वकिलले सामना गर्नुपर्ने चुनौतीहरू के के हुन् ?

Law Hub Nepal भाद्र ११, २०७७

ल हब नेपाल । वकिलहरूसँग पहिलै बनिबनाउ सहज मार्ग हुँदैन, र उनीहरूले आफ्नो करियरमा सफलता प्राप्त गर्न संघर्ष गर्नुपर्ने हुन्छ ।

कानूनी क्षेत्रमा करियर बनाउँदै गरेकाहरूले विभिन्न उतार-चढावका बीचबाट अघि बढ्नुपर्ने हुन्छ । चाहे एक अनुभवी वकिल होस् वा भर्खरै कानूनमा स्नातक गरेको होस्, दुबैका अघि आ-आफ्नै चुनौतीहरू हुन्छन् ।

समस्या तथा चुनौतीहरू :

१. साधारण तथा वैयक्तिक जीवनको अभाव :

अपेक्षित समयमै काम सम्पन्न गर्नुपर्ने चापमा वकिलहरू हुन्छन्, त्यसकारण उनीहरूले नर्मल र व्यक्तिगत जीवन जिउन समय पाउँदैनन् ।

दैनिक कामको अवधि लामो र कठिन हुनु वकिलहरूको लागि सामान्य नै हो । कामको लोड बढ्दै जाँदा समय पनि बढ्नु स्वाभाविक नै भइहाल्यो । पेशागत जीवन र वैयक्तिक जीवनमा सन्तुलन मिलाउन नसक्नु यस क्षेत्रको एक प्रमुख चुनौती हो ।

२. तनाव :

कामसँगै तनावको सामना पनि वकिलले गर्नुपर्ने हुन्छ । जब वकिलले निर्धारित म्यादभित्रै काम गर्नुपर्ने, ग्राहकले अपेक्षा गरेको समयको ख्याल गर्नुपर्ने, कामको चाप तथा परिवर्तित कानूनहरूसँग आफुलाई अद्यावधिक राख्नुपर्ने जस्ता अवस्थाहरूले वकिलहरूलाई चिन्ता र तनाव दिन्छ नै, कतिपय अवस्थामा नसुतेका रातहरू पनि हुन सक्छन् ।

३. परिवर्तित समय :

एक समय स-साना झमेला तथा समस्या समाधानमा पनि वकिल गुहार्ने चलन थियो । समयको गतिशीलतासँगै अहिले भने मान्छेहरूले स-साना समस्याहरू सजिलै र वकिलको सहायताबिनै समाधान गर्न सकिन्छ भन्ने बुझिसकेका छन् ।जबसम्म उनीहरूको झमेलाले ठूलो रूप लिंदैन, तबसम्म उनीहरू कानूनी सहायताका लागि आउँदैनन् ।

४. प्रविधिको प्रभावसँगै परिवर्तन भएको कानूनी अभ्यास :

प्रविधिको विकास सँगै वकिलहरूले आफुलाई विभिन्न सफ्टवेयरहरू संचालनमा सक्षम बनाउनुपर्ने हुन्छ, किनभने समय प्रतिस्पर्धात्मक छ । वकिलले गर्ने धेरै कामहरू अहिले प्रविधिले प्रभावकारी तरिकाले गर्न थालेको छ ।

५. निरन्तर प्रतिस्पर्धा :

प्रतिस्पर्धामा खरो उत्रिरहनका लागि एउटा बलियो मनोभावनाको विकास र त्यसको निरन्तरताको आवश्यकता पर्दछ । तनाव र कामको लोडले धेरै वकिललाई प्रभाव पार्छ र हतोत्साही गराउँछ । तसर्थ, वकिलहरूले तनाव कम गर्ने तरिकाको खोजी गर्नुका साथै कामप्रति कटिबद्ध हुनुपर्छ ।

६. सबै ग्राहक सजिला हुँदैनन् :

ग्राहकहरू डिमान्डिङ हुनसक्छन्, उनीहरूसँग उच्च अपेक्षा हुन सक्छ, केही हदसम्म अहम् हुनसक्छ र सबै कुरा जानेका पनि हुन सक्छन् । तिनीहरूसँग सहकार्य गर्न वकिलहरूलाई कठिन हुनसक्छ । यस्तो अवस्थामा सहनशीलताका साथ कुशलतापूर्वक कार्य गर्न अग्रसर हुनुपर्छ ।

निष्कर्षमा भन्न सकिन्छ – वकालती पेशा चुनौतीपूर्ण भएपनि यसबाट इनाम र प्रतिष्ठा भने अवश्य आर्जन गर्न सकिन्छ ।

(पथलिगल.इनमा प्रकाशित भएको यो सामग्री ल हब नेपालले भावानुवाद गरेको हो । – सम्पादक )

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार