सेनाको नेतृत्वमा चैत मसान्तसम्म ६ हजार नमुना परीक्षण गरिने

Law Hub Nepal चैत्र २१, २०७६

काठमाडौं । नेपालमा तुलनात्मक रुपमा कोभिड-१९ न्यून संख्यामा देखिए पनि चर्को दबाबपछि परीक्षणको आकार बढाउनेतर्फ सरकारले कदम अघि बढाएको छ।

शुक्रबारसम्मको तथ्यांक अनुसार १ हजार १ सय ८४ नमुना जाँच गर्दा ६ जनामा कोभिड-१९ देखापरे पनि त्यो नमुनाले यथार्थको प्रतिनिधित्व गर्नुका साथै विश्वसनीय हुनुपर्ने सरकारकाद्वारा गठित ‘कोभिड–क्राइसिस म्यानेजम्यान्ट सेन्टर अप्रेशन’ (सीसीएम-ओपीएस)को निर्णय अनुरुप चैत्र मसान्तसम्म ६ हजार नमुना परीक्षण हुने भएको हो।

सरकारको आधिकारिक सूचना अनुसार नेपालका विभिन्न भेगबाट नमुना संकलन गरी कोभिड–१९ बाट प्रभावित या अप्रभावितहरुको भरपर्दो अध्ययन गरी आवश्यक नीति तर्जुमा हुन लागेको र नमुना परीक्षण अभियानको नेतृत्व नेपाली सेनाले गरिरहेको स्रोत बताउँछ।

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनालाई क्वारेन्टाइनमा राखी १४ दिनपछि घर पठाउन सफल सेनाले यो कार्यमा पनि विश्वसनीयता हासिल गरेकाले परीक्षणका लागि नमुना संकलन गर्ने जिम्मा पनि उसैलाई दिइएको बुझिएको छ।

यद्यपि त्यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पनि संलग्नता भने रहने छ। दुई दिन अघि धनगढीमा गरिएको ६९ र महेन्द्रनगरमा गरिएको २९ नमुना सकंलन र परीक्षणकाे काममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि पनि संलग्न थिए।

तर यो काम सहज छैन, खर्चिलो छ र भक्तपुर क्यारेन्टाइनमा र्खच भएको करिब ३० लाख रुपैयाँसमेत अर्थ मन्त्रालयले अहिलेसम्म नदिएको भन्दै यसबारे स्थायी व्यवस्था गर्न आवश्यक भएको स्रोत बताउँछ।

उपत्यकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाहेक, १ नम्बर प्रदेशमा धरान, सुदूरपश्चिम प्रदेशमा धनगढी, कर्णाली प्रदेशमा सुर्खेत, ५ नम्बर प्रदेशमा बुटवल, गण्डकी प्रदेशमा पोखरा, बाग्मती प्रदेशमा हेटौँडामा कोभिड-१९ परीक्षण शुरु भइसकेको छ।

दुई नम्बर प्रदेशको जनकपुरमा कोभिड-१९ परीक्षण मेसिन पुगिसके पनि परीक्षण शुरु भएको छैन।

सरकारले ओम्नी समूहसँग खरीद गरेका ५ वटामध्ये ४ वटा प्रोटेवल पीसीआर मेसिन सुर्खेत, धनगढी, बुटवल र जनकपुरमा पठाइएको थियो।

पोखरा, धरान र हेटौँडामा पुरानै मेसिन थिए भने ‘टेस्टिङ किट’ सँगै केही प्राविधिक पठाइएपछि परीक्षण सम्भव भएको हो।

टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले पहिलो पटक नेपालमा कोभिड-१९ देखिएका व्यक्तिको नमुना हङकङमा पठाएको थियो। उक्त नमूनामा कोभिड-१९ पुष्टी भएपछि प्रयोगशाला आफैले त्यसको परीक्षण शुरु गरेको थियो। तर थप पुष्टीका लागि केही समय हङकङ नै पठाउने गरेको थियो।

उपत्यका बाहिर प्रदेशस्तरमा हालै सञ्चालनमा आएका प्रयोगशालाहरुले पनि शुरुवाती चरणमा नमुनाको थप पुष्टिका लागि टेकुस्थित प्रयोगशालामै पठाउने गरेका छन्।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार