पैदल हिँडेका नागरिकलाई घरसम्म पुर्‍याउन सर्वोच्चले दियो सरकारलाई आदेश

Law Hub Nepal वैशाख ५, २०७७

काठमाडौं । पैदलै हिँडेका नागरिकलाई घरसम्म पुर्‍याइदिन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

सर्वोच्चले विकल्पको अभावमा बाध्यतामा परेका र अहिले काठमाडौं लगायतका विभिन्न सहरी क्षेत्रबाट आफ्नो गाउँ जान पैदलै हिँडेकालाई गन्तव्यमा पुर्‍याइदिन सरकारलाई अन्तरिम आदेश दिएको हो ।

केहीदिन अघि वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहित केही वकिलहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र सपना मल्लको इजलासले शुक्रबार गरेको आदेशमा उनीहरूलाई नि:शुल्क घर पुर्‍याइदिन भनेको हो।

परीक्षण गर्दा शंका भएका व्यक्तिलाई क्वारेन्टिन वा आइसोलेसनमा पठाउन पनि सर्वोच्चले भनेको छ।

आदेशमा शहरमा विकल्पको अभाव भएका वर्गलाई उनीहरूको वडावडाबाट पृष्ठभूमिसहितको लगत संकलन गरी घरगाउँ जान चाहे आवश्यक स्वास्थ्य सुरक्षा कायम गरी घर पुर्‍याइदिन पनि भनिएको छ।

संक्रमणमा परेका, जोखिममा रहेका र पेशा रोजगार गुमाइ तनावमा रहेका जनताहरूलाई केन्द्रीत गरी उनीहरूको मानसिक स्वास्थ्य समेतलाई विचार गरी उपयुक्त माध्यमद्वारा सघन मनोसामाजिक परामर्शको व्यवस्था गर्न गराउन सर्वोच्चले सरकारलाई आदेश दिएको छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार