नेपाल कोरोना संक्रमणको तेस्रो चरणमा, समुदायस्तरमा फैलियो 

Law Hub Nepal वैशाख ९, २०७७

काठमाडौं । मंगलबार एकै दिन कोरोना भाइरस (कोभिड–१९) का ११ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यी सबै संक्रमित उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको मस्जिद आसपासका क्षेत्रका वासिन्दा हुन् ।

भुल्केको मस्जिदमा रहेका १२ जना (११ भारतीय र एक नेपाली) जमातीमा कोरोना संक्रमण भएको वैशाख ५ गते पुष्टि भएको थियो ।

त्यसको भोलिपल्ट त्यही समूहका एक नेपाली जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

लगत्तै त्यो क्षेत्रलाई सिल गरेर उनीहरुको सम्पर्कमा आएका २६० जनाको नमुना संकलन गरिएको थियो ।

त्यसमध्ये काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार तीन जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । २० जनाको रिपोर्ट आउन बाँकी छ ।

यस्तै ६९ जनाको नमुना विराटनगरको कोशी अस्पताल पठाइएको थियो, त्यसमध्ये ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः परीक्षण गर्दा पनि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका ११ संक्रमितमध्ये दुई महिला हुन् भने बाँकी पुरुष हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । कोरोना संक्रमितमध्ये ५ जना निको भइसके ।

समुदाय स्तरमा पुग्यो संक्रमण

कुल संक्रमितमध्ये २४ जना त्रियुगा नगरपालिका भुल्केकै छन् । अर्थात कोरोनाका लागि भुल्के हटस्पट बनेको छ र, त्यहीँ कोरोनाको संक्रमण समुदाय स्तरमा पुगेको पाइएको छ ।

१२ जना जमातीमा देखिएको संक्रमण धेरै स्थानीयमा सरेको पाइएकाले कोरोना संक्रमण समुदायस्तरमा पुगेको मान्नुपर्ने जनस्वास्थ्यविद् डा. अनुप सुवेदी बताउँछन् ।

यद्यपि सरकारले अहिले नै कोरोना संक्रमण तेस्रो चरणमा पुगेको घोषणा गरेको छैन ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार