तिमी मुक्त हुन यो सत्ताको पतन अपरिहार्य छ !

Law Hub Nepal असाेज १८, २०७७
  • शून्य ।

आज फेरि अर्को खबर छापियो, टेलिभिजन र सञ्जालका भित्ता भरियो, पीडितप्रति बिचरा भाव प्रकट गरियो, कसुरदारलाई दुई-चार वचनले घोचियो, किस्सा समाप्त ।

फेरि अर्को घटना यहि क्रमले दोहोरिन्छ, उही प्रकारले किस्सा खत्तम । हामीलाई थाहा भईसकेको छ, बलात्कार शक्तिको दुरुपयोग हो, मान्छेको वस्तुकरण हो, पितृसत्ता हो ।

बलात्कार हामीले स्वीकृति दिएको सत्ताको उपज हो, धार्मिक ग्रन्थहरुमा, पुराणहरुमा बलात्कारका किस्साका कसरी स्तुति गरिन्छ भन्ने कुराबाट पनि हामी अवगत नै छौं ।

कसैलाई नर्तकी, वेश्या बनाइदिनु, अनि कसैलाई पतिव्रता सती, उनीहरुलाई झुक्यानमा पारी बलात्कार गर्नु, देवता कहलिएका बलात्कारी त अँझै पनि देवता नै रहन्छन् तर पीडित बन्छन् सजायका भागिदार ।

यो कथा एक मिथ्या कहानी मात्र होइन, यो हाम्रो समाजको हविगत हो, यही हो पितृसत्ता जसले महिलाको चरित्र निर्माण गरिदिन्छ । त्यहि चरित्रका आधारमा उनीहरुको वर्गीकरण गरिदिन्छ, उसले गरेको कालो कर्तुतको दोष अवस्था हेरेर यिनैमाथि थोपर्छ ।

बलात्कार यस्तो पासा हो, जसले महिलालाई घरेलु पर्खाल भित्रै कैद राख्छ, जिम्मेवारी पुरा गर्न असक्षम बनाइदिन्छ । अनि उनीहरु फेरि भन्ने छन्- नारी सँधै नारी नै रहनेछे ।

जरुरी छन् नि ! पितृसत्तालाई जोगाउन बलात्कार जस्ता पासा, आज पितृसत्ता हामी सबैको नशा-नशामा छ, हामीले बोल्ने भाषामा छ, हामीले मनाउने चाड पर्वमा, जताततै ।

यो त्यहि सत्ता हो, जसले बलात्कारको सम्पुर्ण दोष एउटा व्यक्ति माथि थुपारेर आफू पानी माथीको ओभानो बनिरहन्छ । पितृसत्ता हामी भित्र छ, जस्ले बलात्कारी व्यक्तिको फाँसीको माग त गर्छ, तर बलात्कारी सत्ताको हरेक मूल्य मान्यता, रीति-रिवाज, संस्कारलाई बडो धुमधामसङ्ग मनाउँछ ।

यो धृतराष्ट्रहरुको राज्य हो, यहाँ द्रौपदीहरुको चिरहरण हुनु कुनै नौलो कुरा होईन, अब कृष्णको पुकार गरेर द्रौपदीको लाज बच्ने छैन । आजका द्रौपदीहरुले धृतराष्ट्रहरुको राज्यमा आगो लगाउनु पर्ने छ ।

हर नारी विरोधी, बलात्कारी मुल्य-मान्यता र संरचना खरानी पार्न जरुरी छ । अब उठ सारा द्रौपदी ! तिमीलाई एक भोग्या बस्तु बनाउने, तिम्रो मानव अस्तित्वलाई स्वीकार नगर्ने हरेक संस्कार र मान्यता माथी प्रश्न उठाऊ । चुनौती देऊ ।

कसैले गरिदिएको तिम्रो अस्तित्वको परिभाषालाई तिमी किन मान्छौ ? तिम्रो परिभाषा तिमी आफैं बनाऊ । आफ्ना लागि मुल्य मान्यता आफैं बनाऊ । तिम्रै स्वीकृतिले, तिम्रै मौनताले यो सत्ता टिकेको छ । अब प्रश्न गर ! आफ्नै घरभित्र आफ्नासङ्ग युद्ध छेड । तिमी मुक्त हुन यो सत्ताको पतन अपरिहार्य छ ।

(लेखिका कानूनकी विद्यार्थी हुन् ।)

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार