नागरिकता विधेयकलाई यही अधिवेशनमा टुङ्ग्याउने तयारी,  नेकपाले सचिवालय बैठकमा छलफल गर्ने

Law Hub Nepal असार ५, २०७७

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको यही अधिवेशनबाट नागरिकता विधेयकलाई टुङ्गो लगाउने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा नेताहरुबीच भएको छलफलमा दुई अध्यक्षले केही दिनभित्रै छलफल गरेर टुङ्गो लगाउने प्रतिबद्धता जनाएको राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले बताइन्।

‘नागरिकता विधेयकलाई धेरै समय संसदमा राख्नु हुँदैन भनेर मैले नेतृत्वलाई भनेकी छु’ उनले भनिन् ‘नागरिकता विधेयक अगाडि नबढ्दा धेरै समस्या परेको छ। त्यसैले यो अधिवेशनबाट यसलाई टुङ्गोमा पुर्याउनुपर्छ।’

आजको बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली,अर्का अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङ, मुख्य सचेतक देब गुरूङ र समिति सभापति श्रेष्ठ सहभागी थिए।

बैठकमा सहभागी एक नेताका अनुसार नागरिकता विधेयकलाई नेकपाले सचिवालय बैठकबाट टुंगो लगाउने भएको छ। शनिबार  सचिवालय बैठक बस्ने सम्भावना छ ।

यसअघि बिहीबार प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरुले कांग्रेस नेताहरुसँग छलफल गरेका थिए।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार