सामूहिक धानरोपाइँ र वृक्षारोपण लगायत कार्य गरी उदाहरणीय बन्दै बाबाताल युवाक्लब

Law Hub Nepal श्रावण ७, २०७७

काठमाडौं । सिराहाको एक युवाक्लबले सामूहिक धानरोेपाइँमा संलग्न भएर उदाहरणीय काम गरेको छ । कर्जन्हा नगरपालिका वडा नं २ मा गठित बाबाताल युवाक्लबका सदस्यहरूले आफ्नो गाउँमा यस वर्षको रोपाइँ सामूूहिक रूपमा गरेका हुन् ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रणका लागि युवाहरुले सो कदम चलाएका हुन् । बाहिरबाट श्रमिक वा कामदार ल्याउने चलन भएकाले बाहिरबाट कामदार आउँदा गाउँमा थप जोखिम बढ्ने भएकाले सो क्लबले यस्तो निर्णय गरेको बाबाताल युवा क्लबका संस्थापक आभाष पोखरेलले बताए ।

८० जना समूह भएको यस क्लबले दुई सय कठ्ठा खेत रोपेको छ । प्रती कठ्ठा रु ४०० लिएर धान रोप्दा स्थानियलाइ धेरै राहत भएको क्लबका अध्यक्ष तारानाथ दुलालको दाबी छ । स्थानिय बासीले युवाहरुले गरेको यो कदम निकै नै प्रशंसनीय भएको र आफ्नो जीवनमा यस्तो काम नदेखिएको बताएका छन् ।धानरोपाइँबाट जम्मा भएको आम्दानी गाउँकै सामूहिक हितमा प्रयोग गरिने क्लबले जनाएको छ ।

बाबाताल युवा क्लबले गाउँमा अन्य सामाजिक कार्य पनि गर्दै आएको छ । पूर्व-पश्चिम राजमार्गबाट उत्तर तर्फ रहेको कर्जन्हा नगरपालिका वडा नं २ मा अवस्थित पर्यटन क्षेत्र बाबाताललाई थप आकर्षक र रमणिय बनाउन क्लबले विभिन्न गतिविधि सञ्चालन गरेको छ ।

क्लबले बाबाताल जाने बाटोको २ तर्फ नै निलकाँडा फूल र धुपीको बिरुवा रोप्नेे वृक्षारोपण  कार्य पनि सम्पन्न गरेको छ । उक्त कार्यको उद्घाटन वडा अध्यक्ष गणेश अधिकारी र पर्यटन क्षेत्र बाबातालका संस्थापक अध्यक्ष तथा समाज सेवी भोला प्रसाद पोखरेलले गरेका हुन् ।

वडा कार्यालय र स्थानीय संघसंस्थाको समन्वय र सहकार्यमा क्लबले सरसफाइ लगायतका कार्य गर्दै आएको छ । बाबाताल आसपासमा झन्डै २५ हजार बिरुवा रोप्ने कार्यको तयारी अन्तिम चरणमा पुगेको पनि क्लबले जनाएको छ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार