कोरोना कहर : जर्मनीमा अर्थमन्त्रीले गरे आत्महत्या

Law Hub Nepal चैत्र १६, २०७६

काठमाडौं।  कोरोना भाइरसबाट उच्च रुपमा संक्रमितमध्येको एक युरोपेली मुलुक जर्मनीका एक मन्त्रीले आत्महत्या गरेका छन् ।

कोरोना भाइरसका कारण सिर्जित आर्थिक संकटकाबीच जर्मनीको हेसे राज्यका अर्थमन्त्री थोमस स्याफरले शनिबार आत्महत्याको बाटो रोजेका हुन् ।

जर्मनीका समाचार संस्थाहरुका अनुसार, अर्थमन्त्री स्याफर कोरोना भाइरसका कारण उल्लेखनीय रुपमा चिन्तित बनेका थिए । जर्मन समाचार संस्था डच वेलेले भनेको छ, ‘कोरोना भाइरसका कारण सिर्जित संकटका बीच आर्थिक सहयोगबारे जानकारी गराउन उनी सार्वजनिक रुपमा देखिने गरेका थिए ।’

मन्त्री स्याफरको शव जर्मनीको फ्र्याङफर्ट र मान्जबीचमा पर्ने होचेमको तीव्र्रगतिमा चल्ने रेलको लिकमा शनिवार भेटिएको थियो । कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले शव रेलको लिकमा देखेपनि उनी अर्थमन्त्री स्याफर हुन् भन्ने सुरुमा पहिचान गर्न सकेनन् ।

मृत्यु हुनुअघि उनले आत्महत्या नोट समेत लेखेको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएको जर्मन दैनिक ‘फ्र्याङकफर्टर अल्जिमाइन’ ले उल्लेख गरेको छ । अर्थमन्त्री स्याफरले किन आत्महत्याको बाटो रोजे भन्ने कुरा त्यसमा उल्लेख गरेको अनुसन्धान अधिकारीहरुले बताएका छन् ।

मन्त्री स्याफर जर्मन चान्सलर एन्जिला मर्केलको मध्य–दक्षिणपन्थी दल क्रिष्चियन डेमोक्र्या्टिक पार्टीमा दुई दशकदेखि सक्रिय थिए भने १० वर्ष यता उक्त राज्यको अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

हेसे जर्मनीको आर्थिक राजधानी मानिएको फ्र्याङ्कफर्ट हेसे राज्यमा नै पर्छ । सो राज्यका प्रधानमन्त्री भोल्कर बोफरले सन् २०२३ मा हुने निर्वाचनमा प्रतिस्पर्धा नगरेको स्थितिमा स्याफरलाई हेसे राज्यको भावी प्रधानमन्त्रीको रुपमा हेरिएको थियो ।

सो राज्यका प्रधानमन्त्री भोल्कर बोफरले स्याफरको मृत्युलाई पत्याउनै नसकिने दुखद घटना भनेका छन् । कोरोना भाइरसले सिर्जना गरेको संकटको घडीमा मन्त्री स्याफर जनताको अपेक्षा अनुरुप आर्थिक सहायता दिन केन्द्रित रहेको पनि भोल्करले उल्लेख गरेका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार