स्वास्थ्य सामाग्री खरिद विवाद : महासंकटमा घिनलाग्दो कृत्य गरेको गगन थापाको टिप्पणी 

Law Hub Nepal चैत्र २०, २०७६

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताको दोषीलाई कारवाहीको माग गरेका छन्।

कोरोना (कोभिड-१९) भाइरसका कारण विश्व महासंकटबाट गुज्रिरहेका बेला पनि अनियमिता हुनु घिनलाग्दो कार्य भन्दै दोषीलाई कारवाहीको माग गरेका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेता थापाले दोषी दण्डित नभएसम्म अनियमिताबारे प्रश्न उठाउन नछोड्न पनि आग्रह गरेका छन्।

‘महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य !’ उनले लेखेका छन्, ‘स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडौं।’

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद थापाले भनेका छन्, ‘दिन ढल्यो, कुरा बिर्सियो हुन हामी कदापि दिने छैनौं।’

सरकारले अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि निजी कम्पनी ओम्नी बिजनेस कर्पारेट इन्टरनेसनल प्रालि (ओबीसीआई) सँग सम्झौता गरेको थियो।

एक करोड ३ लाख ९४ हजार चार सय अमेरिकी डलरमा गरिएको सम्झौता बजार मूल्यभन्दा बढी भएको भन्दै सरकारको चर्काे आलोचना भएको थियो।

सुरुमा खरिद सम्झौता बचाउ सरकारले गरे पनि ओम्नी समूहले सरकारलाई नक्कली सामान उपलब्ध गराएपछि बुधबार मात्र सम्झौता रद्ध गरिएको थियो।

सांसद थापाले सरकार चैत्र २५ गते पछिको रणनीति र योजनाबारे पनि प्रश्न गरेका छन्। सरकारले २५ गतेसम्म लकडाउनको समय थप गरेको थियो।

थापाले यसअघि सरकारलाई कोरोना भाइरसविरुद्ध लड्न सरकारले गर्नुपर्ने कामहरु भन्दै लिखित रुपमै सुझाव दिएका थिए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार