ब्रेकिङ्ग : रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी फुटाउने सात सांसदको निर्णय

Law Hub Nepal वैशाख १०, २०७७

काठमाडाैं । समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेका छन्।

यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा र सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेको सो समूहका एक सांसदले बताए।

अलग पार्टी गठन गर्ने तयारीका लागि बुधबार साँझ बिद्रोही सांसदहरू रेणु यादवको शान्तिनगरस्थित निवासमा भेला भएका छन्।

समाजवादी पार्टी स्रोतका अनुसार असन्तुष्ट पक्षले भोलि (बिहीबार) नै नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन्।

समाजवादी फोरमका प्रतिनिधि सभामा जम्मा १७ जना सांसद छन्।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा कुनै पार्टी फुटाएर नयाँ पार्टी गठनका लागि सो पार्टीको संसदीय दल र केन्द्रीय कमिटिमा ४०\४० प्रतिशत सदस्यको समर्थन हुनुपर्ने कानुन थियो।

दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद बैठक बोलाएर अध्यादेशमार्फत संसदीय दल वा पार्टीको केन्द्रीय समितिमध्ये एउटामा ४० प्रतिशत सांसदको समर्थन भए पार्टी विभाजन गरेर नयाँ पार्टी गठन हुनसक्ने व्यवस्था गरेका थिए।

नेकपामा बहुमत सचिवालय सदस्यहरूको विरोध हुँदाहुँदै सो अध्यादेश राष्ट्रपतिले केही घण्टामै जारी गरिदिएकी थिइन्। नयाँ अध्यादेश अनुसार समाजवादी पार्टी फुटाएर नयाँ पार्टी गठन गर्न सात जना सांसद भए पुग्छ।

समाजवादीका सात सांसदले पार्टी फुटाउने निर्णय गरेपछि हतारहतार मध्यरातमा समाजवादी पार्टी र राजपाले पार्टी एकीकरणको घोषणा गरेका छन्।

दुवै पार्टी एक भएपछि सात सांसदले मात्र एकीकृत पार्टीको संसदीय दलको ४० प्रतिशत पुग्ने छैन।

तर त्यसका लागि एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता हुनुपर्नेछ। जुन पार्टी पहिले दर्ता भयो त्यसैले बाजी मार्छ।

नयाँ एकीकृत पार्टी निर्वाचन आयोगमा पहिले दर्ता भयो भने समाजवादी फुटाएर सात सांसदले अर्को नयाँ पार्टी दर्ता गर्न पाउने छैनन्।

तर सत्ताको साथ रेणु यादव नेतृत्वका सांसदलाई रहने हुनाले उनीहरूकै पार्टी निर्वाचन आयोगमा दर्ता हुन्छ भन्ने विश्लेषकहरूको अनुमान छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार