काश्मीरमा चर्चित वकिल तथा अधिकारकर्मीको हत्या

Law Hub Nepal असाेज ९, २०७७

एजेन्सी । मोटरसाइकलमा आएका दुई जनाले अन्धाधुन्ध गोली प्रहार गरी भारत प्रशासित जम्मु कश्मीरका चर्चित वकिल तथा अधिकारकर्मी बाबर कादरीको हत्या गरेका छन्।

जम्मु काश्मिर उच्च अदालतमा वकालत गर्दै आएका उनी टेलिभिजन बहसहरुमा सहभागी हुन्थे र आफ्नो कुरा प्रस्टसँग राख्न सक्थे। श्रीनगरमा रहेको उनको घरमा हिजो राति बन्दुकधारीले उनीमाथि हमला गरेका हुन्।

३९ वर्षका वकिलले आफूविरुद्ध गलत प्रचार भइरहेको सोसल मिडियामार्फत् जानकारीसमेत गराएका थिए। उनलाई ‘एजेन्सीहरु’ सँग काम गरेको आरोप लगाउँदै सोसल मिडियामा प्रचारबाजी भएपछि उनले प्रहरीलाई ध्यानाकर्षण समेत गराएका थिए।

उनको अन्तिम ट्विटमा एउटा फेसबुक स्क्रिनसट पोस्ट गरिएको छ जसमा उनीमाथि लगाइएको लान्छनाबारे लेखिएको छ। जम्मु प्रहरीको मिडिया सेन्टरलाई समेत ट्याग गरेर उनले आफ्नो ज्यान असुरक्षित रहेको समेत उल्लेख गरेका थिए।

केही वर्ष अघि उनका ससुरा गुलाम कादिर वानीलाई पनि आतंकवादीले मारेका थिए।

कादरीलाई पनि सन् २०१८ देखि धम्की मिलिरहेको थियो। पाकिस्तानी वेबसाइटमा उनले दोहोरो खेल खेलेको भन्दै सामग्री प्रकाशन भएसँगै उनीमाथि धम्कीको क्रम बढेको थियो। पत्रकार सुजात बुखरीलाई श्रीनगरमा आतंकवादीले मारेसँगै यस्तो सामग्री सार्वजनिक भएको थियो।

टाउको र शरीरका विभिन्न भागमा गोली लागेका कादरीलाई सेर ए कास्मिर इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा लगिएको थियो। त्यही उनको मृत्यु भयो।

रातिसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected]gmail.com मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार