चिहान भइसक्यो हाम्रो विश्वविद्यालय, त्यहाँ सबै मृत छन्

Law Hub Nepal माघ ९, २०७६

केदारभक्त माथेमा । नोबेल साहित्यकार ओरान पामुकले ‘इस्तानबुल’ किताबमा लेखेका छन्– ‘जो मानिस आफ्नो सहरसँग खुसी छैन, ऊ आफ्नो जीवनसँग खुसी हुँदैन।’
मलाई पनि त्यस्तै लाग्छ। यो सहरका धेरै कुराले मलाई रिस उठ्छ। म मुर्मुरिन्छु। दाह्रा किट्छु।

म सन् १९५० दशकको मध्यमा काठमाडौं आएको हुँ। त्यसपछि यही ठाउँमा हुर्कें, बढेँ। साठी र सत्तरी दशकको काठमाडौं सम्झने हो भने मनै हुरुक्क हुन्छ। त्यो बेला यो सहर एकदमै सुन्दर थियो। अहिलेको पुस्ताले वा केही वर्षयता मात्र काठमाडौं आउनेहरूले यो सहरको खास सौन्दर्य देख्नै पाएनन्। उनीहरूले त बिग्रेको काठमाडौं मात्र देखे।

पछिल्लो समय जुन रूपमा काठमाडौं विकास हुँदैछ, जसरी टावर र व्यापारिक कम्प्लेक्सहरू बढ्दैछन्, जस्तो खालका घरहरू बन्दैछन्, मलाई यो सहर बनेको होइन, झारपातजस्तै उम्रेको हो भन्ने लाग्छ।

यहाँका सोलो, डोलो, गोलो घरहरू झारपातजस्तै उम्रेका देखिन्छन्। ती घरहरूमा न काठमाडौंको सम्पदा र संस्कृति सुहाउँदो एकरुपता छ, न सौन्दर्य।

काठमाडौंको यही अव्यवस्थित बसोबास र सहरीकरणसँगै जोडिएर आउने विषय हो, यहाँका खुला सार्वजनिक स्थलहरूको अतिक्रमण।

हामीकहाँ खुला स्थलको महत्व धेरैले बुझेकै छैनन्। हामी सहरबाट बाहिर जाँदा गाउँघरतिर जति पनि खुला स्थल देख्छौं। त्यही भएर होला, हामीलाई सहरभित्र पनि त्यस्तै खुला ठाउँ चाहिन्छ भन्ने अनुभूति नै छैन।

खुला स्थल भनेको सहरी योजनाको अभिन्न अंग हो भन्ने सर्वसाधारण जनताको के कुरा, हाम्रा योजनाकार र आर्किटेक्टहरूले समेत बुझेका छैनन्। उनीहरूले बुझेका भए हाम्रो काठमाडौं आज यतिविधि बिरूप हुने थिएन। हाम्रा पितापुर्खाले विकास गरेको यहाँका खुला सार्वजनिक स्थलहरू हामी यस्तरी अन्धाधुन्ध मास्ने थिएनौं।

इतिहासतिर फर्केर हेर्ने हो भने, हाम्रा पुर्खाहरूलाई सहरमा घर र बाटो मात्र होइन, खुला स्थल पनि चाहिन्छ भन्ने थाहा थियो। त्यही भएर मल्लकालमा खुला स्थललाई सहरी योजनाको अभिन्न हिस्साका रूपमा लिएर दरबार स्क्वायर, बहाल र चउरहरू विकास गरियो। त्यही स्तरको सहरी विकास आधुनिक कालमा भने हुन सकेन।

अहिले पनि जब हामी पाटन दरबार क्षेत्र जान्छौं, हाम्रो मन आनन्दित हुन्छ। चाहे बिहान जानुस्, चाहे दिउँसो वा साँझ, त्यहाँको विशेषता नै यस्तो छ, जहिले पनि हामीलाई आनन्द दिन्छ। त्यो आनन्द केले दियो? मन्दिरले? कि, वरिपरिका मल्लकालीन संरचनाले?

त्यो आनन्द कुनै संरचनाले दिएको होइन, त्यहाँको खुला स्थलले दिएको हो।

मनै लोभ्याउने यस्ता खुला स्थलहरू सहरका विभिन्न ठाउँमा हुनुपर्ने होइन र? खोइ त हामीले बनाएको? बनाउनु त परको कुरा, हामी त भएका पनि मास्दैछौं।

हुँदाहुँदा पुर्खाको जुन धरोहरका कारण हाम्रो काठमाडौंलाई संसारले चिनेको छ र विश्व सम्पदामा सूचीकृत गरेको छ, तिनै धरोहरको विनाश हामी टुलुटुलु हेरेर बसेका छौं। चुइँक्क नबोली।

यसै सन्दर्भमा म एउटा पुरानो घटना सुनाउन चाहन्छु।

विश्व सम्पदा स्थलहरूको संरक्षण र अनुगमन निम्ति गठित राष्ट्रसंघीय नियोग ‘युनेस्को’ को बैठक जापानको टोकियोमा हुँदै थियो। म जापानमा राजदूत थिएँ। त्यही बेला नेपालबाट एउटा पत्र आयो, जसमा भनिएको थियो, ‘युनेस्कोले नेपालका विश्व सम्पदा स्थलहरूलाई जोखिमपूर्ण सूचीमा राख्दैछ, तिमी बैठकमा गएर युनेस्कोको त्यो प्रस्ताव पास हुन नदेऊ।’

मलाई पेरिसका राजदूतले फोन गरेर भन्नुभयो, ‘नेपाललाई जोखिमपूर्ण सूचीमा राख्न युनेस्कोले निर्णय गरिसकेको छ। औपचारिकता पूरा गर्न मात्र बाँकी हो। जापानको बैठकले त्यसलाई औपचारिकता दिनेछ। त्यसैले, अब यो तपाईंको टाउकोमा पर्ने भयो।’

त्यति बेला ऋद्धिबाबा प्रधान पुरातत्व विभागका महानिर्देशक हुनुहुन्थ्यो। हामी दुई जनाले टोकियो बैठकमा त्यो प्रस्तावविरुद्ध ‘लबिङ’ गर्‍यौं। युनेस्को सदस्य राष्ट्रका प्रतिनिधिहरूलाई भेटेर नेपालका सम्पदा स्थलहरू किन जोखिमपूर्ण सूचीमा पर्न हुँदैनन् भनेर बुझाउने काम गर्‍यौं।

हाम्रो प्रयास सफल भयो। युनेस्कोको प्रस्ताव पास भएन। हामीले सरकारबाट स्याबासी पायौं। तर, फर्केर हेर्दा यस्तो लाग्छ, हामीले त्यति बेला जे गर्‍यौं, त्यो हाम्रो भुल थियो।

युनेस्कोले आफ्नो प्रस्ताव पेस गर्ने क्रममा काठमाडौं उपत्यकाका सम्पदा स्थलहरू कसरी बिग्रँदैछन् भनेर केही तस्बिर देखाएको थियो। कुनै–कुनै तस्बिर देखेर हामीलाई कहाँ मुख लुकाउनु भयो। एउटा तस्बिर म अहिले पनि सम्झन्छु — सानो मन्दिर थियो। त्यो मन्दिरसँगै टाँसिएर एउटा घर ठडिएको थियो। यतिले नपुगेर गजुरभन्दा माथि गएपछि घरले आफ्नो चौडाइ फराकिलो पार्दै आकाशमा समेत मन्दिरको क्षेत्र मिचेको देखिन्थ्यो।

यस्तो अराजकता अरू कुनै देशमा होला? कति लाजमर्दो!

त्यस्तो तस्बिर देख्दादेख्दै हामीले सरकारको निम्ति युनेस्कोको प्रस्ताव फेल गराउन कुनै कसर छाडेनौं।

हामीले सरकारको निम्ति त राम्रो काम गर्‍यौं, तर देशको भलाइको निम्ति इमानदार हुन सकेनौं भन्ने लाग्छ। बरू हामीले त्यति बेलै काठमाडौंका विश्व सम्पदा स्थलहरूलाई जोखिम सूचीमा पर्न दिएका भए युनेस्को र अन्तर्राष्ट्रिय दबाबले भए पनि हाम्रा सम्पदा स्थलहरू मासिने क्रम बन्द हुन्थ्यो कि!

आज हामीले ‘सम्पदा सहर’ भनेर गर्व गर्ने सिंगो काठमाडौंको स्थिति विकराल छ। सबभन्दा दुःखको कुरा त, यो सब देख्दादेख्दै, जान्दाजान्दै कोही बोल्दैनन्। कोही कराउँदैनन्। सबै चुपचाप छन्।

त्योभन्दा दुःखलाग्दो कुरा अर्को छ।

यस्तो दुर्गति बेला विचारको आँधी ल्याएर समाजलाई झक्झक्याउने जिम्मेवारी विश्वविद्यालयको हो। तर, हाम्रो विश्वविद्यालय मौन छ। काठमाडौंमा सम्पदाबारे यत्रो ठूलो बहस भइरहेको छ, तर यसबारे विश्वविद्यालयको केन्द्रीय संस्कृति विभागले एक शब्द बोलेको छैन।

विदेशको उदाहरण हेर्ने हो भने, समाजका हरेक गतिविधिमा विश्वविद्यालयका प्राध्यापकहरू बोलिरहेका हुन्छन्। राष्ट्रिय बहसमा आफ्नो धारणा व्यक्त गर्छन्। राष्ट्रिय महत्वका विषयमा छलफल गर्छन्, अनुसन्धान गर्छन्। त्यसैले, विदेशतिर महत्वपूर्ण वैचारिक बहसहरू विश्वविद्यालयबाटै सुरू भएको हामी देख्छौं।

हाम्रो विश्वविद्यालय र यहाँका प्राध्यापक त कुनै विषयमा आफ्नो धारणा नै राख्दैनन्। प्राध्यापक नै यस्तो भएपछि विद्यार्थीबाट के अपेक्षा गर्ने? के विश्वविद्यालयमा पढ्ने र पढाउने भनेको जागिर खानलाई मात्र हो?

जागिर खाने ध्येय हो भने बिए मात्र पढे पुग्छ। विश्वविद्यालयमा मास्टर्स पढ्न त पेटमा आगो लिएर आउनुपर्छ। आफूले मास्टर्स गर्न रोजेको विषयमा थोरै भए पनि भिन्नता ल्याउने गरी हलचल मच्चाउने आगो। त्यो क्षेत्रमा अलिकति पनि तलमाथि भए जुरुक्क उठेर आवाज उठाउने आगो। खोइ त्यस्तो आगो हाम्रो विश्वविद्यालयका प्राध्यापकहरूमा? खोइ त्यस्तो आगो हाम्रो विश्वविद्यालयका विद्यार्थीहरूमा?

पेटमा आगो नै नभएपछि किन आउनु विश्वविद्यालय? किन पढ्नु? के का लागि पढाउनु?

यसका अनेकौं उदाहरण छन्।

वातावरण विनाशको मुद्दा यति ठूलो रूपमा उठेको छ। रिङरोड छेउछाउका रूखहरू काटेको विषयमा नागरिकहरू बोलेका बोल्यै छन्। प्रदूषणलाई लिएर यत्रो सार्वजनिक चासो छ। हाम्रो विश्वविद्यालय र वातावरणका प्राध्यापकहरू चाहिँ मौन छन्, मानौं काठमाडौंमा वातावरणको समस्या नै छैन, रिङरोड छेउछाउका वर्षौं पुराना रूखहरू धमाधम काटिनुले यहाँको वातावरणमा कुनै अर्थ नै राख्दैन।

हाम्रो विश्वविद्यालय जिउँदो हुन्थ्यो भने, तुरुन्तै अनुसन्धान सुरू गर्थ्यो। सम्पदाको विषयमा नागरिक स्तरबाट उठेको आवाजलाई प्राज्ञिक बहसमा ल्याउँथ्यो। ऐतिहासिक अनुसन्धान गरेर त्यसलाई सप्रमाण अघि सार्थ्यो। वातावरणका सम्बन्धमा पनि गहन अनुसन्धान गरेर प्रतिवेदन निकाल्थ्यो, जनतालाई सूचित गर्थ्यो, सरकारलाई घच्घच्याउँथ्यो। यहाँ त कोही पनि बोल्दैनन्।

आठलेन रिङरोडको उदाहरण लिउँ। त्यसको डिजाइन त्रुटिपूर्ण छ भनेर त्यत्रो आवाज उठ्यो। मिडियामा आयो। नागरिक स्तरमा बहस भयो। तर, इञ्जिनियरिङ अध्ययन संस्थान केही बोलेन। त्यहाँका प्राध्यापकहरूको चुइँक्क शब्द सुनिएन।

त्यही अवस्था सार्वजनिक खुला स्थलको बहसमा छ। खुला स्थल भनेको सहरी योजनाको अभिन्न अंग हो। खुला स्थलबिना कुनै पनि सहरको हामी परिकल्पनासम्म गर्न सक्दैनौं। आजभन्दा चार–पाँच सय वर्षअघि मल्लकालमा त खुला स्थलबारे सोचिन्थ्यो भने आज आधुनिक युगमा सहर निर्माण गर्दा वा विकास गर्दा त्यसलाई उपेक्षा गर्ने कुरै आउँदैन।

यति महत्वपूर्ण विषयमा खोइ त हाम्रो इञ्जिनियरिङ अध्ययन संस्थान बोलेको? के यो उनीहरूको सरोकारको विषय होइन?

सार्वजनिक सरोकारका यस्ता विषयमा मुख नखोल्ने, सुने–नसुन्यै गर्ने कस्तो खालका प्राज्ञिक संस्थाहरू विकास गरिरहेका छौं हामी?

समाजलाई चाहिएका बेला बोल्न नसक्ने र समाजको उपयोगमै नआउने यस्ता लाचार संस्थाहरू हामीलाई किन चाहियो?

मलाई यस्तो लाग्छ, हाम्रो कीर्तिपुर विश्वविद्यालय अब प्राज्ञिक संस्था रहेन, चिहान भइसक्यो। त्यहाँ सबै मृत छन्। कसैको पेटमा आगो छैन। न प्राध्यापकमा आगो छ, न विद्यार्थीमा।

जब–जब म भर्भराउँदो हुनुपर्ने विश्वविद्यालयलाई मृत देख्छु, मलाई भित्रैदेखि रिस उठ्छ। छाती भतभती पोल्छ। म दाह्रा किट्छु।

यही सन्दर्भमा जब मैले ‘अकुपाई टुँडिखेल’ अभियान सुरू भएको थाहा पाएँ, मलाई एकदमै खुसी लाग्यो। भित्रैदेखि यो चाहिँ राम्रो काम भयो है भन्ने लाग्यो।

हामीकहाँ लामो समयदेखि राज्यका विभिन्न निकायबाट सार्वजनिक स्थलहरू खोस्ने, मिच्ने र मास्ने क्रम सुरू भएको थियो, त्यसविरुद्ध नागरिकहरू जुर्मुराए। उनीहरू सार्वजनिक स्थलमाथि आफ्नो हकदाबी गर्न अघि सरे। लोकतन्त्र भनेकै यही हो। लोकतन्त्रमा नागरिकहरू आफ्नो हकदाबी गर्न अघि सर्दैनन् भने के को लोकतन्त्र?

‘अकुपाई टुँडिखेल’ सार्वजनिक सम्पत्ति मास्ने उपक्रमविरुद्ध नागरिक स्तरबाट सुरू भएको लोकतान्त्रिक अभ्यास हो। म यसको पूर्ण समर्थन गर्छु। यो अभियानमा ऐक्यबद्धता जनाउँदै पहिलो दिन मानव साङ्लोले खुलामञ्च घेर्ने कार्यक्रममै म सरिक भएको थिएँ।

आज जसरी हाम्रा सार्वजनिक स्थलहरू धमाधम मासिँदै छन्, विकासलाई ठेकेदारहरूका हातमा सुम्पने काम भइरहेको छ, टावर बनाउनु भनेकै विकास हो भन्ने जुन धारणा विकास हुँदैछ, यस्ता सबै प्रवृत्तिविरुद्धको नागरिक आवाज हो, अकुपाई टुँडिखेल।

हाम्रो काठमाडौंलाई ठेकेदारको विकास चाहिएको छैन। टावर पनि चाहिएको छैन। हामीलाई त खुला सार्वजनिक स्थल चाहिएको छ। ठुल्ठूला पार्कहरू चाहिएको छ। हाम्रा प्राचीन सम्पदाहरूको संरक्षण चाहिएको छ। हाम्रो निम्ति यही हो विकास।

मैले विश्वविद्यालयमा पढाउँदा एक जना साथी हुनुहुन्थ्यो। उहाँ भोँसिको टोलको एउटा सानो कोठामा डेरा बस्नुहुन्थ्यो। सुत्ने, खाने, पकाउने सबै एउटै कोठामा। त्यो कोठामा कहिल्यै घाम आउँदैन थियो। घाम ताप्नुपर्‍यो भने उहाँ टुँडिखेल आउनुहुन्थ्यो।

आज पनि भित्री बस्तीका धेरै घरहरू यस्ता छन्, जसको निम्ति आँगन भने पनि, बार्दली भने पनि, छत भने पनि यही टुँडिखेल हो। उहाँहरू खुला हावामा सास फेर्न, घाम ताप्न वा यसै टहल्न टुँडिखेल आउनुहुन्छ। उहाँहरूको निम्ति त्यो स्थल खुला राख्नु हाम्रो विकास प्राथमिकता हो कि होइन?

हो भने किन बोल्दैनौं त हामी?

जापान बस्दा मैले देखेको छु, त्यहाँ निजी घरहरू एकदमै साना हुन्छन्। मान्छेहरू प्रायः आफ्नो घरमा पाहुना डाक्दैनन्। त्यहाँ सार्वजनिक स्थलहरू ठूलो हुन्छ। त्यही भएर साथीभाइ भेट्ने, जमघट गर्ने भनेकै सार्वजनिक स्थलमा हो। हामी भने भएकै सार्वजनिक स्थलहरू केही सोचविचारै नगरी भत्काउँदै छौं। विकासका नाममा टावर खडा गर्दैछौं।

नागरिक आवाज नउठ्ने हो भने यो प्रवृत्ति अझ झ्यांगिँदै जानेछ। ‘अकुपाई टुँडिखेल’ अभियान त्यही नागरिक आवाज हो।

कोही कोही यसमा राजनीति घुसेको देख्छन्। कांग्रेस नेता भीमसेनदास प्रधान संलग्न देखेर यसलाई कांग्रेसको अभियान भन्नेहरू पनि छन्। उसो भए शेरबहादुर देउवा प्रशान्त महासागरमा पौडन गए भने के त्यो पूरै महासागर कांग्रेसको हुन्छ? हरेक कुरामा राजनीति देख्ने कस्तो संकीर्ण सोच हो हाम्रो?

टुँडिखेल सबैको हो। कांग्रेसको पनि हो, कम्युनिस्टको पनि। धनीको पनि, गरिबको पनि। टावरमा बस्नेको पनि, झुप्रोमा बस्नेको पनि। किनकि, यो हाम्रो काठमाडौंको लोकतान्त्रिक ‘स्पेस’ हो। यहाँ समाजको हरेक क्षेत्र, तह र वर्गका मान्छे आउँछन् र एकाकार हुन्छन्।

राजधानीको यति महत्वपूर्ण लोकतान्त्रिक स्पेस मास्नु भनेको लोकतन्त्रकै मर्ममाथि प्रहार हो। यसले हाम्रो लोकतन्त्रको आधार कसरी बाँकी रहला?

म शिक्षा क्षेत्रको उदाहरण दिन्छु। म जुन सार्वजनिक स्कुलमा पढेँ, त्यहाँ समाजका धनी, गरिब, सुन साहु, घ्यू साहु, नाङ्लो पसले, भरिया, डाक्टर, इञ्जिनियर, व्यापारी सबैका छोराछोरी पढ्थे। एउटा स्कुलमा सिंगो समाज थियो। सार्वजनिक स्कुलको सुन्दरता भनेकै त्यही।

अहिले स्कुलमा पनि वर्गीकरण छ। धनी पढ्ने स्कुल, मध्यमवर्ग पढ्ने स्कुल, गरिब पढ्ने स्कुल। यसरी त हामीले वर्गीय रूपमै विभेदपूर्ण समाज निर्माण गरिरहेका छैनौं र?

मेरै नातिनातिना यहाँ भइदिएका भए उनीहरू पक्कै महँगा स्कुलमा पढ्थे। कार चढेर सर्रर जान्थे। आफ्नै वर्गका केटाकेटीसँग संगत गर्थे। घर फर्केपछि उनीहरूलाई टोलका केटाकेटीको मतलब हुँदैनथ्यो, किनकि उनीहरू अर्कै स्कुलमा पढ्छन्। समाजको ‘मिलन विन्दु’ बन्नसक्ने सार्वजनिक स्कुलहरू हामीले जोगाएनौं। निरन्तर मास्दै लग्यौं। हाम्रा नीति–निर्माताहरूले कस्तो समाज बनाउन खोजेका हुन्? के एकीकृत समाज बनाउने उनीहरूको ध्येय छैन?

सार्वजनिक स्थल भनेको पनि सार्वजनिक स्कुलजस्तै हो। यहाँ डाक्टर आउँछन्, इञ्जिनियर आउँछन्, ट्याक्सी ड्राइभर र भरिया पनि आउँछन्। यसले समाज जोड्छ। सार्वजनिक स्थलहरू जति मासिए, समाज उति खण्डित हुँदै जान्छ, वर्गीय विभाजन हुन्छ। धनी र गरिबको मिलनविन्दु नै अन्त्य हुन्छ।

पछिल्लो समय संसारभरि सहरका मूल सडकहरूलाई सवारीमुक्त गरेर पैदलयात्रुलाई मात्र हिँड्न दिइरहेको हामीले देखेका छौं। यस्तो किन गर्नुपर्‍यो? के त्यहाँ गाडीको कमी छ र? के उनीहरूले गाडी किन्ने क्षमता नभएर त्यसो गरेका हुन् र?

यो भनेको सहरमा बढीभन्दा बढी सार्वजनिक स्थलहरू विकास गर्ने प्रयास हो। पार्कले नपुगेर उनीहरू सडकलाई पनि पैदलयात्रुहरू निर्वाध हिँड्ने, भेट्ने, गफिने, टहल्ने ठाउँ बनाउँदै छन्।

हामीकहाँ भने सडक हिँडिसाध्य छैन, सार्वजनिक स्थलहरू मासिँदै छन्, अनि हामी कहाँ डुल्ने? कहाँ मान्छे भेट्ने? हाम्रो ठाउँ भनेको कहाँ हो?

म न्यूयोर्क सेन्ट्रल पार्कको उदाहरण दिन चाहन्छु। संसारकै वित्तीय केन्द्र भनिने न्यूयोर्क सहरबीचको ठूलो पार्क व्यवस्थापन गर्न एउटा प्राधिकरण गठन गरिएको छ। हामीकहाँ पनि टुँडिखेललाई यस्तै प्राधिकरण गठन गरेर व्यवस्थापन गर्नुपर्ने बेला आएको छ। अतिक्रमणमुक्त गरेपछि रूखहरू रोप्नुपर्ला, यहाँको ‘ल्यान्डस्केप’ तयार पार्नुपर्ला, त्यसलाई व्यवस्थापन गर्न हामीलाई पनि प्राधिकरण चाहिएला। बरू हामी यस्ता विषयमा छलफल अघि बढाउँदै लगुँ, यसमा राजनीतिक रङ देख्न छाडौं।

यो काठमाडौंका जनता, वा भनौं नेपालकै जनताको साझा अभियान हो। बुलडोजर विकासको विरोधमा उठेको अभियान हो। टावर–विकासको विरोधमा उठेको अभियान हो। यो अभियान एकदमै सही समयमा, सही ढंगले उठेको छ। यसलाई हामी सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौं। र, काठमाडौंका खुला सार्वजनिक स्थलहरू जोगाउने अभियानमा सरिक हौं।

टुँडिखेल जोगाउने अभियानलाई सत्ता नै पल्टाउन खोजेजस्तो ढंगले नहेरौं।

(त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति माथेमाद्वारा मंगलबार मार्टिन चौतारीमा आयोजित ‘अकुपाई टुँडिखेलः वैचारिक मन्थन’ मा व्यक्त विचारको सम्पादित पाठ)

स्रोतः सेतोपाटी

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार