कोरोना प्रभाव : नेपालको आर्थिक वृद्धि ५.३ प्रतिशत, १० लाख रोजगारी गुम्न सक्ने

Law Hub Nepal चैत्र २२, २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीले नेपालको आर्थिक वृद्धिमा निकै ठूलो धक्का दिने भएको छ ।

विश्वव्यापी कोरोना महामारीले सेवा, पर्यटन र उद्योग क्षेत्रलाई शिथिल बनाएपछि वृद्धिदर खुम्चिने भएको हो । एसियाली विकास बैंक (एडिबी)ले चालू आर्थिक वर्षमा नेपालको वृद्धिदर ४.३ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ ।

सरकारले चालू आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । तर, बजेट कार्यान्वयनको अवस्था कमजोर हुँदा उक्त लक्ष्य हासिल नहुने यसअघि नै प्रक्षेपण आउन थालेको थियो ।

विश्वव्यापी कोरोना महामारीले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर लक्ष्यभन्दा ४.२ बिन्दु प्रतिशतले घट्ने एडिबीको प्रक्षेपण छ ।

यद्यपि, सरकारले घोषणा गरेको लकडाउन २५ चैतमै सकियो र स्थिति थप बिग्रेन भने ५ दशमलव ३ प्रतिशतसम्मको आर्थिक वृद्धि हुन सक्ने पनि एडिबीले जनाएको छ ।

कोरोना महामारी र नेपालमा २४ मार्चदेखि ७ अप्रिलसम्मका लागि तोकिएको लकडाउनबाट मुख्य गरी उद्योग, निर्माण र सेवा क्षेत्र प्रभावित भएको छ ।

त्यस्तै, रेमिट्यान्स पनि उल्लेखनीय दरमा घटेको छ । यसले नेपालको वृद्धिदरलाई घटाउने भएको एडिबीको रिपोर्टमा उल्लेख छ ।

एडिबीले आगामी आर्थिक वर्ष ०७७/७८ मा पनि गत आवको भन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । कोरोना महामारीकै प्रभावका कारण आगामी आवमा पनि आर्थिक वृद्धि ६.४ प्रतिशत मात्रै हुने एडिबीले उल्लेख गरेको छ ।

१० लाख रोजगारी गुम्न सक्ने

कोरोनाको प्रभाव ठूलो हुँदा नेपालमा मात्रै १० लाख रोजगारी गुम्न सक्ने प्रक्षेपण पनि एडिबीले गरेको छ ।

लकडाउन तत्कालै खुलेर काम सुरु भइहाल्यो भने ४८ हजार रोजगारी गुम्ने र यसको प्रभाव लम्बिँदै गएर ठूलो मात्रामा कोरोना संक्रमण मुलुकमा फैलियो भने त्यसले ९ लाख ९७ हजारसम्म रोजगारी गुम्न सक्ने प्रक्षेपण एडिबीको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार