एक अर्ब २४ करोडको खरिदमा भ्रष्टाचारको आशंंका !

Law Hub Nepal चैत्र १७, २०७६

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको मेडिकल सामग्रीमा भ्रष्टाचारको आशंका गरिएको छ। यो खबर आजको नयाँ पत्रिकाले छापेको छ ।

चीनको वुहानमा कोरोनाको पहिलो संक्रमण डिसेम्बरमा देखिएको थियो । १३ जनवरीमा थाइल्यान्ड, २० जनवरीमा दक्षिण कोरिया र २३ जनवरीमा भियतनाममा कोरोनाको संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिने नेपाल पाँचौँ देश हो ।

२४ जनवरी अर्थात् १० माघमा नेपालमा एक संक्रमित भेटिए । उनी चीनबाटै आएका थिए । तर, उनको उपचार भएकाले धेरै चर्चा भएन ।

लकडाउन गरेर तीन घन्टाभित्रै विनाप्रतिस्पर्धा ठेक्का

चीनलाई मात्र होइन, विश्वलाई नै त्रसित बनाएकाले सबै देश पूर्वतयारीमा लागे । यसै शिलशिलामा नेपालमा पहिलो संक्रमित भेटिएको १५ दिनपछि अर्थात् २५ माघमा सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न प्रक्रिया अघि बढाएको थियो ।

तयारीका लागि नेपाल सरकारलाई सामग्री आपूर्ति गर्न विधिवत् रूपमा १९ कम्पनीले कोटेसन भरेका थिए । तर सरकार चुप बस्यो । सरकार त्यस्तो इमर्जेन्सीको पर्खाइमा थियो जसका कारण सम्पूर्ण प्रक्रिया मिचेर खरिद गर्न सकियोस् ।

नेपालमा दोस्रो, तेस्रो र चौथो गर्दै जब संक्रमित भेटिन थाले, तब देश लकडाउन गरेर एक अर्ब २४ करोड ६८ लाख रुपैयाँ (एक करोड तीन लाख ९० हजार अमेरिकी डलर) को सामग्री खरिद गर्न एउटा कम्पनीलाई सीधै ठेक्का प्रदान गरियो ।

दुई महिनाअघि सुरु भएको ठेक्का प्रक्रिया, सार्वजनिक खरिद ऐन, पारदर्शिता र जवाफदेहिता निरीह भए, निश्चित कम्पनीलाई ठेक्का दिने सरकारी योजना सफल भयो ।

कोेटेसन दिएका १९ कम्पनीबीच प्रतिस्पर्धा गराउने आश्वासन सरकारले अघिल्लो सातासम्म पनि दिएको थियो । तर, पुरानो टेण्डरबाट जाँदा ढिलो हुने भन्दै रातारात टेण्डर प्रक्रिया रद्द गरेर २४ घन्टाभित्र सामग्री आपूर्ति गर्न सक्ने कम्पनीबाट कोटेसन मागियो ।

दुई महिनासम्म मौन बसेको सरकारले २४ घन्टाको समयावधि तोकेर सामग्री आपूर्तिका लागि कोटेसन मागेपछि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई) मात्र तयार भयो ।

किनकि टेण्डर उसैले पाउने पहिले नै निश्चित भएको थियो, त्यसैले उसले चीनमा सामान संकलन गरेर प्याकेजिङसमेत गरिसकेको थियो । छिटोछरितो रूपमा सामग्री ल्याउने गरी ओम्नीसँग सम्झौता गर्नुपरेको सरकारको भनाइ छ ।

संघकै दाबी : बजारभाउभन्दा बढी मूल्यमा सामान खरिद गरियो

मेडिकल सामग्रीको आपूर्ति तथा कारोबार गर्ने व्यवसायीहरूको संस्था रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल सरकारले बजारभाउभन्दा बढी मूल्यमा सामग्री खरिद गरेको दाबी गरेको छ ।

निश्चित व्यवसायीसँगको मिलेमतोमा खरिद प्रक्रिया अघि बढाइएको भन्दै संघले सरकारमाथि प्रश्न पनि उठाएको छ ।

‘प्रचलित बजारभाउभन्दा अधिक मूल्यमा, आधिकारिक स्रोत नखुलेको र गुणस्तरको बेवास्ता गरी’ सामग्री खरिद गरिएको संघको दाबी छ । त्यस्ता सामानको नतिजा के हुने भन्नेमा पनि संघले चिन्ता प्रकट गरेको छ ।

‘पिसिआर किट्स बनाउने आधा दर्जनभन्दा बढी कम्पनीले युएसफडिए सर्टिफिकेसन पाइसकेको अवस्थामा गुणस्तरको बेवास्ता गरी खरिद गरिएको सामान तथा र्‍यापिड किटहरूबाट स्पेनको जस्तो नियति भोग्न नपरोस् भनी सजग हुन जरुरी छ,’ संघको विज्ञप्तिमा भनिएको छ ।

तर, स्वास्थ्यमन्त्री  ढकाल भन्छन् : उपकरण खरिदमा उठेको प्रश्नको जवाफ दिनुपर्छ भन्ने मैले ठानेको छैन

“मेडिकल उपकरण खरिदमा उठेको प्रश्नको जवाफ दिनुपर्छ भन्ने मैले ठानेको छैन । खरिद प्रक्रियामा कुनै पनि तलमाथि भएको छैन ।

काम नहुँदासम्म सामान भएन भनेर जनतालाई निराश बनाउने, सामग्रीहरू पाएपछि अनियमितता गर्‍यो भनेर अतिरञ्जित गर्नु आश्चर्य हो । यी चिन्तन–प्रवृत्तिहरू सरकारको काम र व्यवहारबाट ध्वस्त हुँदै जानेछन् ।

यस्ता व्यक्तिलाई जवाफ दिनैपर्छ भन्ने छैन । हामी व्यवहारबाट नै जवाफ दिनेछौँ । स्वास्थ्य मन्त्रालयका सबै साथीहरू शब्दमा जुहारी खेल्नेभन्दा कामबाट जवाफ दिने तयारीमा हुनुहुन्छ । समयले यसको जवाफ सबैलाई सन्तुष्ट हुने गरी दिनेछ ।”

 

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार