सम्पादकीय : ‘कोरोना महामारी र नयाँ वर्ष २०७७ !’

Law Hub Nepal चैत्र ३०, २०७६
  • सम्पादकीय

कोरोना महामारी अहिले सिङ्गो मानवजातिको साझा चुनौतीका रूपमा उपस्थित भएको छ । विश्वका अधिकांश देशहरू संक्रमणको चपेटामा परेका छन् ।

के गरिब र विपन्न देश ! के समृद्ध र शक्तिसम्पन्न देश ! कोरोना विनाभेदभाव सबैतिर फैलिएको छ । अझ आजका मितिसम्म भन्ने हो भने तुलनात्मक रूपमा सम्पन्न देशहरू नै बढी मात्रामा आक्रान्त छन् ।

विश्वभर लाखौं मानिस कोरोनाबाट संक्रमित भएका छन्, लाखभन्दा बढी मानिसहरूले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या कति पुग्ला ? ज्यान कतिले गुमाउलान् ? अनुमान गर्न सकिएला ! किटेर भन्न सकिंदैन ।

औषधि र खोपको विकास नभइसकेको अवस्थामा महामारीलाई नियन्त्रण गर्न ‘लकडाउन’ र ‘सोसल डिस्टेन्स’लाई प्रमुख उपाय मानिएको छ । प्रायः देशले यही उपाय अपनाइरहेका छन् ।

नेपाली जनताले पनि तीन सातादेखि घरभित्रै बसेर सरकारको निर्णयलाई साथ दिइरहेका छन् । ‘लकडाउन’ अपरिहार्य हो, यसमा प्रश्न उठाउनु वाञ्छनीय नहोला । तर, पर्याप्त तयारीविना र वस्तुस्थितिको ठोस विश्लेषणविना निर्णय गरियो कि भन्ने चाहिँ प्रतीत भएको छ ।

दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, डेरामा बस्ने विद्यार्थी र छिमेकी देश भारतमा काम गर्ने नेपालीहरूको उचित प्रवन्ध गरेर लकडाउनको निर्णय गरिएको भए उत्तम हुने थियो भन्ने कुरामा कसैको दुई मत नहोला ।

विश्व स्वास्थ्य संगठनले स्थिति सामान्य नभएसम्म लकडाउनको निरन्तरताको अपील गरिरहेको छ । छिमेकी देश भारतमा अहिले संक्रमणको दर उच्च छ । नेपालमा पनि संक्रमितको संख्या दोहोरो अंकमा पुगिसकेको छ । यो अवस्थालाई दृष्टिगत गर्दा नेपालमा लकडाउनको अवधि थप्नुको विकल्प तत्काललाई देखिंदैन ।

काठमाडौं केन्द्रित परीक्षण प्रक्रियालाई केही दिनयता विकेन्द्रिकृत गरिएको छ । यसलाई अझ प्रभावकारी र फराकिलो बनाउँदै लैजानुपर्छ । परीक्षणको दायरा बढाउनु सरकारको कर्तव्य हो भने ‘लकडाउन’ र ‘सोसल डिस्टेन्स’को पालना गर्नु जनताले आफ्नो कर्तव्य ठान्नु पर्छ ।

महामारीले सिङ्गो विश्व लपेटिरहेको अवस्थामा नेपालीहरूको नयाँ वर्ष २०७७ ले प्रवेश गरेको छ । पक्कै पनि विगतका नयाँ वर्षहरूले आगमन गर्दाजस्तो खुसियाली नेपाली जनताको मनमा छैन ।

तर पनि नयाँ वर्षको प्रवेशले उमङ्ग र रौनक सिर्जना गर्छ । मानिसहरू शुभकामना आदानप्रदान गर्छन्, एकअर्काको सुख, स्वास्थ्य र समृद्धिको कामना गर्छन्, र गर्छन् केही नयाँ अठोट पनि ।

यसर्थ ल हव नेपाल परिवारको तर्फबाट यहाँहरू सबैलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछौं । आगामी दिनमा यहाँहरूको साथ, सहयोग, सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछौं ।

अन्तमा, मानवजातिले कोरोना महामारीलाई यथाशीघ्र परास्त गर्न सकोस्, साथै यो महामारी विश्ववन्धुत्व र भाइचाराको भावना विकास गर्ने प्रस्थान विन्दु बनोस् ।

नयाँ वर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना !

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार