नेपाल बार काउन्सिलकाे पार्षद पदका लागि सातै प्रदेशमा मतदान हुँदै

Law Hub Nepal माघ २५, २०७६

काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) पदका लागि सातै प्रदेशमा मतदान भइरहेकाे छ।

निर्वाचन समन्वय समितिले सातवटा प्रदेशका २५ वटा मतदान केन्द्रबाट १० बजे मतदान सुरु भएको जनाएकाे छ ।

देशभरका निर्वाचन केन्द्रबाट करिब १० हजार ३४५ वरिष्ठ अधिवक्ता र अधिवक्ताले मतदान गर्दैछन् ।

वाग्मती प्रदेशमा बृहत् प्रगतिशील एवं समावेशी समूहबाट वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र बृहत् लोकतन्त्रवादी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने चुनावी प्रतिस्पर्धा छन् ।

प्रत्येक प्रदेशबाट १–१ जनाका काउन्सिलर पदका लागि सात प्रदेशबाट दुई–दुई जना गरी १४ ले उम्मेदवारी दिएका छन् ।

प्रदेश नं १ बाट देवेन्द्र कोइराला र प्रेमप्रसाद पोखरेल, प्रदेश नं २ बाट उमेशकुमार यादव र श्यामकुमार मिश्र, गण्डकी प्रदेशबाट मुकुन्दराज अर्याल र नारायणप्रसाद आचार्य चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै प्रदेश नं ५ बाट बाबुराम पाण्डे र सीताराम अग्रवाल, कर्णाली प्रदेशबाट दमनराज बम र रामबाबु विसी र सुदूरपश्चिम प्रदेशबाट प्रकाशबहादुर पाण्डेय र खगेन्द्रराज जोशीले उम्मेद्वारी दिएका छन् ।

सातजना परिषद् सदस्यका लागि सो निर्वाचनमा कानून व्यवसायमा निरन्तर १० वर्ष काम गरेको कानून व्यवसायीले मात्र उम्मेदवारी दिन पाउने प्रावधान रहेको छ । ती काउन्सिलरको कार्यकाल पाँच वर्षको हुने गर्छ ।

परिषद् कानून व्यवसायीका लागि आवश्यक आचारसंहिता बनाई लागू गर्ने र कानून व्यवसायीको हकहित र संरक्षण गर्ने निकाय हाे ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार