नेपाली राजनीतिको ‘कालिदास’

Law Hub Nepal वैशाख १४, २०७७
  • सुरेशकुमार पाेखरेल

आम सञ्चार माध्यममा समग्र परिस्थितिको दाेष सरकार र जारी अध्यादेशलाई दिएर गरिएका टिका-टिप्पणी निम्न आधारमा पुर्णत: गलत हुन् :

आम निर्वाचनपश्चात देखि नै दोहोरो अध्यक्ष प्रणालीमा चलेको नेपाल कम्युनिष्ट पार्टीको सत्ताको बागडोर प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहालले सम्हालि आएकामा पार्टी र सरकारमा दुवै स्थानमा ओलीको प्राथमिक भुमिकाले पूर्व माओवादी खेमा असन्तुष्ट रहिआएको थियो ।

पार्टीको बागडोर आफैंमा केन्द्रित भएकाले सरकारलाई पार्टीबाट कुनै बिग्रह नहुने कुरामा ओली ढुक्क थिए र सरकारको स्थायित्वका लागि पार्टीमा आफ्नो प्राथमिक भुमिका निरन्तर रहोस भन्ने चाहान्थे । जुन कुरा सत्ता बाहिर रहेको पूर्व माओवादी खेमालाई पचिरहेको थिएन । “पानी बिनाको माछा” झैं सत्तामा नहुनुको पिँडाले छटपटिएको पूर्व माओवादी खेमालाई असन्तुष्ट र नेपाल–खनाल गुटले साथ-सहयाेग दिईआएका थिए, त्यहीकारण पार्टीतर्फ प्रचण्डलाई सर्वेसर्वा बनाउन ओली बाध्य भए।

असन्तुष्ट प्रचण्डले सत्तामा आफ्नाे पहुँच केन्द्रित हाेस् भन्ने चाहान्थे र प्रधानमन्त्रीलाई “आलोपालो” सरकार चलाउन दबाब दिएका थिए । पार्टीतर्फको बागडोर फुत्काउन प्रचण्ड सफल भए, तत्पश्चात देखि नै सरकारमाथि असहयोगको वातावरण सिर्जना हुन थाल्यो, प्रधानमन्त्री पार्टीतर्फबाट एक्लिंदै जान थाले । प्रचण्डकाे नेतृत्वकाे ईतर गुटले उनलाई प्रधानमन्त्री पद साझेदारी गर्नमात्र नभई वामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याउन (प्रधानमन्त्रीका लागि) खुलमखुला दबाब दिन थाले ।

सरकार धरापमा परिसकेकाे थियाे । आन्तरिक रुपमै घोचपेच र आक्रमण सहँदै आएका प्रधानमन्त्रीलाई आउने बजेट अधिवेशन अघि नै हटाउने चक्रब्युह दाहाल-नेपाल समूहले रच्नेमात्र नभई पार्टी सचिवालय, स्थायी समिति, केद्रिय समिति, संसदिय दल सबै स्थानमा प्रधानमन्त्रीलाई अल्पमतमा पारेर उनको वैधानिक हैसियतलाई चुनौती दिएकाले ढालका रुपमा विवादास्पद अध्यादेश प्रधानमन्त्रीले जारी गर्न पुगे ।

यो घटनाक्रम सरकारसँगमात्र जोडिएको छैन,समग्र सभ्यता, संस्कृति देश,विकाशसँग जोडिएको छ । व्यक्ति विवादित होईन, संस्था विवादित भएको छ । घट्नाक्रमले ओली विवादित होईन नेकपा विवादित भएकाे छ,राष्ट्रले हारेकाे छ । व्यक्ति (प्रम)लाई असफल, निरंकुश र सर्वसत्तावादी आराेप लगाएर समग्र पार्टी चाेखिन सक्दैन ।

सरकार संचालनकाे विधि र पद्धति निर्माणमा पार्टीको रचनात्मक भूमिका कहिल्यै देखिएको छैेन । सरकार सञ्चालनको क्रममा देखिएका विवादहरुको समाधानमा नेकपा पार्टीले कुनै भूमिका निर्वाह गरेको छैन । विवादास्पद “केक” जस्ता काण्डमा चासो नदिनु, संलग्न पार्टी कर्मिलाई छानबिनको दायरामा ल्याई कारबाही नगर्ने कार्यलाई हेर्दा उक्त काण्ड आफ्नै सरकारलाई नियोजित रुपमा विवादमा ल्याई असफल बनाउने पार्टी पंक्तिको षडयन्त्रको एउटा अंश थियो भनि स्पष्टसाथ भन्न सकिन्छ ।

दुई तिहाई मतप्राप्त दलको जिम्मेवार प्रधानमन्त्रीलाई असुरक्षा र खतरा छ भने आफ्नै पार्टीका जिम्मेवार अध्यक्ष र तिनको बुई चढेर हिँड्ने स्वार्थी समूह तथा गुटहरुबाट छ । उसलाई प्रतिपक्षहरुबाट होईन, आफ्नै हरुबाट खतरा छ । सरकार प्रतिरक्षाका साथ पार्टीबाट प्रहार हुने तिरबाट सुरक्षित हुन विभिन्न तानाबाना बुनेर बसेको छ । अविश्वासको प्रस्ताव वा संसदीय दलबाट गलहत्याईने रोगले ग्रसित भएकाले विकासको अपेक्षा गरेर बसेका आम देशबासीहरु निरास हुनुपर्ने परिस्थिति खडा भएको छ ।

दुई तिहाईको आफ्नै सरकार टिकाउन-गिराउन असंसदीय चरित्रको नांगो नाच नेकपाले प्रदर्शन गरिरहेको छ । दल फुटाउने, दलको हैसियत समाप्त पार्न जुनसुकै हत्कण्डा बिजारोण गर्न उ उद्यत छ । जननिर्वाचित सांसदहरुलाई भेंडा बाख्राको दर्जामा राखी आर्थिक तथा पदिय प्रलोभन दिने, अपहरण तथा शरीर बन्धक बनाउने, दास बनाउने जस्ता कृत्य गरि आएको छ ।

अलिकति पनि राजनीतिक ईमान्दारीता,नैतिकता र शरम छ भने आफ्नै सरकारविरुद्ध संगठित गुटबन्दीको संस्कारको बिजारोपण गरेर सरकारलाई नै अस्थिर बनाई दुई तिहाई मतको धज्जी उडाउने,राजनीतिक अपराधको बिजारोपण गर्न उक्साहट गर्ने पार्टी पंक्तिमा रहेकाहरुले जवाफदेहिता वहन गर्नु पर्दछ ।

आफ्नै सरकारलाई अझ कमजोर बनाउने,गलाउने अस्थिर बनाउने रणनीतिसहित पार्टीका कुतत्वहरु “बहादुर” भएर स्पष्टताकासाथ अगाडी आएका छन् । यो कुकृत्यले व्यक्ति,पार्टी, सरकार हुँदै अन्तत: मुलुकलाई नै अस्थिर र असफल बनाई अस्थिरताको खाल्डोमा जाक्ने पृष्ठभुमि तयार भएको कुरालाई नजरअन्दाज गरेका छन् । ति नालायकहरुले आफ्नो स्वार्थका लागि सम्पुर्ण ईन्द्रियहरु छोपेर बसेका छन् ।

हिंजो पनि तिनै कुतत्वहरु थिए जसले बहुमतप्राप्त गरेपनि मुलुकमा अस्थिरता सृजना गरे,आजपनि तिनै तत्वहरु सल्बलाईरहेका छन्, जसले पार्टी संगठनतिर बसेर निहित स्वार्थका लागि अस्थिरताको गोटी चालेर समग्र मुलुकलाई आफ्नो स्वार्थको भुमरीमा जाकिरहेका छन् ।

राजनीतिक दल एकातिर छ । अर्कोतिर नेताहरु व्यक्तिगत स्वार्थसिद्धिका लागि “गुट र गुण्डा” लिएर बसेका छन् । मुलुक गुटहरुमा बिभक्त छ, त्यही गुट–गुट बीचको स्वार्थको टकरावले अहिलेको परिस्थिति जन्मिएको हो । त्यसकारण “पात्र” होईन, “प्रवृत्ति” खराब हो । याे चरम व्यक्तिवादी “कालिदास” प्रवृत्ति यही हो । जसले दल, देश र व्यवस्थालाई गाँजेको छ र तिनिहरुमाथिको भरोसा उडाउँदै लगेको छ ।

यो नेपाली राजनीतिक आकाशमा देखिएको “चरम व्यक्तिवादी राजनीतिक संस्कार” हो । समस्या यही हो र उपचार गर्नुपर्ने “राजनीतिक रोग” पनि यही नै हो । यो रोगको उत्पत्ति राज्य व्यवस्थाबाट होईन कि गुट-उपगुटबाट भईरहेको छ । आज यही गुट उपगुटको टाउकाहरुमा नेकपा रिंगिरहेको छ ।

हिंजो पनि पार्टी र सरकारमा वितण्डा मच्चाई अस्थिरता सृजना गर्ने र त्यसको कारक “राजा र व्यवस्था”लाई दिएर १७ हजारको रगतमा मुलुक होली खेल्न पुर्याउने प्रवृत्ति र चरित्र यिनै हुन् । होली खेल्ने कुतत्वहरु जन्माउने प्रवृत्ति र चरित्र यिनै हुन् । जसले निमुखा जनतामा चरम निरासा पैदा गरी सम्पुर्ण दोष “व्यवस्था”लाई लगाई आफ्नो स्वार्थ सिद्ध गर्न पुगे । देश विकासको चिन्तनलाई एकातिर पन्छाएर, कुकृत्यको नाटक रचि नेपाललाई धमिलो बनाउने र त्यहि धमिलो पानीमा माछा मार्ने परिस्थिति सृजना गरिरहेका छन् । होशियार !

अधिवक्ता पोखरेल समाजशास्त्री/मानवशास्त्री हुन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार