अन्ततः बेलायत इयूबाट बाहिरियो

Law Hub Nepal माघ १८, २०७६

माघ १८,काठमाण्डौ । युरोपेली सङ्घ (इयू)बाट बेलायत औपचारिक रुपमा बाहिरिएको छ ।

बेलायतले शनिबार बिहानदेखि इयूसँगको ४७ वर्ष लामो आवद्धता तोडेको हो । प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देशमार्फत अब नयाँ बिहानी आउने बताएका छन् ।

जोन्सनले अब देशलाई एक ढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । इयूबाट औपचारिक रुपमा बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झण्डासमेत तल झारेको छ ।

युरोपेली सङ्घ छोड्नुपर्ने र छोड्न नहुने दुबै पक्षले प्रदर्शन गरेको बीबीसीले जनाएको छ । सङ्घको सदस्यता त्यागे पनि धेरैजसो कानून अहिलेकै कायम रहने र अब सङ्क्रमणकाल रहने भएकाले खासै ठूला परिवर्तन भने तत्कालै नदेखिने बताइएको छ ।

सङ्घबाट अलग हुने कि नहुने भन्नेबारेमा बेलायतमा विगत लामो समयदेखि राजनीतिक खटपट चलिरहेको थियो। जनमत सङ्ग्रहमा बेलायती नागरिकले सङ्घबाट अलग हुनुपर्ने पक्षमा मतदान गरेका थिए ।

योसँगै जनमतङ्ग्रहपछि भएका तीन वर्षभन्दा लामो समयको राजनीतिक खटपट सकिएको छ । जनमतङ्ग्रहमा ५२ प्रतिशत मत ईयू छोड्ने पक्षमा खसेको थियो ।

इयूबाट अलग हुने प्रतिबद्धतामा गएको डिसेम्बर महिनामा भएको आमचुनावमा हाउस अफ कमन्सका ८० सदस्यको बहुमत पाएर चुनाव जितेपछि प्रधानमन्त्री जोनसनले संसदमार्फत यो पछिल्लो सम्झौता गर्न सफल भएका थिए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार