ब्रेकिङ्ग : कोरोनाका सातौं संक्रमित पोखरामा भेटिए

Law Hub Nepal चैत्र २१, २०७६

काठमाडौं । नेपालमा कोरोना भाइरसका सातौं संक्रमित भेटिएका छन्। पोखरामा गरिएको स्वास्थ्य परीक्षणमा कोरोनाका सातौं संक्रमित भेटिएका हुन्। ती व्यक्ति भारतबाट आएको खुलेको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना गरिएको कोभिड-१९ परीक्षण ल्याबबाट भारतबाट आएका ती व्यक्तिमा कोरोना पुष्टि भएको हो।

गण्डकी प्रदेश सरकारका एक अधिकारीका अनुसार पोखराको ल्याबमा पोजेटिभ देखिएपछि पुन:परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाइँदैछ।

यसअघि बिहीबार मात्रै बागलुङकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको थियो। उनी नेपालमा कोरोना भेटिने छैटौं व्यक्ति थिइन्। उनी कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएकी थिइन्। कतारको एउटै उडानबाट नेपाल आएका तीनजनालाई कोरोना देखिइसकेको छ।

त्यसअघि फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियमबाट त्यही मार्गबाट काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो।

त्यसअघि दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो। उनको अहिले पनि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।

दुबईबाट धादिङ आएका ३२ वर्षीय पुरुषमा पनि कोरोना भाइरस देखिएको थियो। अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा जनवरी २३ मा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्।

त्यसपछि ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि भने सरकारले देशभर लकडाउनको घोषणा गरेको छ। चैत ११ गतेदेखि १८ सम्मका लागि लागु गरिएको लकडाउन २५ चैत सम्मका म्याद थप गरिएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार