कुमार पौडेल हत्या प्रकरणमा सर्लाहीका सिडिओसहित १० जनाविरुद्ध किटानी जाहेरी

Law Hub Nepal माघ २४, २०७६

काठमाडौं । सर्लाहीका कुमार पौडेल हत्या प्रकरणमा सिडिओसहित १० जना विरुद्ध किटानी जाहेरी परेको छ ।

नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका तत्कालीन जिल्ला इन्चार्ज पौडेलको हत्या प्रकरणमा संलग्न रहेको भन्दै बिहीबार १० जनाविरुद्ध किटानी जाहेरी परेको हो ।

गृहमन्त्री थापा र आइजिपी खनालमाथि पनि कारवाहीको माग गरिएको छ ।

मृतक पौडेलकी आमा दुर्गादेवी पौडेलले तत्कालीन सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी प्रमुख एसपी गोपाल भट्टराई लगायतलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी दर्ता गरेकी हुन् ।

गैरन्यायिक हत्या गरिएको भन्दै गृहमन्त्री रामबहादुर थापा ’बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि पनि अनुसन्धान गर्न जाहेरीमा माग गरिएको छ ।

गत असार ५ गते प्रहरीको गोली लागेर पौडेलको मृत्यु भएको थियो । प्रहरीले पौडेलको मृत्यु ’दोहोरो गोली हानाहान’मा भएको जनाएको थियो ।

त्यसपछि सत्तारुढ नेकपा र प्रतिपक्षी का‌ंग्रेसका सांसदहरूले पौडेललाई समातेपछि हातखुट्टा बाँधेर हत्या गरेको भन्दै संसदमा विरोध जनाएका थिए ।

राष्ट्रिय मानव अधिकार आयोगले पनि पौडेलको हत्या भएको निष्कर्षसहित आदेश दिने र आदेश पालना गर्नेमाथि कारवाही अगाडि बढाउन सिफारिस गरेको थियो ।

आयोगले घटनामा प्रत्यक्ष संलग्‍न, एक प्रहरी निरीक्षक र दुई हबलदारलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार