नेपालमा ज्यानसम्बन्धी ९ वटा कसूरहरू के के हुन् ? सजाय के हुन्छ ?

Law Hub Nepal श्रावण १७, २०७७

ल हब नेपाल । नेपालको कानून अनुसार जन्मकैदसम्मको सजाय हुने ज्यानसम्बन्धी कसूर एक गम्भीर र अमानवीय अपराध हो । बोलीचालीमा हत्या भनिने ज्यान सम्बन्धी कसूरहरू अंग्रेजीमा Homicide अन्तर्गत पर्दछन् ।

मुलुकी अपराध संहिता, २०७४ परिच्छेद १२ मा ज्यान सम्बन्धी ९ वटा कसूरहरूको व्याख्यात्मक वर्गीकरण र ती अपराधमा हुने सजायको बारेमा दफा १७७ देखि १८७ सम्म व्यवस्था गरिएको छ ।

१७७. ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने :

(१) कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि कसैले कसैलाई निजको ज्यान मर्न सक्ने गरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पुर्याएकोमा तत्कालै ज्यान नमरी सोही चोटको परिणाम स्वरुपपछि ज्यान मरेमा पनि सोही व्यक्तिले ज्यान मारेको मानिनेछ ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जन्म कैदको सजाय हुनेछ ।

१७८. ज्यान जान सक्ने काम गर्न नहुने :

(१) कसैले कुनै काम गर्दा साधारणतया मानिसको ज्यान जान सक्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने कारण हुँदा हुँदै त्यस्तो काम गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कारणबाट कसैको ज्यान मरेमा कसूरदारलाई जन्मकैदको सजाय हुनेछ ।

१७९. गम्भीर उत्तेजना वा रीसको आवेशबाट ज्यान लिन नहुने :

(१) दफा १७७ वा १७८ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा ज्यान लिने व्यक्तिलाई दशदेखि पन्ध्र वर्षसम्म कैद र एक लाख रुपैयाँँदेखि एक लाख पचास हजार रुपैयाँँसम्म जरिबाना हुनेछ :–

(क) कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने कुनै काम गरेबाट कसूरदारले आत्मसंयम्को शक्ति गुमाई त्यस्तो उत्तेजना दिलाउने व्यक्तिको ज्यान मारेकोमा,

तर देहायको अवस्थामा यो खण्ड लागू हुने छैन :–

(१) कसैले कानूनको पालना गर्दा, निजी रक्षाको अधिकारको प्रयोग गर्दा, कुनै राष्ट्रसेवकले आफ्नाे पदीय कर्तव्यको पालन गर्दा वा पालन गर्न लागेको कुनै कामबाट कसूरदार उत्तेजित हुन गएमा,

(२) कसैलाई कुनै क्षति पुर्याउने नियतले कसूरदार स्वयंले उत्तेजित गराएको र त्यसरी उत्तेजित भई त्यस्तोे व्यक्तिले गरेको कामबाट कसैको ज्यान गएकोमा,

(ख) निजी रक्षाको अधिकार असल नियतले प्रयोग गर्दा त्यस्तो अधिकारको सीमा नाघ्न गई जसको बिरुद्ध त्यस्तो अधिकार प्रयोग भएको हो सो व्यक्तिको ज्यान मरेकोमा,

(ग) एकाएक भएको झगडामा उठेको रीसको आवेशमा तत्काल कसैको ज्यान मरेकोमा,

तर यस खण्ड बमोजिमको काम गर्दा कसूरदारले अनुचित लाभ हासिल गरेको वा क्रुुर वा अस्वभाविक तवरबाट काम गरेको हुनु हुँदैन ।

(२) उपदफा (१) को खण्ड (ख) र (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि इवी लिएर वा सोच विचार गरेर ज्यान लिएकोमा सो खण्डहरुमा लेखिएको व्यवस्था लागू हुने छैन ।

१८०. मार्न चाहेको व्यक्ति नमरी अर्को व्यक्ति मरेमा सजाय हुने :

दफा १७७, १७८ र १७९ मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कसैलाई मार्ने नियतले वा कुनै व्यक्ति मर्न सक्छ भन्ने जानीजानी वा त्यसको विश्वास गर्नु पर्ने कारण भई कुनै काम गर्दा त्यस्तो व्यक्ति नमरी अर्को व्यक्ति मर्न गएमा निजलाई अवस्था अनुसार दफा १७७, १७८ र १७९ मा लेखिए बमोजिमको सजाय हुनेछ ।

१८१. लापरवाहीपूर्ण काम गरी ज्यान मार्न नहुने :

(१) कसैले लापरवाहीपूर्ण काम गरी कसैको ज्यान मार्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दफा १७७, १७८ र १७९ को अवस्थामा बाहेक तीनदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँँदेखि एक लाख रुपैयाँँसम्म जरिबाना हुनेछ ।

१८२. हेलचक्र्याईं गरी ज्यान मार्न नहुने :

(१) दफा १७९ को अवस्थामा बाहेक कसैले हेलचक्र्याइपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

(३) उपदफा (१) मा लेखिएदेखि बाहेक कसैको ज्यान मर्न सक्छ जस्तो नदेखिएको अवस्थामा कसैले कुनै काम गर्दा भवितव्यमा परी कसैको ज्यान गएमा निजलाई छ महिनादेखि दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

१८३. ज्यान मार्ने उद्योग गर्न नहुने :

(१) कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिबाना हुनेछ ।

१८४. आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने :

(१) कुनै नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्तिलाई आफूले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तव्य भएको व्यक्तिले निजको जिउ, ज्यानमा खतरा पुग्न सक्ने गरी फाल्न, परित्याग गर्न वा वेवास्ता गरी छोड्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

(३) उपदफा (१) बमोजिमको कसूरबाट त्यस्तो बालबालिका, अशक्त, रोगी वा बृद्ध व्यक्ति मरेको रहेछ भने कसूरदारलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

तर फालिएको, परित्याग गरिएको वा वेवास्ता गरी छाडेको कारणबाट नवजात शिशुको मृत्य भएमा दफा १७७ बमोजिम सजाय हुनेछ ।

१८५. आत्महत्या गर्न दुरुत्साहन दिन नहुने :

(१) कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

१८६. क्षतिपूर्ति भराई दिनु पर्ने :

यस परिच्छेद बमोजिम भएको कसूरबाट कसैको जिउ, ज्यान वा सम्पत्तिमा हानि, नोक्सानी वा क्षति भएमा कसूरदारबाट पीडित व्यक्ति र निज नभए निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।

१८७. हदम्याद :

(१) दफा १७७, १७८, १७९, १८०, १८१, १८२ र १८४ को उपदफा (३) मा रहेको प्रतिबन्धात्क वाक्यांश अन्तर्गतका कसूरमा कसूरदार आफैं साबित भई पोलेकोमा जहिलेसुकै पनि उजुर लाग्नेछ । त्यस्तो कसूरमा कर्तव्यको उजुरी परेकोमा अनुसन्धानबाट कर्तव्यवाला यही हो भन्ने पत्ता नलागेकोमा बीस वर्ष पछि र कर्तव्यको उजुर नपरेकोमा सो वारदात भएको दुई वर्षपछि उजुरी लाग्ने छैन ।

(२) उपदफा (१) मा लेखिएदेखि बाहेकका यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार