शीर्ष स्थानमा पुग्यो मनाङ

Law Hub Nepal माघ १०, २०७६

माघ १०, काठमाडौं। सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मनाङ मर्स्याङ्दी क्लब फेरि शीर्ष स्थानमा पुगेको छ।

मनाङले शुक्रबार दशरथ रंगशालामा भएको खेलमा अंक तालिकाको पुछारमा रहेको सरस्वती युवा क्लबलाई १-० गोलले पराजित गर्‍यो।

मनाङको जितमा विमल राना नायक सावित भए। उनले खेलको ४६ मिनेटमा गरेको गोल निर्णायक बन्यो।

मनाङका निशान लिम्बुले दायाँ विङबाट क्रस गरे। सो क्रसमा अञ्जन विष्टले हानेको प्रहार बारमा लागेर फर्कियो। रिबाउन्डमा विमालले नजिकबाट हेड गर्दै बललाई गोलपोस्टको दिशा दिए।

जितसँगै शीर्ष स्थानमा उक्लिएको मनाङले ८ खेलबाट १६ अंक जोडेको छ। एक खेल कम खेलेर गोलअन्तरमा पछि परेर दोस्रो स्थानमा झरेको त्रिभुवन आर्मी क्लबको पनि १६ अंक नै छ।

यता अंक तालिकाको पुछारको सरस्वती भने रेलिगेशन नजिक पुगेको छ। सरस्वतीले ८ खेल खेल्दा केवल १ अंक जोडेको छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार