सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान जारी 

Law Hub Nepal माघ ९, २०७६

माघ ९, काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा मतदान जारी छ ।

दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिएका छन् । मतदान केन्द्रमा पुगेर मतदाता बिहानैदेखि नै लाइनमा बसेका देखिन्थे ।

मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता रहेका छन् ।

निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ ।

मतदान सकिनासाथ राजनीतिक दलको सहमतिमा मतगणना कार्य प्रारम्भ हुने छ । आजै राति सातै प्रदेशबाट निर्वाचनको नतिजा प्राप्त हुनेछ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार