नेपालमा कोरोनाको ‘अति उच्च जोखिम’ टर्‍यो : विश्व स्वास्थ्य संगठन 

Law Hub Nepal वैशाख १३, २०७७

काठमाडौं । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ।

विश्‍व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो।

छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसँगको खुला सीमाका कारण नेपाललाई अति उच्च जोखिममा राखिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिएका छन्।

उनका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तरराष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो।

नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ। कोभिड-१९ को परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ।

नेपालमा कोभिड-१९ नियन्त्रण र रोकथाम गर्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजत्वमा कोभिड-१९ र रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड-१९ विपद् व्यवस्थापन सेन्टर स्थापना गरिएको छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार