कार्य हुन सक्छ भन्ने थाहा पाउँदा पाउँदै पनि गरेको कार्यबाहेक कसैले १८ बर्ष माथिको कुनै ब्यक्तिको मन्जुरी लिई गरेको कुनै कामबाट त्यस्तो मन्जुरी लिने ब्यक्तिलाई कुनै क्षती पुग्न गएमा पनि सो कार्य कसुर मानिने छैन भनी स्पष्ट ब्यबस्था गरेको छ ।

यसै परिच्छेदको दफा १९ मा मन्जुर लिए पनि सजाय हुने कार्य को बारेमा स्पष्ट ब्यबस्था गरेको छ । यस दफाले १५,१६,१७ का जुनसुकै कुराको मन्जुरी भएमा गरेको भए पनि कसुर मानिने भनिएको छ ।

तर, कुनै अङ्गभङ्ग, ज्यान लिने उदेश्यले गरेको मन्जुरीलाई बाहेक अन्य सहमतिलाई समेटिएको देखिंदैन । तसर्थ यो एउटा सहमतिको कार्य हो । जुन अवैधानिक छ भन्नू गलत छ ।

कसैले प्रश्न गर्नुहुन्छ होला हाम्रा छोरी चेली /छोराछोरी छाडा भएको हेर्ने यस्तो काम गर्नुहुँदैन भनेर । सिकाउनु त कहाँ छ कहाँ उल्टै बहस गर्ने रे ! तर कुरा स्वतस्फूर्त पेशा र जबर्जस्तीमा फरक रहन्छ । जबर्जस्ति गरिनु र गर्नु एउटा जघन्य अपराध हो भने, स्वतस्फूर्त गरिने कार्य र कानुनी बाटो भएको काम भने ब्यबसाय हो ।

अझ भनौं, मानव अधिकारले स्वतन्त्रता पुर्वक जीवनयापन गर्न पाउनु पर्छ भनी परिभाषा गर्दछ । मानव अधिकार सम्बन्धि बिश्वब्यापी घोषणापत्र १९४८ को धारा : २३(१) को आफ्नो ईच्छा अनुसारको कामको स्वतन्त्रता छ्नोट गर्ने अधिकार हुनेछ, भन्ने बिर्सेको पाईन्छ । त्यसकारण ईच्छा को कार्य , काम गर्न कानुन अनुसार मानव अधिकारले पनि मानवीय ईच्छालाई संरक्षण गरेको छ ।

नेपालको संविधान को धारा ३३ (२) अनुसार प्रत्येक नागरिकलाई रोजगारी छ्नोट गर्ने हक भनी ब्यबस्था गरेको छ । त्यस्तै धारा २९(४) अनुसार नै कसैलाई निजको इच्छा बिपरित कार्यमा लगाई शोषण गर्न पाईने छैन भनी स्पष्ट ब्यबस्था गरेको छ । तसर्थ, यो अवैध कानुनी प्रक्रिया र सामाजिक मुल्य मान्यता विपरितको कार्य भन्न मिल्दैन ।

यौन पेशालाइ कानुनी मान्यता दिँदा सम्पुर्ण मानवीय इच्छा अनुसारको काम छ्नोट समेत गर्न पाउने र अधिकारको पनि संरक्षण हुन जान्छ । अझ यौन कर्मीमाथि हुने विभेद रोकिन्छ, न्यूनीकरणतर्फ धकेलिन्छ ।

यसले यौन जन्य अपराध समेत रोक्न सघाउँदछ । तसर्थ, नेपालमा पनि यौन व्यवसायलाई वैधानिकता दिएर एक व्यवसायको रुपमा अगाडि बढाउन सकिन्छ ।

(रसाइली मध्यपश्चिम विश्वविद्यालयमा कानूनमा स्नातक (बिएएलएलबि ) अध्ययनरत छन् ।)

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार