जापानी अर्बपतिद्वारा चन्द्रमाको सहयात्रा गर्ने ‘जीवनसाथी’ को खोजी स्थगित !

Law Hub Nepal माघ १९, २०७६

माघ १९, काठमाडौं । जीवनसाथीसँग चन्द्रमा यात्रा गर्ने योजना बनाएका जापानी अर्बपतिले अब एक्लै यात्रा गर्ने भएका छन्।

बिबिसीका अनुसार स्पेसएक्स मिशनको पहिलो अन्तरिक्ष पर्यटकका रूपमा चन्द्रमावरिपरि यात्रा गर्ने योजना बनाएका युसाकु माइएजावाले आफूसँग सहयात्रा गर्ने ‘जीवनसाथी’ को खोजी स्थगित गरेका हुन् ।

फेशन उद्योगी युसाकु माइएजावाले २० वर्षमाथिका अविवाहित महिलाहरूलाई जोडी बाँध्ने एउटा कार्यक्रममा सहभागी हुन आवेदन दिन आमन्त्रण गरेका थिए। जसमा झन्डै २८,००० महिलाले आवेदन दिएका पनि थिए।

तर गत हप्ता उनले आफूलाई मिश्रित अनुभूति भएको भन्दै जीवनसँगिनी खोज्ने योजना स्थगित गरेको घोषणा गरे।

गत महिना ४४ वर्षीय माइएजावाले एउटा वेबसाइटमा विज्ञापन गरेका थिए। त्यसमा सर्त र मापदण्डहरूको सूची थियो। आवेदक अविवाहित, २० वर्षमाथि र अन्तरिक्षयात्रा गर्न इच्छुक महिला हुनुपर्ने उल्लेख थियो।

उनको सन् २०२३ मा अन्तरिक्षयात्रा गर्ने योजना भने परिवर्तन भएको छैन। उनी अब एक्लै अन्तरिक्ष पर्यटक बन्नेछन्।

उनी भर्खरै २७ वर्षीया अभिनेत्री आयामे गोरिकीसँग छुट्टिएका थिए।

जोजो नामक कम्पनीका संस्थापक तथा प्रमुख माइएजावाले यसअघि पनि अरूको ध्यानाकृष्ट हुने खालका गतिविधि गर्दै आएका  थिए।

आफ्नो एउटा ट्वीट शेअर गर्ने १०० जना व्यक्तिलाई १० लाख येन बाँड्ने उनको वाचा थियो।

उनको उक्त ट्वीट सर्वाधिक रिट्वीट भयो। उनले गत वर्ष ज्यानुअरीमा विजेताहरूलाई सूचित गरेको विवरण प्रकाशित भएको थियो।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार