जेलमा पढाउन जाने शिक्षिका र कैदीबीच पिरती बसेपछि जेलमै गरे बिहे

Law Hub Nepal कार्तिक १७, २०७७

एजेन्सी ।फूलैफूलले झकिझकाउ मण्डप। रमाइरहेका आफन्त र साथीसंगीका भीड। सेतो गाउनमा सजिएर कसम खानु। अनि आफ्ना जीवनसाथीको आलिंगनमा बाँधिएर चुम्बन गर्नु।

कानुनकी विद्यार्थी ३२ वर्षीया चेल्सी मुरका पनि रहर यस्तै थिए।

गत साता उनको बिहे थियो, आफ्ना प्रेमी क्रिस्टोफर ब्ल्याकवेलसँग। उनका यी सपना त पूरा भएनन् तर उनले आफूलाई सबभन्दा भाग्यमानी ठानेकी छन्।

क्रिस्टोफर र चेल्सीको पछिल्लोपटक छ महिनाअघि भेट भएको थियो। त्यसपछि एकैपटक बिहेकै दिन हो, उनीहरूको देखादेख भएको। त्यस दिन उनीहरू एउटा खाली कोठामा थिए। छ फिट दुरीमा उभिए। चेल्सीले गाउन र फूलबुट्टे मास्क लगाएकी थिइन्।क्रिस्टोफर सेतो टिसर्ट र कालो मास्कमा देखिए।

खाली कोठामा अचानक केही टेबुल र कुर्सी राखिए। पृष्ठभूमिमा एउटा पोस्टर झुन्ड्याइएको थियो- पतझड सुरू हुनै लाग्दाको कुनै रंगीन जंगलमा चिटिक्कको पुल उभिएको दृश्य।

यो कुनै मण्डप भने होइन, न पार्टी प्यालेस। यो वासिङ्टन राज्यस्थित एउटा कारागार हो। ‘मुनरो करेक्सनल कम्प्लेक्स’ (कारागार) को भेटघाट कक्षमा चेल्सी र क्रिस्टोफरले गत सेप्टम्बर १८ मा बिहे गरेका हुन्।

क्रिस्टोफर जहाँ बेहुला बनेर उभिएका थिए, उनी त्यहाँ बन्दी जीवन बिताइरहेका छन्। बिहे हुँदै गर्दाका प्रत्यक्षदर्शी ‘आफन्त’ कारागारका सुरक्षाकर्मी र कर्मचारी मात्रै थिए। ३९ वर्षीय क्रिस्टोफर र चेल्सीले बिहेबारे जे-जस्तो सपना साँचेका थिए, उनीहरूको अनुभव त्योभन्दा बेग्लै रह्यो। तै पनि उनीहरू आफूले यो सौभाग्य पाएकामा धन्य ठान्छन्। सहयोगीहरूप्रति कृतज्ञता प्रकट गर्छन्।

बेहुला क्रिस्टोफर १७ वर्षदेखि कारावासमा छन्। उनको सजाय थप २५ वर्षपछि मात्र सकिन्छ।

उनलाई सन् २००३ मा डकैतीको अभियोग लगाइएको थियो। यसका लागि आठ वर्षको कैद सुनाइयो। फेरि सन् २००३ मै घरभित्रै आक्रमण गरेर १७ वर्षे जोसुआ मेको हत्या गरेको अभियोग क्रिस्टोफरलाई लाग्यो। सन् २००७ मा अदालतले क्रिस्टोफरमाथिको त्यो अभियोगलाई जघन्य हत्या ठहर गर्दै ३८ वर्षको कैद सजाय सुनायो। वासिङ्टन राज्यले उनलाई ‘परोल’ मा छाड्ने संकेत दिएको छैन। यसको मतलब, उनी सन् २०४५ मा मात्रै जेलबाट निस्कनेछन्।

वासिङ्टनकै ताकोमास्थित हिलटप बस्तीमा उनी हुर्किएका थिए। यो बस्ती सन् १९८० को अन्त्यताका असाध्यै ज्यादा ‘ग्याङ फाइट’ का कारण चर्चामा आएको थियो। अहिले त्यो बस्तीको रूप पूरै फेरिएर सुसंस्कृत भइसकेको छ।

उतिबेलाको त्यो बस्तीमा हुर्केका थिए क्रिस्टोफर। सबभन्दा पहिले उनी १२ वर्षकै उमेरमा कार चोरीको अभियोगमा पक्राउ परेका थिए र छ वर्ष निम्ति पटकपटक जेल गइरहनुपर्ने गरी दण्डित भएका थिए।

यसरी कैदी जीवन बिताउँदाकै क्रममा क्रिस्टोफरले सियाटल सेन्ट्रल कलेजबाट ‘जेनरल एसोसिएट डिग्री’ सम्मको पढाइ गर्न भ्याए। कोलोराडोको अलामोसास्थित ‘एडम्स स्टेट युनिभर्सिटी’ बाट राजनीतिशास्त्रमा स्नातक पनि गर्दैछन्। प्रमाणपत्र पाउन भने उनले अझै केही कक्षाको उपस्थिति पुर्‍याउनै पर्छ।

क्रिस्टोफर आफू जेलभित्र रहँदाका अनुभव नियमित लेखिरहन्छन्। उनका लेख ‘बजफिड’, ‘द मार्सेल प्रोजेक्ट’ र ‘जुज करेन्ट्स्’ जस्ता अखबारमा छापिएका पनि छन्।

बेहुली चेल्सी भने क्यालिफोर्निया राज्यको ओजाइस्थित सम्पन्न समाजमा हुर्किएकी हुन्।

‘मेरो बसोबास नजिकैको डाँडोमा हिप्पीहरूले गुँड लगाएर बसेको सहर थियो,’ उनी भन्छिन्, ‘जसको गुरुत्वाकर्षणले सन्की र रहस्यवादीहरूलाई सदैव आकर्षित गर्थ्यो।’

चेल्सी वासिङ्टन विश्वविद्यालयमा राजनीतिशास्त्रमै पिएचडी गरिरहेकी छन्। अबका केही महिनामै आफ्नो पढाइ पूरा हुने उनको भनाइ छ। यसबीच उनले त्यही विश्वविद्यालयमा कानुन संकायतर्फ पढाइ थालेकी छन्। अनि त्यहीँ सहायक शिक्षक भएर पढाइरहेकी पनि छन्।

‘पढे-लेखेर मैले गर्न चाहेको काम बेग्लै छ,’ उनी भन्छिन्, ‘म लामो अवधिको जेल सजाय सुनाइएका मानिसको मुद्दालाई कानुनी फैसलापछि समीक्षा गर्ने कार्यतर्फ लाग्न चाहन्छु।’

सन् २०१७ को गर्मीयाममा कारागारभित्रै बन्दीहरूलाई संवैधानिक कानुन र नागरिक स्वतन्त्रताको कक्षा चलाइएको थियो। त्यति बेला स्वयंसेवी शिक्षकका रूपमा पढाउन गएकी चेल्सी र विद्यार्थीका रूपमा बसेका कैदी क्रिस्टोफरका नजर पहिलोपटक जुधेका थिए।

सन् २०१९ को फेब्रुअरी महिनामा चेल्सीले शोधपत्र तयार गर्नुका साथै आपराधिक न्यायबारे पनि रूचि राखिन्। त्यसै बेला ‘कैद सजाय पुनर्संरचना र माफीसम्बन्धी कानुन’ विषयमा रूचि राख्नेको सियाटलमा भेला भएको थियो। उनी उपस्थित भइन्। त्यहाँ क्रिस्टोफरकी आमा कोन्नी पाल्मरसिम पनि पुगेकी थिइन्। यसरी अचानक भएका भेटघाटले पनि चेल्सीलाई भावी प्रणयबन्धनतर्फ कस्दै लग्यो।

‘उनले छोरा क्रिस्टोफरका लेखनबारे चर्चा गर्दै उनका आगामी कामबारे जानकारी दिएकी थिइन्,’ सासूसँगको त्यो भेट सम्झँदै चेल्सी भन्छिन्, ‘कैदमा रहेका छोरालाई मैले केही सहयोग गरिदिन सक्छु कि भन्ने उनको आकांक्षा थियो।’

फेब्रुअरीमै चेल्सी र क्रिस्टोफरबीच पत्राचार सुरू भयो। संयोगले त्यति बेलै उनीहरू दुवै जना आफ्ना पूर्वजोडीसँग अलग्गिएर बसेका थिए। जेलभित्रका बन्दीलाई उपलब्ध गराइने इमेलमार्फत् उनीहरूको घनिष्टता बढ्दै गयो।

‘चिप्लेकिराको गतिमा संवाद हुने त्यो इमेलबाटै हाम्रो प्रेमका पत्र खुल्दै गइरहेका थिए,’ चेल्सी भन्छिन्, ‘एकपछि अर्को गर्दै हामीबीच हुने पत्राचारको थाक लाग्दै गयो।’

यसरी एकअर्कासँग जोडिदिने पत्रहरूमा मायासँगै संगीत, सिनेमा र पुस्तकका रूचि पनि अटाएका हुन्थे।

‘हामीले मनपर्ने गीतहरू पनि पठाउन थाल्यौं जसले हामी दुवैलाई एकअर्कासँग झनै जोड्न थाल्यो। कहिलेकाहीँ हामी पुस्तक पनि बाँडेर पढ्थ्यौं। त्यसैगरी केबलले उपलब्ध गराउने सिनेमाहरू एकसाथ हेरेर आ–आफ्ना अनुभूति पनि साट्न थाल्यौं।’

यसरी निकटता बढ्दै गएपछि बल्ल थाहा भएको एउटा कानुनी प्रावधानले उनीहरू दुवैलाई अझ पिरोल्न थाल्यो।

वासिङ्टन राज्यको कारागारसम्बन्धी कानुनअनुसार जेलमा गएर स्वयंसेवीका रूपमा पढाउने कुनै पनि मानिसले त्यो पढाइ सिध्याएपछि आगामी तीन वर्षका लागि त्यो जेलका कुनै पनि कैदीबन्दीलाई भेट्न मिल्दैन।

उनीहरूले यो नीति नै परिवर्तन गराउने प्रयास थाले।

‘अनेक वकालत र निरन्तरको संघर्षपछि बल्लतल्ल त्यो तीन वर्षसम्म भेट्न नपाइने कानुन छोट्याएर एक वर्षमा झार्न सफल भयौं,’ चेल्सी भन्छिन्, ‘सरकारले त्यो परिवर्तित नीति सन् २०१९ नोभेम्बरदेखि लागू हुने भने पनि अहिलेसम्म विभागीय वेबसाइटमा प्रकाशन गरिसकेको छैन।’

आफूहरू प्रेममा परिरहँदाको क्षण सम्झना गर्न नसके पनि त्यो बेलाका घटनाक्रमको अनुभूतिले उनीहरू दुवैलाई झक्झक्याइरहन्छ।

क्रिस्टोफरका किशोरावस्थाका रेकर्ड उल्लिखित ३ सय ६० पानाभन्दा बाक्लो दस्तावेज हातमा हुँदाहुँदै चेल्सीले भेटेरै कुरा गर्न खोजेकी थिइन्।

त्यति बेलै क्रिस्टोफरले महशुस गरे, ‘यिनै हुन् मेरो पक्का साथी।’

उनीहरूबीच औपचारिक रूपमा कसैले बिहेको प्रस्ताव राखेनन्। तर कुनै समय क्रिस्टोफरले आफ्ना मनपर्ने पचासवटा गुणको सूची तयार पार्दा एक किसिमले प्रस्ताव राखेको महशुस चेल्सीले गरेकी थिइन्। अन्ततः गत जनवरीमा उनीहरूले बिहे गर्ने निधो गरे।

मेगन रोज डोनाभान सन् २००८ अर्थात्, कलेज पढ्दादेखि नै चेल्सीकी मन मिल्ने साथी हुन्। ‘उसलाई यति बेला भरोसा गर्न सकिने जोडीको जरूरी थियो,’ साथीबारे मेगन भन्छिन्, ‘एउटा यस्तो जोडी जसले तत्कालको आवेग प्रदर्शन गर्नेभन्दा उसलाई बुझेर व्यवहार गरोस्।’

मेगनका अनुसार चेल्सीको बिहेले उनका अरू केही साथीसँगका सम्बन्ध र परिवारमै पनि केही तनाव सिर्जना गर्नेछ।

‘जति बेला चेल्सीले बिहेको कुरा सुनाइन्, त्यति बेलै मैले यो सहज हुँदैन भन्ने बुझेकी थिएँ,’ उनी थप्छिन्, ‘किनभने यो सम्बन्धलाई उनको जीवनमा जोडिएका सबैले नकारात्मक प्रतिक्रिया दिनेछन्।’

त्यही महिना चेल्सी र क्रिस्टोफरले कारागार विभागमा बिहेका निम्ति आवेदनका लामो प्रक्रिया सुरू गरेका थिए। ठ्याक्कै त्यति बेलै कोरोना महामारी चर्कियो। ‘गाह्रो माथि झनै साह्रो’ भनेजस्तै भयो। त्यसै त यो बिहे मुश्किल, अब त झन् हुनै नसक्नेजस्तो देखियो।

चेल्सीले आफ्ना हुनेवाला पतिलाई जेल गएर भेट्न सुरू गरेको तीन महिना नपुग्दै कोरोनाका कारण कारागारमा परिवार तथा आफन्तको भेटघाटै प्रतिबन्ध भयो। फेरि वासिङ्टन राज्यमा बेहुला-बेहुलीसँगै बसेर गरिनेबाहेक ‘भर्चुअल बिहे’ लाई कानुनी मान्यता पनि दिइएको छैन।

गत मेमा उनीहरूले बल्लतल्ल कारागार विभागले उपलब्ध गराएको बिहेको कागजातमा हस्ताक्षर गर्ने मौका पाए। त्यो कागजात पनि ‘बिहेको अनुमतिपत्र’ भने थिएन।

‘विभागले हस्ताक्षर गर्न लगाएको त्यो कागजातमा मलाई आजसम्म हुनेवाला पतिले कुनै दुर्व्यवहार गरेका छन् कि छैनन् भनेर सोधिएको थियो,’ उनी भन्छिन्, ‘त्यसैगरी हुनेवाला पतिको सम्पूर्ण आपराधिक विवरणबारे मलाई जानकारी छ कि छैन भनेर सोधिएको थियो।’

कोरोनाकै कारण पनि यो प्रक्रिया अझ तीव्र होस् भन्ने चाहना आफूमा पलाएको चेल्सी बताउँछिन्।

‘बन्दी अवस्थामा रहेका मानिसलाई कोरोना हुने सम्भावना अरूभन्दा ५५० प्रतिशत बढी छ भने उनीहरूको मृत्यु सम्भावना ३०० प्रतिशत बढी छ,’ उनी भन्छिन्, ‘यस्तो अवस्थामा कसैगरी बिरामी मात्रै परिदिए पनि बिहे नगरी एकले अर्कालाई गरिने सेवा र चासोका हक पनि हामीसँग रहन्थेन।’

गत मे १८ मा चेल्सीले वासिङ्टन कारागार विभागका सहायक सचिव रोबर्ट हर्जोग र मुनरो कारागारकै एसोसिएट सुपरिटेन्डेन्ट जोन पाडिल्लाका साथ विभागमै पुगेर बिहे गर्न मिल्छ कि मिल्दैन भनेर सोधखोज गरिन्। उनीहरूलाई कतैबाट पनि सकारात्मक संकेत दिइएन।

जुन मध्यसम्म फेरि इमेल आदानप्रदान भए।

‘यो असाध्यै जटिल र थकाउने प्रक्रिया थियो,’ उनी भन्छिन्, ‘तै कानुनकै विद्यार्थी भएका नाताले मसँग भएका प्रणालीगत जानकारी मेरानिम्ति बहुमूल्य उपाय बन्यो।’

यसैबीच मे २९ मा राज्यको सर्वोच्च अदालतले भिडिओमार्फत् गरिने बिहेलाई कानुनी मान्यता दिइसकेको जानकारी उनले पाइन्। तर, यसबारे पनि सार्वजनिक सूचना जारी भइसकेको थिएन।

तारन्तार इमेल र फोन सम्पर्कपछि अन्ततः अगस्ट १८ मा बल्ल स्टेट सिनेटर जो नुएनले दिएको सन्देशलाई कारागार विभागका सहायक सचिव हर्जोगले सुनाए। त्यो सन्देशमा अब उनीहरूलाई जेलले ‘भर्चुअल’ बिहेको अनुमति दिइएको जानकारी थियो।

भोलिपल्ट अझ खुसीको खबर आइपुग्यो। सबैलाई चकित पार्दै त्यो खबरमा अब कारागारभित्रै बेहुला-बेहुलीको उपस्थितिसहित बिहे गर्न दिइने जानकारी थियो।

जोडीले प्राप्त गरेको कागजातमा जेलभित्रै बिहे गर्न दिइने अनुमतिबाहेक केही नियम पनि उल्लेख थिए।

‘वैवाहिक कार्यक्रम अवधिभर सबैले भौतिक दुरी कायम गरेकै हुनुपर्नेछ। बेहुला-बेहुलीले पनि नजिकिन पाउने छैनन्। यो नियम पालना नगरे तत्कालै वैवाहिक समारोह बन्द गरिनेछ। त्यसले जेलका बन्दीमाथिको अतिक्रमण ठहर गर्दै भेटघाटका निम्ति आउनेलाई समेत त्यो अनुमति निलम्बन वा खारेज गरिदिनेछ।’

यो सन्देशसँगै चेल्सी र क्रिस्टोफरले आफ्नो सपना पूरा गर्न पाए।

बिहेका दिन क्रिस्टोफरलाई उनका निम्ति तोकिएको बन्दी पोसाकमै भेटघाट कक्षमा लगिएको थियो। त्यति बेला उनी आफैंले दानाहरू उनेर मास्कमा ‘काला जातिको जीवनको मूल्य छ’ अंकित गरेको मास्क लगाए।

क्रिस्टोफर दानाहरू उनेर माला बनाउने कुशल कालिगढ पनि हुन्। कारागारमा रहँदा उनले आफूले उनेका यस्ता माला बेचेरै चेल्सीका निम्ति औंठी किनिदिएका थिए।

त्यो औंठीबारे चेल्सीले भनेकी थिइन्, ‘क्रिसले असाध्यै मिहिनेत गरेर तयार पारेको माला बेचेर त्यही पैसाले किनिदिएको मेरो औंठीमा पहेँलो हिरा छ। यसमा दुइटा अर्ध र एउटा पूर्ण चन्द्राकार अंकित छ।’

जेलभित्रका प्रक्रिया पूरा गर्दागर्दै लगनस्थलसम्म पुग्न चेल्सीलाई तोकिएको समयभन्दा ४० मिनेट बढी लागेको थियो। त्यो प्रक्रियालाई उनले अपमानजनक बताइन्। उनले तलसम्मै लमतन्न परेको सेतो गाउन लगाएकी थिइन्, जुन घुँडाबाट तल चिरा परेको थियो।

कारागारका पदाधिकारीले लुगाको लम्बाइ नापे र हिलजुत्ताको उचाइ पनि लिए। यति गरिसकेपछि पनि चित्त बुझेन।उनको पोसाकबाट स्तन अलि बढी देखाएको भनेर आपत्ति जनाए।

‘तसर्थ मैले कसेरै ज्याकेट लगाएँ,’ उनी भन्छिन्, ‘कुनै पनि बन्दी भेट्न जानेले भोग्ने अपमानका यी त सामान्य नमूना मात्र थिए।’

यति सबै गरिसकेपछि जब उनी लगनस्थल प्रवेश गरिन्, त्यति बेला बेहुला र बेहुली दुवैका आँखा आँसुले भरिएका देखिन्थे। उनीहरूले बल्ल हल्का महशुस गरे।

‘केही तलमाथि भइहाल्ला कि भनेर हामी निरन्तर भयभित थियौं,’ क्रिस्टोफर भन्छन्, ‘मलाई जुनसुकै बेला भित्र हुलिदेलान्, समारोह जुनसुकै बेला स्थगित गरिएला, अनि मेरी हुँदै गरेकी बेहुलीलाई आगामी दिनमा समेत जेलमा आएर भेटघाट गर्न नदेलान् भन्ने चिन्ताले खाइरहेको थियो।’

बिहे समारोहमा चेल्सीका साथ अर्को एक जना व्यक्ति आउने अनुमति दिइएको थियो। त्यो अनुमति पाएकी थिइन् उनै साथी मेगन रोज डोनाभानले।

‘यो वैवाहिक समारोह वास्तवमै विचित्रको थियो,’ मेगन भन्दै थिइन्।

बेहुलीले आफ्नो इच्छापत्र पढिरहेका बेला मेगन चेल्सीभन्दा छ फिट पर थिइन्।

‘मलाई थाहा छ, हाम्रो दाम्पत्य जीवन सजिलो नभए पनि तिमीसँगको प्रेम सजिलो हुनेछ,’ मास्क लगाइएकै अवस्थामा चेल्सी भनिरहेकी थिइन्, ‘म जस्तै परिस्थितिमा पनि तिमीलाई प्रेम गर्ने बाचा गर्छु। यो बिहे हाम्रो दाम्पत्य जीवनको पहिलो उकालो हुने छैन र अन्तिम पनि हुने छैन।’

कारागारकै पादरी ब्रायन हेनरीले यो बिहे सम्पन्न गराएका थिए।

‘हामीले कागजातहरूमा दस्तखत ग‍र्‍यौं, केही तस्बिर खिच्यौं र समारोह सम्पन्न भएको घोषणा गरियो,’ क्रिस्टोफर भन्छन्, ‘अब फेरि हामी दम्पतीले एकअर्कालाई कहिले त्यसरी भेट्न पाइने होला भनेर सोच्दा आँखा रसाउँछन्।’

क्रिस्टोफरकी आमाका अनुसार कारागारभित्र वर्षौं थुनिएपछि उनका छोरामा धेरै सुधार भइसकेको छ।

‘हरक्षण नकारात्मक परिवेशले घेरिँदाघेरिँदै पनि उसले जसोतसो आफूभित्र सकारात्मक सोच विकास गरिरहेको छ,’ उनी भन्छिन्, ‘मेरो छोराले चिताएको जस्तै बेहुली पाउनु ठूलो आशीर्वाद हो।’

नियम-कानुन पालना गरेरै यो जोडीले बिहे गरेकामा आफू कृतज्ञ भएको कारागार विभागका हर्जोगले बताए।

‘यो बिहे गराउन आवश्यक तर चूनौतीपूर्ण प्रक्रिया पूरा गर्दा प्राप्त सहयोगका निम्ति हामी चेल्सी र क्रिस्टोफरप्रति आभारी छौं,’ हर्जोगले इमेलमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, ‘उनीहरूको दीर्घ एवं सुखी दाम्पत्य जीवनको कामना गर्छौं।’

बिहेपछि चेल्सीले आफ्नो परिवारसँग पनि कुराकानी गरिसकेकी छन्।

‘यो विवाहबाट उहाँहरू धेरै खुसी नभए पनि सहयोगी नै देखिनुभएको छ,’ उनले भनिन्, ‘म असाध्यै खुसी छु। म मेरा पतिलाई असाध्यै मनपराउँछु। उनको अभावमा अब मेरो जीवनको तस्बिर पूरा हुँदैन। मानिसको जीवन जुनसुकै बेला अप्ठ्यारो मोडमा उभिन सक्छ। यो मामलामा मैले मेरो हृदयको आवाज सुनेँ।’

यति बेला चेल्सी र क्रिस्टोफर दुवै धन्य छन्। आफूहरूको बिहे भएकामा मात्र होइन, अब आउने दिनमा अरू पनि नयाँ जोडीले जेलभित्र जीवनसाथी रोज्न र बिहे पनि गर्न सक्ने परिस्थिति सिर्जना भएकामा उनीहरूको सन्तुष्टि दोब्बर भएको छ।

‘बिहे आफैंमा मानवअधिकार हो,’ क्रिस्टोफर भन्छन्, ‘कोही कुनै परिस्थितिमा भएकै कारण उसले प्रेम गर्न पाउँदैन भन्नु अमानवीय हो।’

यो जोडी मुनाफारहित समूह ‘लुक टु जस्टिस’ स्थापना गर्न लागिरहेका छन्। यो वासिङ्टनमा कम उमेरमै गरिएका अपराधका लागि सजाय भोगिरहेकाको फैसलाबारे पुनर्विचार गर्न सक्रिय हुनेछ।

मानिसको दिमागबारे विज्ञानले भनेका कुरा चेल्सीले इमेलमार्फत् उल्लेख गरेकी छन्, ‘विज्ञानले व्यक्तिको दिमाग २५ वर्ष नपुग्दासम्म पूर्ण विकसित भएको हुँदैन भनिरहेको छ। वासिङ्टनमा कसैले २१ वर्ष नपुग्दासम्म चुरोट किन्न पनि पाउँदैन। यस्तो अवस्थामा १८ वर्ष नाघ्नेबित्तिकै अरूसरह सजाय दिनु उपयुक्त हुँदैन। यस्तो कानुन पारित भएको खण्डमा २५ वर्ष नपुग्दै कसैले लामो कारावास सजाय पाउँछ भने पनि ऊ राज्यबाट माफी पाउन सक्ने हकदार बन्नेछ।’

आफूले किशोरावस्थामा गरेको गल्तीका लागि दिइएको सजाय पक्षपातपूर्ण भएको क्रिस्टोफरलाई पनि लाग्छ।

(द न्यूयोर्क टाइम्सका लागि जेनी ब्लकले लेखेको स्टोरीको सेतोपाटीमा प्रकाशित भावानुवाद)

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार