नेपाली न्याय क्षेत्रका अग्रणी महिलाहरू (शान्तिदेवी क्षेत्रीदेखि सुशीला कार्कीसम्म)

Law Hub Nepal श्रावण १२, २०७७

ल हब नेपाल । नेपालको कानूनी तथा न्यायिक क्षेत्रमा महिला वर्गको उपस्थिति र अवस्थाका बारेमा सामान्य जानकारी समेट्न यो आलेख तयार पारिएको हो ।

पहिलो महिला वकिल, पहिलो महिला न्यायाधीश, सर्वोच्चको पहिलो महिला न्यायाधीश र प्रधानन्यायाधीश लगायतका बारेमा संक्षिप्त चिनारी प्रस्तुत गर्नु र न्याय क्षेत्रमा महिलाको विगतदेखि वर्तमानसम्मको अवस्था संक्षिप्तमा दर्शाउनु यस आलेखको ध्येय रहेको छ ।

नेपालको न्यायिक इतिहासमा उल्लेखनीय महिलाहरू :

पहिलो महिला वकिल : शान्तिदेवी क्षेत्री 

नेपालको इतिहासमा पहिलो महिला वकिल भनेर शान्तिदेवी क्षेत्रीलाई मानिन्छ । सन् १९६१ मा कानून व्यवसायीको प्रमाणपत्र पत्र प्राप्त गरेकी क्षेत्री सन् १९६४ सम्म एक्ली महिला वकिल थिईन् ।

पहिलो जिल्ला न्यायाधीश : शारदा श्रेष्ठ 

नेपालको पहिलो महिला जिल्ला न्यायाधीश हुने अवसर शारदा श्रेष्ठले प्राप्त गरिन् । उनले जिल्ला न्यायाधीशका रूपमा सन् १९६७ मा नियुक्ति पाएकी हुन् । उनले सर्वोच्च अदालतमा पनि न्यायाधीशका रूपमा काम गरेकी थिइन् ।

सर्वोच्चको पहिलो न्यायाधीश : सुशीला सिंह ‘शिलु’

नेपालको सबैभन्दा माथिल्लो अदालत सर्वोच्च अदालतमा न्यायाधीश बनेर पाइला टेक्ने इतिहास भने सुशिला सिंह शिलुले आफ्नो नाममा लेखाइन् । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त हुने पहिलो महिलाको गौरब उनैले प्राप्त गरिन् ।

पहिलो प्रधानन्यायाधीश : सुशीला कार्की

पहिलो महिलाको रूपमा नेपालको प्रधानन्यायाधीश भएर ईतिहास रच्न भने सुशीला कार्की सफल भइन् । कार्कीले आफ्नो कार्यकाल कुशलतापूर्वक सम्पन्न गरेर स्मरणीय न्यायमूर्ति पनि बन्न सफल भइन् । त्यतिमात्र हैन, नारीसमुदायको लागि उनी एक प्रमुख प्रेरक व्यक्तिसमेत बन्न सफल भइन् ।

वर्तमान अवस्था

कानूनी तथा न्यायिक क्षेत्रमा विश्वभरि नै महिलाको उपस्थिति पुरूषको जति छैन । झन् त आर्थिक – सामाजिक रूपले पछि परेको र समावेशी लोकतन्त्रमा भर्खर पाइला चाल्दै गरेको नेपालमा पुरूष र महिला कानून व्यवसायीको संख्यामा ठूलो भिन्नता देखिन्छ ।

पहिलो प्रधानन्यायाधीश बनेर सुशीला कार्कीले महिला वर्गमा आशाको सञ्चार प्रदान गरेता पनि न्यायिक क्षेत्रमा महिलाको उपस्थिति भने उत्साहप्रद छैन । पुरूषप्रधान समाजको प्रतिविम्ब यस क्षेत्रमा पनि प्रष्टसँग देखिन्छ ।

नेपाल बार एसोसिएसनका अनुसार नेपालमा १८ हजार भन्दा बढी वकिल अथवा कानून व्यवसायीहरू छन्, जसमध्ये दुई हजार दुई सय जति मात्र महिला छन् । यो संख्या जम्मा कानून व्यवसायीको १२ प्रतिशतमात्र हुन आउँछ ।

सरकारी न्यायाधिवक्ता, न्यायाधीश लगायतका पदहरूमा पनि पुरूषहरूकै बर्चस्व देखिन्छ । जिल्ला न्यायाधीशको हालै प्रकाशित लिखित परीक्षाको नतिजामा महिला कोटा खाली जानुले कानूनी शिक्षामा महिलाको पहूँच नपुगेको देखिन्छ ।

विशेषगरी नेपालजस्तो परम्परावादी समाजमा महिलाको सामाजिक भूमिकालाई सीमित गरिएका कारण न्यायिक क्षेत्रमा महिलाको उपस्थिति न्यून देखिएको हो ।

संख्यात्मक रूपमा कम भएता पनि गुणात्मक रूपमा भने यश क्षेत्रमा केही महिलाले आफ्नो जबर्जस्त उपस्थिति दर्शाएका छन् । उनीहरू आफ्नै क्षमता र मेहनतका बलमा प्रभावशाली बन्दै योग्यता पनि प्रदर्शन गरेका छन् ।

सामाजिक रूपान्तरणसँगै वर्तमान समयमा सामाजिक गतिविधिमा महिलाको संलग्नता बढ्दो छ । विगतको तुलनामा कानूनी शिक्षामा महिलाको पहूँच बढ्दै गएको छ । फलस्वरूप निकट भविष्यमै नेपालको न्याय क्षेत्रमा महिलाको उल्लेख्य उपस्थिति हुने अपेक्षा गर्न सकिन्छ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार