न्यायालय शुद्धिकरण अभियानको कानुन व्यवसायीलाई आह्वान : अनियमितताविरुद्ध आवाज उठाऊ 

Law Hub Nepal भाद्र ३, २०७७

काठमाडौं । सर्वोच्च अदालतसहित देशभरका न्यायालयमा भइरहेका अनियमितता र भष्ट्रचारविरुद्ध संगठित भएका कानुन व्यवसायीले यस अभियानमा आवाज उठाउन देशभरका कानुन व्यवसायीलाई आह्वान गरेका छन्।

न्यायालय शुद्धिकरण अभियानको मंगलबार भएको भर्चुअल मिटिङले अनियमितता सम्बन्धमा छानबिन गर्न सर्वोच्च अदालतले गठन गरेका समितिका काम कारबाहीलाई दबाब दिन देशभरका कानुन व्यवशायी र बार इकाईलाई अनुरोध गर्ने निर्णय गरेको भीमार्जुन आचार्यले जानकारी दिए।

श्रीमतिको विभत्स हत्याको आरोप लागेका शसस्त्र प्रहरीका तत्कालिन डीआईजी रन्जन कोइरालालाई सफाई दिने प्रधान न्यायाधिश चोलेन्द्र समशेर राणासहितको इजलासको फैसलापछि न्यायलयमा भइरहेका अनियमितता र भष्ट्रचारको विषय बहसमा आएको छ।

चौतर्फी दबाबपछि सर्वोच्चले न्यायाधिश हरिकृष्ण कार्कीको संयोजकत्वमा भष्ट्रचार र अनियमितता छानबिन सम्बन्धमा समिती गठन गरेको छ।

यसैगरि अर्का न्यायाधिश दीपककुमार कार्कीको संयोजकत्वमा मुद्धाको पेशी व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न पनि समिती गठन गरेको छ। त्यसअघि अभियानले बृहत छलफल गरि नेपाल बार एसोसिएसनलाई दस्तावेज बुझाएको थियो।

त्यसलाई अध्ययन गरेर बारले पनि दस्ताबेज बुझाएपछि सर्वोच्चले समितीहरु गठन गरेको थियो।

अभियानको मंगलबार भएको भर्चुअल मिटिङले समितीलाई छिटोभन्दा छिटो प्रतिबेदन बुझाउन र आफ्ना मागको सम्बोधन र कार्यान्वयनका लागि निरन्तर दबाब दिने निर्णय पनि गरेको छ।

अभियानमा शम्भु थापा, हरिहर दाहाल, युवराज संग्रौला, तुलसी भट्ट, कुमार शर्मा, टिकाराम भट्टराई, सुनिल पोखरेल, नारायण घिमिरेलगायत कानुन व्यवसायी छन्।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार