विश्व राजनीतिका ५ महानतम् व्यक्तिहरू, जो कानूनका विद्यार्थी थिए !

Law Hub Nepal जेठ २६, २०७७

ल हब नेपाल । विश्व राजनीतिमा सर्वाधिक प्रभाव पार्ने केही प्रसिद्ध र सम्मानित व्यक्तिहरू छन्, जो कानूनका विद्यार्थी थिए । तीमध्ये कतिपय त आफ्नो जीवनको केही समय वकालतमा समेत सक्रिय रहे ।

आफ्ना असाधारण कर्म र विचारले महान बन्न सफल भएका पाँचजना महान व्यक्तिको संक्षिप्त चिनारी यस आलेखमा समेट्ने प्रयास गरिएको छ ।

१. महात्मा गान्धी

मोहनदास करमचन्द गान्धी (२ अक्टोबर १८६९ – ३० जनवरी १९४८) भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता हुन् ।

यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रिकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ ।

गान्धी ४ सेप्टेम्बर सन् १८८८ मा यूनिभर्सिटी कलेज अफ लण्डनमा कानुन संकाय पढ्न र वकील बन्नको लागि बेलायत गएका थिए ।

इङल्याण्ड तथा वेल्स बार एसोसिएशनको सिफारिसमा उनी भारत फर्किए, तर मुम्बईमा वकालत गर्नमा उनलाई खासै सफलता मिलेन । यसै कारणबाट उनी (सन् १८९३) मा एउटा भारतीय फर्मबाट वकालत गर्न दक्षिण अफ्रिका गए ।

रंगभेद विरूद्धको अफ्रिकी आन्दोलनमा सरिक भएका गान्धी शान्ति र समानताका पुजारी थिए । अहिंसात्मक र शान्तिपूर्ण आन्दोलनको जगमा बेलायती उपनिवेशबाट भारतलाई स्वतन्त्र बनाएर गान्धीले विश्वलाई नै चकित तुल्याए ।

२. कार्ल मार्क्स

सर्वहारा वर्गका महान गुरू कार्ल मार्क्स (५ मे १८१८ – १४ मार्च १८८३) विश्व समाजवादी आन्दोलनका प्रणेता हुन् ।

मार्क्स प्रसिद्ध दार्शनिक र राजनीतिक अर्थशास्त्री हुन् । उनी इतिहासकार हुन्, अझ त्योभन्दा बढी राजनीतिक सिद्धान्तका प्रणेता हुन् ।

समग्रमा उनी साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको रूपमा विश्व राजनीतिमा सर्वाधिक प्रभाव पार्ने प्रखर चिन्तक तथा विचारक हुन् ।

कार्ल मार्क्स दर्शन र अङ्ग्रेजी पढ्न चाहन्थे, तर उनका पिताले उनलाई कानुन विषय अध्ययन गराउन बोन विश्वविद्यालयमा भर्ना गरिदिए ।

त्यहाँको पढाइ र गतिविधिबाट असन्तुष्ट पिताले मार्क्सलाई बर्लिन विश्वविद्यालयमा पठाए । अध्ययनशिल स्वभावका मार्क्स बर्लिनमा दर्शन शास्त्र र इतिहासको अध्ययनमा निमग्न भए ।

३. नेल्सन मण्डेला

नेल्सन मण्डेला (१८ जुलाई १९१८-५ डिसेम्बर २०१३) अश्वेत आन्दोलनका महासेनानी हुन् ।

मण्डेला दक्षिण अफ्रिकामा काला जातिका पहिलो वकिल थिए, जसले जोहानेसबर्गमा सहकर्मी ओलिभर टेम्बोको साझेदारीमा ल फर्म सञ्चालन गरेका थिए । मण्डेलाको उक्त कार्यालयलाई अहिले संग्रहालय बनाइएको छ ।

बेलायती साम्राज्यवाद र उपनिवेशविरूद्ध अविचलित र अथक संघर्ष गरेर नेल्सन मण्डेलाले दक्षिण अफ्रिकालाई स्वतन्त्र देश बनाउन सफल भए ।

उनी दक्षिण अफ्रिकाको पहिलो प्रजातान्त्रिक राष्ट्रपतिमा १९९४ मा निर्वाचित भए । एक कार्यकालमात्र राष्ट्रपति भएर यिनले राजनीतिमा त्यागको भावना प्रदर्शित गरेका थिए ।

४. फिडेल क्यास्ट्रो

कानून पृष्ठभूमि भएका अर्का राष्ट्रपति हुन् फिडेल क्यास्ट्रो (१३ अगस्ट १९२६- २५ नोभेम्बर २०१६) । उनी १९५९ देखि १९७६ सम्म क्युवाको प्रधानमन्त्री र त्यसपछि २००८ सम्म राष्ट्रपति बने ।

हवाना विश्वविद्यालयमा कानूनको अध्ययन गरेका क्यास्ट्रो नेतृत्वको कम्युनिस्ट पार्टीले धेरै ठूलो विद्रोह र क्रान्ति गरेपछि क्युबामा आफ्नो सत्ता स्थापना गर्न सफल भएको हो ।

देशलाई निरंकुश तानाशाहबाट मुक्त गरेर साम्यवादी शासनको सुरूवात गरेका क्यास्ट्रो प्रखर वक्ताका रूपमा पनि चिनिन्छन् । क्युवालाई स्वाधीन र आत्मनिर्भर बनाउँदै विकासको मार्गमा अघि बढाउने देन उनलाई जान्छ ।

५. अब्राहम लिंकन

अब्राहम लिङ्कन (१२ फेब्रुअरी, १८०९ – १५ अप्रैल १८६५) अमेरिकाका १६ औं राष्ट्रपति थिए ।

राष्ट्रपति हुनु अघि नै अब्राहम लिंकन वकिलको रूपमा प्रख्यात थिए । लिंकन सन् १८६० मा अमेरिकाको १६ औं राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

लिंकनले अमेरिकालाई सबैभन्दा ठूलो संकट (अमेरिकी गृहयुद्ध) बाट पार लगाएका थिए । अमेरिकामा दास प्रथा अन्त गर्ने श्रेय पनि अब्राहम लिङ्कनलाई जान्छ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न यहाँ क्लिक गरी हाम्रो पेेज लाइक गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार