वुहानबाट नेपाली ल्याउन वाइडबडी चीन प्रस्थान

Law Hub Nepal फागुन ३, २०७६

काठमाडौं । चीनको वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गरी ल्याउन नेपाल  एयरलाइन्सको वाइडबडी जहाज वुहान प्रस्थान गरेको छ।

आज अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चीनको वुहानको लागि प्रस्थान गरेको हो।

कोरोना भाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई लिएर जहाज भोलि आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ।

जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एक/एक जना इन्जिनियर र लोडमास्टर रहेका छन्।

चीनस्थित नेपाली दूतावासले हुबेई प्रान्तमा रहेका नेपालीहरूलाई स्वदेश पठाउन राजधानी वुहानमा भेला गरिसकेको जनाएको छ ।

नेपाल उड्नुअघि वुहानमा पनि सबैको स्वास्थ्य परीक्षण गरिनेछ। परीक्षणको क्रममा कसैलाई कोरोनाभाइरको लक्षण देखिए उतै क्वारेन्टाइनमा राखिनेछ।

नेपालीलाई वुहानबाट उद्दार गरेर काठमाडौं ओरालेपछि सिधैं क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा लगिनेछ।

जहाजमा रहेका पाइलटसहित अन्य सदस्यलाई भने भक्तपुरको नगरकोटस्थित खानेपानीको तालिम केन्द्रमा राखिने व्यवस्था मिलाइएको छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार